Butwal Today

शुभ श्री अटिजम केयर सेन्टर: फरक क्षमताको उज्यालो संसार

२७ बैशाख २०८३, आइतबार
अ+
अ-

बुटवल । बुटवल उपमहानगरपालिका–७, दिपनगरमा रहेको शुभ श्री अटिजम केयर सेन्टर एक यस्तो स्थान हो, जहाँ फरक क्षमता भएका बालबालिकाहरूले आफ्नो संसारलाई सहज, सुरक्षित र आत्मविश्वासका साथ अनुभव गरिरहेका छन् । गत वर्ष स्थापना भएको यो सेन्टर अहिले धेरै अभिभावकका लागि आशा र विश्वासको केन्द्र बन्दै गएको छ ।

यहाँ बालबालिकाहरूको दैनिकी सामान्य विद्यालयभन्दा फरक छ । उनीहरू आफ्नो रुचिअनुसार खेल्छन्, सिक्छन्, रमाउँछन् र क्रमशः जीवनका आधारभूत सीपहरू विकास गर्दै जान्छन् । कोही चित्र कोर्छन्, कोही खेलकुदमा रमाउँछन् भने कोही बोल्ने र व्यवहारिक सीपहरूमा सुधार गर्दै अघि बढिरहेका छन् ।

सेन्टरकी सचिव विन्दु अर्यालका अनुसार यहाँ आउने प्रत्येक बालबालिकाको अवस्था र क्षमता फरक हुन्छ । “हामी सबैलाई एउटै तरिकाले होइन, उनीहरूको क्षमता बुझेर, रुचि पहिचान गरेर सिकाउँछौँ,” उनले भनिन् । उनका अनुसार अटिजमलाई रोग होइन, मस्तिष्क विकासको फरक अवस्था (न्युरो डेभलपमेन्टल डिसअर्डर) को रूपमा बुझ्न आवश्यक छ ।

अटिजम स्पेक्ट्रम डिसअर्डरमा प्रत्येक बालबालिकामा फरक लक्षण र व्यवहार देखिन्छ। यसलाई सामान्यतया माइल्ड, मोडरेट र सिभियर गरी तीन चरणमा वर्गीकृत गरिन्छ । माइल्ड चरणका बालबालिकाले धेरै कुरा सिक्न र गर्न सक्छन् भने सिभियर अवस्थामा उनीहरूलाई आधारभूत दैनिक क्रियाकलापमा समेत सहयोग आवश्यक पर्छ ।

अर्यालका अनुसार अटिजम भएका बालबालिकालाई समयमै पहिचान गरेर उचित शिक्षा र थेरापी दिइयो भने उनीहरू पनि आत्मनिर्भर बन्न सक्छन् । “समस्या लुकाउने होइन, बुझ्ने र स्वीकार गर्ने हो,” उनी भन्छिन् ।

हाल सेन्टरमा २५ जना बालबालिकाहरू अध्ययनरत छन् भने १० जना प्रशिक्षित शिक्षकहरूले उनीहरूलाई सिकाउने, खेलाउने र व्यवहारिक सीप विकासमा सहयोग गरिरहेका छन् । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने सेन्टरमा रुपन्देहीका विभिन्न क्षेत्रबाट बालबालिका आउने गरेका छन् ।

सेन्टरले शैक्षिक गतिविधिसँगै स्वास्थ्य परीक्षण र थेरापी सेवामा पनि ध्यान दिएको छ । समय–समयमा चिकित्सकमार्फत स्वास्थ्य जाँच गरिन्छ र आवश्यक अनुसार थेरापी प्रदान गरिन्छ । साथै, बालबालिकालाई पोषणयुक्त खाना, शैक्षिक सामग्री र खेल सामग्री उपलब्ध गराइन्छ ।

अभिभावक र बालबालिकाको सहजताका लागि यातायात सेवाको समेत व्यवस्था गरिएको छ । विद्यालयले आफ्नै सवारी साधनमार्फत बालबालिकालाई ल्याउने र पु¥याउने गरेको छ ।

सेन्टरकी सचिव अर्यालले अटिजम भएका बालबालिकाका लागि अझ ठुला संरचना, खेल मैदान र सरकारी सहयोग आवश्यक रहेको बताइन् । “सरकारी खाली भवनहरूलाई यस्ता केन्द्रका लागि उपयोग गर्न सकिन्छ,” उनको सुझाव छ ।

उनका अनुसार प्रारम्भिक उमेरमै सही शिक्षा र थेरापी पाएमा अटिजम भएका बालबालिका पनि सामान्य विद्यालयमा सफल रूपमा समावेश हुन सक्छन् । “१० वर्षको उमेरसम्म सिकाइको चरण अत्यन्त महत्त्वपूर्ण हुन्छ,” उनले जोड दिइन् ।

समाजमा अझै पनि अटिजमलाई गलत बुझ्ने प्रवृत्ति रहेको भन्दै उनले चेतना फैलाउन आवश्यक रहेको बताइन् । “यो आमाको लापरबाही होइन, न त कुनै दोष । यो फरक अवस्था हो, जसलाई स्वीकार र सहयोग आवश्यक छ,” अर्यालको भनाइ छ ।

शुभ श्री अटिजम केयर सेन्टर आज केवल एउटा विद्यालय होइन, फरक क्षमता भएका बालबालिकाको आत्मविश्वास निर्माण गर्ने, उनीहरूको क्षमता उजागर गर्ने र समाजमा समान अवसरको सन्देश फैलाउने प्रेरणादायी केन्द्र बनेको छ ।

अन्ततः शुभ श्री अटिजम केयर सेन्टरले फरक क्षमताका बालबालिकालाई केवल हेरचाह र शिक्षा मात्र होइन, सम्मान र आत्मविश्वाससहितको जीवनतर्फ डो¥याउने महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यस्ता प्रयासहरूले समाजलाई अझ समावेशी र संवेदनशील बनाउने दिशामा मार्ग प्रशस्त गर्छन् ।

यदि राज्य, स्थानीय तह र समुदायले यस्ता संस्थालाई साथ र सहयोग गर्न सके, भने यी बालबालिकाहरूको भविष्य अझ उज्यालो बन्ने मात्र होइन, समाजले पनि उनीहरूको क्षमता र योगदानबाट लाभ लिन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?