© 2026
बुटवल । पूर्ण मन्टेश्वरी विधिबाट गुणस्तरीय शिक्षण गराउने उद्देश्यसहित दुई जना विद्यार्थीबाट सुरु भएको बुटवलको मारिया मन्टेश्वरी इन्टरनेशनल स्कुल अहिले उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित भएको छ ।
बालबालिकाको चौतर्फी विकासलाई केन्द्रमा राखेर स्थापना गरिएको यो विद्यालयले सुरुदेखि नै “विद्यालय पनि घरजस्तै हुनुपर्छ” भन्ने अवधारणालाई आत्मसात् गर्दै आएको छ ।
बुटवलको कालिकानगरमा रहेको मारिया मन्टेस्वरी इन्टरनेशनल स्कुल भर्खरै घरको न्यानो परिवेश छाडेर विद्यालय प्रवेश गर्ने बालबालिकालाई घरकै जस्तो आत्मीय वातावरण दिन सफल भएको छ ।
साना बालबालिकाको मनोविज्ञान बुझेर उनीहरूको रुचि, क्षमता र स्वभावअनुसार सिकाइ सहजीकरण गर्ने विद्यालयको पद्धतिले अभिभावकको मन जितेको छ। अहिले विद्यालयमा ३ सय २० जना विद्यार्थी अध्ययनरत छन् भने पूर्वप्राथमिक तहदेखि कक्षा ५ सम्म अध्ययन अध्यापन हुँदै आएको छ ।
विद्यालयका प्रधानाध्यापक मधुप्रकाश अर्यालका अनुसार बालबालिकाको प्रारम्भिक उमेर अत्यन्त संवेदनशील हुने भएकाले उनीहरूलाई कस्तो वातावरण दिइन्छ । त्यहीअनुसार उनीहरूको व्यक्तित्व विकास हुने गर्दछ ।
यही मान्यतालाई आत्मसात् गर्दै विद्यालयले मन्टेस्वरी विधिलाई नारा वा प्रचारमा मात्र सीमित नराखी व्यवहारमै लागू गरेको उनको दाबी छ । उनका अनुसार बुटवलमा पूर्ण रूपमा मन्टेस्वरी पद्धतिअनुसार शिक्षण गराउने विद्यालयका रूपमा मारिया मन्टेस्वरीले छुट्टै पहिचान बनाएको छ ।
विद्यालयले पाठ्यपुस्तकमा मात्र सीमित शिक्षा नभई व्यावहारिक अभ्यास र सहभागितामूलक सिकाइलाई प्राथमिकता दिएको छ। सङ्गीत, चित्रकला, नृत्य, खेलकुद, कथा वाचन, समूह गतिविधि लगायत अतिरिक्त क्रियाकलापमार्फत बालबालिकाको बौद्धिक, सामाजिक र सिर्जनात्मक विकासमा जोड दिइन्छ ।
विशेष गरी आजको एकल परिवारको परिवेशमा हुर्किरहेका बालबालिकामा सहकार्य, बाँडफाँट, सहअस्तित्व र सामाजिक व्यवहार सिकाउन विद्यालयले विशेष ध्यान दिएको छ । मिलेर खेल्ने, सँगै खाने, अरूसँग घुलमिल हुने र आत्मविश्वासका साथ प्रस्तुत हुने सीप विकासमा मारिया मन्टेस्वरीले जोड दिएको छ ।
यसले बालबालिकालाई शैक्षिक रूपमा मात्रै नभएर सामाजिक रूपमा पनि सक्षम बनाउने कार्य गरेको छ । विद्यालयले प्रत्येक बालबालिकाभित्र रहेको फरक क्षमता पहिचान गरी उनीहरूलाई रुचिअनुसार अघि बढाउने अभ्यासलाई प्राथमिकतामा राखेको छ । “हरेक बालबालिका विशेष छन्” भन्ने मान्यतासहित उनीहरूलाई दबाबमुक्त, उत्साहपूर्ण र बालमैत्री वातावरणमा सिकाइ गराइनु विद्यालयको मुख्य विशेषता हो ।
अनुशासन, नैतिक शिक्षा, संस्कार र व्यवहारिक ज्ञानलाई पनि विद्यालयले उत्तिकै महत्त्व दिएको छ । आधुनिक शिक्षासँगै संस्कारयुक्त शिक्षा प्रदान गर्ने लक्ष्यसहित मारिया मन्टेश्वरीले अभिभावकको विश्वास जित्दै आएको छ । अनुभवी शिक्षक, बालमैत्री कक्षा व्यवस्थापन, सुरक्षित वातावरण र मनोवैज्ञानिक रूपमा बालबालिकामैत्री शिक्षण पद्धतिका कारण विद्यालयले आफ्नो छुट्टै पहिचान बनाएको देखिन्छ ।
सुरुआत दुई विद्यार्थीबाट भए पनि आज सयौँ विद्यार्थीको भविष्य निर्माण गरिरहेको मारिया मन्टेस्वरी बुटवलको शैक्षिक क्षेत्रमा उदाहरणीय संस्थाका रूपमा उभिएको छ । बालबालिकाको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर गुणस्तरीय, संस्कारयुक्त र जीवनोपयोगी शिक्षा प्रदान गर्दै आएको यो संस्था साँच्चै नै साना नानीहरूको उज्यालो भविष्य कोर्ने शैक्षिक थलो बनेको छ ।
