Butwal Today

सिद्धार्थ गौतमबुद्धः न्यून शुल्कमा उत्कृष्ट शिक्षा दिने क्याम्पस

१८ बैशाख २०८३, शुक्रबार
अ+
अ-

बुटवल । बुटवल तथा आसपासका क्षेत्रका युवायुवतीहरूमा शिक्षा प्राप्त गर्ने चाहना र अवसरको आवश्यकता मध्यनजर गर्दै वि.सं. २०४८ सालमा स्थापना भएको सिद्धार्थ गौतमबुद्ध क्याम्पस आज एक प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा विकसित हुँदै गएको छ ।

स्थापना कालमा यो क्याम्पसले विशेषतः दिनभरि रोजगारी वा मजदुरी गर्ने विद्यार्थीहरूलाई लक्षित गरी रात्रिकालीन कक्षाका रूपमा आफ्नो यात्रा सुरु गरेको थियो । त्यति बेला आर्थिक अभावका कारण नियमित रूपमा अध्ययन गर्न नसकेका धेरै युवाहरूका लागि यो क्याम्पस आशाको किरण बनेको थियो ।

रातिको समयमा अध्ययन गर्ने अवसर पाएपछि धेरै विद्यार्थीहरूले आफ्नो अधुरो शैक्षिक यात्रालाई पुनः सुरु गरे र सफलतापूर्वक अगाडि बढ्न सके । प्रारम्भिक चरणमा कान्ति माध्यमिक विद्यालयको भवनमा पानी र बिजुलीको शुल्क तिर्ने सर्तमा रात्रिकालीन कक्षा सञ्चालन गरिएको थियो ।

स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न सङ्घ–संस्थाहरूको सक्रिय पहलमा क्याम्पसको स्थापना सम्भव भएको हो, जसले समुदायमा शिक्षा विस्तारमा महत्त्वपूर्ण योगदान पु¥यायो ।

क्याम्पसका प्रशासकीय अधिकृत रामनाथ मालीका अनुसार, सुरुका दिनहरूमा विद्यार्थीहरूको उल्लेखनीय उत्साह र सहभागिता रहेको थियो । तर वि.सं. २०५२ पछि रातिको समयमा अध्ययन गरेर घर फर्किने विद्यार्थी तथा शिक्षकहरूले असुरक्षित महसुस गर्न थाले । यसका कारण रात्रिकालीन कक्षामा विद्यार्थीहरूको सङ्ख्या क्रमशः घट्दै गयो ।

परिस्थितिलाई मध्यनजर गर्दै क्याम्पस प्रशासनले विकल्पको रूपमा बिहानी कक्षा सञ्चालन गर्ने निर्णय ग¥यो ।
बिहानी कक्षा सञ्चालन भए पनि कान्ति माध्यमिक विद्यालयसँग समय तालमेल मिलाउन कठिनाइ उत्पन्न भयो । त्यसपछि क्याम्पसले सरकारसँग आफ्नै भवनको माग गर्दै पहल ग¥यो ।

हाल रहेको स्थानमा क्याम्पस स्थापना हुनु अघि उक्त जग्गा नेपाल सरकारको स्वामित्वमा थियो र त्यहाँ लुम्बिनी अञ्चल अस्पतालका केही परिवार बसोबास गर्दै आएका थिए । उनीहरूको व्यवस्थापनपछि मात्र क्याम्पसले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट भोगाधिकारको रूपमा जग्गा प्राप्त गरी उक्त स्थानमा आफ्नो स्थायी संरचना निर्माण गरी नियमित रूपमा कक्षा सञ्चालन गर्न थालेको हो ।

समय क्रमसँगै क्याम्पसले आफ्नो संस्थागत विकासलाई सुदृढ बनाउँदै शैक्षिक, प्रशासनिक, भौतिक तथा आर्थिक पक्षमा उल्लेखनीय प्रगति गरेको छ । विभिन्न नियामक निकाय तथा सङ्घ–संस्थाहरूसँग समन्वय गर्दै सुशासन कायम गर्न क्याम्पस निरन्तर प्रयासरत छ ।

बुटवल उपमहानगरपालिका कार्यालय नजिकै अवस्थित यस सामुदायिक क्याम्पसको व्यवस्थापन समितिमा जिल्ला समन्वय समिति रुपन्देही, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य सङ्घ, पश्चिम नेपाल बस व्यवसायी प्रालि तथा बुटवल बहुमुखी क्याम्पस लगायतका संस्थाहरूको सहभागिता रहेको छ ।

करिब १० कट्टा क्षेत्रफलमा फैलिएको क्याम्पस परिसरमा पाँच वटा भवनहरू निर्माण गरिएका छन् । यहाँ व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायअन्तर्गत कक्षा १०+२ देखि स्नातकोत्तर तहसम्म अध्ययनको व्यवस्था छ ।

