© 2026
महाकाली पूर्वको लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत–चीनको सहमतिप्रति नेपाल सरकारले मात्रै होइन, विभिन्न राजनैतिक दलहरूले समेत तीव्र असन्तुष्टि जनाएका छन् ।
नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भारत–चीनको कैशाश मानसरोबार यात्रामा नेपालको भूमि प्रयोग भएको प्रति विरोध जनाएको छ ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको विषयमा कुनै शङ्का छैन । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले २०७२ सालमा पहिलो पटक कूटनीतिक नोट पठाएर भारत सरकारको यो विषयमा ध्यानाकर्षण गराएको थियो ।
सीमासम्बन्धी विवाद कूटनीतिक संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा एकतर्फी रूपमा बाटो खोल्नु भारतको विगतदेखिकै हेपाहा प्रवृत्ति हो । यो अहिलेको विषय मात्रै होइन, यसका पछि भारतको विस्तार बादी गन्ध देखिन्छ ।
सरकारले समेत कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको अडानलाई दोहो¥याएको छ । अव सीमा समस्याको समाधान वार्ताबाट गर्न सरकार प्रतिबद्ध रहेको छ ।
नेपालले वर्षौँदेखि उठाउँदै आएको यो विषयमा भारतले नजरअन्दाज गर्दै आएको छ । भारतले नेपालको दाबीलाई ऐतिहासिक र तथ्य एवं प्रमाणमा आधारित नभएको भन्दै त्यसलाई अस्वीकार गरेको छ ।
दुई वर्षअघि पनि नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने निर्णय गरेसँगै भारतले असन्तुष्टि व्यक्त गर्दै तीव्र र हतारमा प्रतिक्रिया दिएको थियो । यसबाट के देखिन्छ भने भारत लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा नेपालमाथि गिद्धे नजर राखीरहेको छ ।
भारतको हतारमा आएको प्रतिकृयाले नेपालप्रति उसको रवैया कस्तो छ भन्ने कुरा स्पष्ट गरेको छ । भारत नेपालमा सधै अस्थीरता चाहन्छ भन्ने कुरा उसका हरेक गतिविधिले स्पष्ट गर्दै आएका छन् ।
नेपालको चुच्चे नक्सा एकसयको नोटमा राख्ने निर्णय भारतका लागि प्रिय नलाग्नु भारतको विस्तार बादी नीतिको संकेत थियो र अहिले पनि छ । उसले नेपालमा कहिलेपनि राजनीतिक स्थीरता चाहेको थिएन र अहिलेपनि छैन ।
नेपालका सिमा सम्वन्धि हरेक कृयाकलापमा भारतको स्नेह होइन, बैरभाव देखिन्छ । भारतले त्यस बिषयमा आफ्नो प्रतिक्रिया जनाएर नेपालको कालापानी क्षेत्रमा गर्दै आएको अतिक्रमणलाई बैधानिक बनाउन चाहन्छ ।
भारतको यस्तै रवैयाले आज उ दक्षिण एसियाबाट एक्लिने अवस्थामा पुगेको छ । ठूलाठूला इतिहास बोकेका देशहरू आज खराब कूटनीतिका कारण समाप्त भएका छन् । ऐतिहासिक विरासत बोकेका शक्तिशाली शासकहरूका शासनप्रणाली गलत कूटनीतिका कारण ध्वस्त भएका छन् ।
त्यसैले हरेक देशले इतिहासका यी तथ्यहरूबाट शिक्षा लिँदै कूटनीतिक रूपमा परिपक्व र जिम्मेवारीपूर्ण व्यवहार प्रस्तुत गर्न सक्नुपर्दछ । आजको विश्वमा दम्भ र घमण्डले होइन, असल कूटनीतिक सम्बन्ध कायम गरेर नै राष्ट्रको समग्र विकास र प्रगति गर्न सकिन्छ । विश्वका दुई शक्तिशाली राष्ट्रको बीचमा रहेको नेपालमा कूटनीतिको महत्व झनै गंभीर छ । त्यसमाथि भारतले दर्शाउने अदूरदर्शी कुटनीतिले उसैलाई घाटा भैरहेको छ ।
पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति र दुई छिमेकीसँग समदूरीको सम्बन्ध हाम्रो कूटनीतिका मूल आधारस्तम्भ हुन् । पछिल्लोसमय कूटनीतिक दृष्टिले नेपालको अवस्था यतिवेला फरक ढंगको संकटपूर्ण स्थितिमा पुगेको छ । तर, भारत सधै नेपालप्रति बैरभाव राख्न चाहन्छ ।
धेरै बर्षदेखि नेपालको पश्चिम कालापानी क्षेत्रमा भारतले नेपाली भूमिप्रति विवाद सिर्जना गर्दै आएको छ । नेपालसंग स्पष्ट प्रमाण छ तर भारतले सधै साम्राज्यको दादागिरी देखाउँदै आएको छ । यस विषयमा नेपाल सरकारका तर्फबाट बारम्बार वार्ता र संवादका लागि पत्राचार गरिएपनि भारतबाट विदेश मन्त्रालयका प्रवक्ताको वक्तव्यबाहेक अन्य पहलकदमी भएको छैन् ।
हरेक देशको राष्ट्रिय स्वाधीनता र स्वाभिमान सबैभन्दा उच्च हुन्छ । झन्डै साठी वर्षदेखि अतिक्रमणमा परेको भूभाग फिर्ता ल्याउन अव नेपालले ढिलाई गर्नु हुँदैन ।