हाल करिब २,५०० विद्यार्थीहरू अध्ययनरत छन् भने ४० जना प्राध्यापक र १६ जना कर्मचारीहरू क्याम्पसमा कार्यरत छन् ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूबाट मात्र नभई स्याङ्जा, बागलुङ, प्युठान, दाङ, पर्वत, रोल्पा, रुकुम तथा सल्यान लगायतका जिल्लाबाट समेत विद्यार्थीहरू यहाँ अध्ययनका लागि आउने गरेका छन् । यसले क्याम्पसको लोकप्रियता र विश्वसनीयता झल्काउँछ ।

सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै क्याम्पसले गरिब, जेहेन्दार, उत्पीडित तथा अल्पसङ्ख्यक समुदायका विद्यार्थीहरूलाई निःशुल्क वृत्ति तथा छात्रवृत्तिको व्यवस्था गरेको छ ।

न्यून शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उदाहरण क्याम्पसले प्रस्तुत गरेको छ । यसको प्रमाण स्वरूप वि.सं. २०७९ सालमा एमबीएस दोस्रो सेमेस्टरको परीक्षाफलमा क्याम्पसले नेपालमै प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरी पुनः प्राप्तिको प्रक्रियामा सक्रिय रहेको यस क्याम्पसले शिक्षण गुणस्तरलाई निरन्तर सुधार गर्दै लगेको छ । अनुभवी, समर्पित तथा दक्ष शिक्षकहरूको टोलीले विद्यार्थीहरूलाई व्यवहारिक तथा अनुसन्धानमूलक शिक्षा प्रदान गर्दै आएको छ ।

क्याम्पसमा सुविधा सम्पन्न भवन, आधुनिक पुस्तकालय, कम्प्युटर ल्याब, इन्टरनेट सुविधा तथा कम्प्युटराइज्ड प्रशासनिक सेवा उपलब्ध छन् । मल्टिमिडिया प्रोजेक्टरसहितका कक्षाकोठा, स्वच्छ पिउने पानी, सफा क्यान्टिन, पर्याप्त शौचालय तथा हेल्थ डेस्क जस्ता आधारभूत सुविधाहरूले अध्ययन वातावरणलाई अझ प्रभावकारी बनाएको छ ।

क्याम्पस प्रमुख गोपालप्रसाद चापागाईका अनुसार उत्कृष्ट तथा सीमान्तकृत विद्यार्थीहरूका लागि भर्ना छुट, छात्रवृत्ति तथा निःशुल्कवृत्तिको व्यवस्था गरिएको छ । नियमित कक्षा सञ्चालन, आन्तरिक परीक्षा, सुधारात्मक कक्षा तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको समग्र विकासमा ध्यान दिइएको छ ।

तालिम, कार्यशाला, गोष्ठी तथा सेमिनारहरू मार्फत अनुसन्धानमूलक क्रियाकलापलाई प्रोत्साहन गरिन्छ, जसका कारण विद्यार्थीहरूको आन्तरिक क्षमता प्रस्फुटन हुने गरेको छ ।

क्याम्पसले दीर्घकालीन रूपमा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित हुने लक्ष्य लिएको छ । समावेशी शिक्षा, अनुसन्धानात्मक सोच, विश्लेषणात्मक क्षमता तथा गुणस्तरीय शिक्षण प्रणालीमार्फत समुदाय र राष्ट्रको विकासमा योगदान पु¥याउने उद्देश्य राखिएको छ ।

न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै सीमान्तकृत तथा विपन्न वर्गका विद्यार्थीहरूको जीवनस्तर उकास्ने लक्ष्यसहित क्याम्पस अघि बढिरहेको छ ।

हाल क्याम्पसमा बीबीएस, बीएड, एमबीएस र एमएड कार्यक्रमहरू सञ्चालनमा छन् । यहाँ अध्ययन गर्ने विद्यार्थीहरूले केवल शैक्षिक ज्ञान मात्र होइन, आफ्नो भविष्यको स्पष्ट मार्गचित्र पनि तयार गरिरहेका छन् ।

धेरै विद्यार्थीहरू यहाँबाट अध्ययन पूरा गरी विभिन्न महत्त्वपूर्ण क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुगेका छन्, जसले क्याम्पसप्रति गर्वको अनुभूति दिलाउँछ ।

क्याम्पस प्रमुख आचार्यका अनुसार क्याम्पसले आगामी दिनमा विद्यार्थीहरूलाई प्राविधिक ज्ञान प्रदान गर्ने गरी बीबीए र बिआइटिएम कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । त्यसै गरी समय र विद्यार्थीको माग अनुसार प्राविधिक कार्यक्रम सञ्चालन गरी न्यून शुल्कमा उत्कृष्ट शिक्षा प्रदान गर्ने पनि क्याम्पसको भावी योजना छ ।

बुटवल उपमहानगरपालिकासँगै जोडिएको यो क्याम्पस आफैँमा गौरवपूर्ण इतिहास बोकेको संस्था हो । हिजो दिनभरि मजदुरी गरेर पढ्न चाहनेहरूका लागि स्थापना भएको यो क्याम्पस आज देशभरिका विद्यार्थीहरूको रोजाइ बन्न सफल भएको छ ।

भविष्यमा अझ सशक्त, प्रविधिमैत्री र गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल होस् भन्ने शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?