© 2026
बुटवल । तीन वर्षअघि पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ बेलदरमारका किसानले खेतमा तीन बाली लगाउँथे– धान, मकै, तोरी । खाद्यान्न उत्पादन गर्दै आएका किसानले केही वर्ष अघि सम्म मकैले दिएको आम्दानी ‘मिठो’ थियो ।
तर किसानको यो मिठो अनुभव लामो समय टिकेन । बुटवल लगायत तानसेनबाट माग हुँदै आएको हरियो मकैका घोगाको स्थान चितवन र बुटवलको मोतिपुरका मकैले ओगटेपछि किसानले बाटो मोडे ।
तिनाउ गाउँपालिका वडा नम्बर ३ बेलदमारका १० घर किसानले अब पुरानो बाली चक्र भन्दा पनि व्यावसायिक रूपमा आम्दानी के बाट गर्न सकिन्छ भन्नेतर्फ लागे ।
सोही समयमा गाउँपालिकाको कृषि शाखाबाट तरकारी खेती तालिम समेत आयोजना भयो । पालिकाका कृषि शाखाका प्राविधिक विरेन्द्र शाहका अनुसार पहिले धान, मकै तोरी खेती गर्दै आएका किसानलाई तरकारी खेतीमा तालिमबाट उत्प्रेरणा प्रदान गरिएको थियो ।
जसबाट किसानले पहिलो वर्ष केही खेतका गह्रामा मात्रै तरकारी खेतीमा काक्रा, करेला, फर्सीको मुन्टा रोपेका थिए । जसबाट प्रतिफल राम्रो भएपछि अहिले सिङ्गो गाउँका किसान नै तरकारी खेतीमा होमीएका छन् ।
बेलदमारका अगुवा किसान टिकाराम बरालका अनुसार तालिमबाट हौसिएर तरकारी खेतीमा लागेका किसानले राम्रो आम्दानी समेत गर्दै आएका छन् । उनी भन्छन्–‘मकै, धान र तोरीबाट वर्षमा ५०/६० हजारको आम्दानी गर्ने किसानहरू अहिले लाख भन्दा घटी कसैको पनि छैन ।
किसान बरालका अनुसार गाउँमा करिब ४० रोपनी भन्दा बढी क्षेत्रफलमा अहिले किसानले तरकारी खेती गरिरहेका छन् । खेतमा अहिले लटरम्म भक्तपुरे लोकल जातको काँक्रा फलेका छन् भने टमाटर, करेला, मुन्टा खाने फर्सी समेत उत्पादन भइरहेको छन् ।
एक सिजनमा एक जना किसानले कम्तीमा पनि १ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएको अगुवा किसान बरालको भनाइ रहेको छ । तरकारी खेती तर्फको व्यावसायिक यात्रा सबै किसानको शून्यबाट नै सुरुवात भएको हो, गाउँपालिकाका कृषि प्राविधिक विरेन्द्र शाहका अनुसार किसानलाई व्यवसायीक उत्पादनको लागि तालिम, उत्प्रेरणा समेत प्रदान गर्दै आएको छ ।
पालिकाले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ हाटबजारमा बुटवल उपमहानगरपालिका सँगको सहकार्यमा स्थापना गरेको तिनाउ कृषि सटरमा किसान उत्पादन बजारीकरणको लागि समेत सहजीकरण गर्दै आएको छ ।
किसानलाई उत्पादन भएको तरकारी बिक्रीका लागि कुनै पनि बजारको समस्या छैन, जोरधारा क्षेत्रबाट नियमित रूपमा व्यापारी खेतमा नै तरकारी लिन आउँछन् भने अन्य तरकारी बुटवलको बजारमा नियमित रूपमा नै आउने गर्दछ ।
लाफा कृषक समूह समेत गठन गरेर उनीहरूले सहकारी मार्फत उत्पादन भएको तरकारी बजारीकरणको लागि साधनमा समेत सहयोग लिँदै आएका छन् । यसरी सिङ्गो बेलदमारका किसान व्यावसायिक रूपमा तरकारी खेतीमा लाग्नुको रोचक प्रसङ्ग छ । अगुवा किसान टिकाराम बरालका अनुसार पहिला त्यहाँ किसानले धान खेती, तोरी खेती र मकै खेती गर्दै आएका छन् ।
धान र तोरी आफ्नो उपभोगको लागि प्रयोग गरे पनि मकै हरियोमा घोगा बिक्री गर्दै आएका थिए । तर दुई वर्ष पहिलेदेखि बुटवलको मोतिपुर लगायतका स्थान, नवलपरासी र चितवनमा समेत मकैको खेती व्यावसायिक रूपमा अगाडि बढेपछि पाल्पाका किसानको मकै बिक्न छाड्यो ।
प्रतिघोंगा ५ र ६ रुपैयाँ (हरियो) बिक्री हुन छाडेपछि उत्पादन लागत नै बढी तर लागतको समेत प्रतिफल प्राप्त नभएपछि किसानले तरकारी खेतीमा ध्यान मोडेका थिए । उनी भन्छन्, “६–७ रुपैयाँमा समेत मकैको घोगा बिकेन, अनि त्यो छाडेर यता आइयो । अहिले किसानले उत्पादन गरेको तरकारीको बिक्रीका लागि कुनै पनि समस्या छैन, किसानको खेतबाट नै तरकारी बिक्री हुँदै आएको छ ।”
काक्रा, फर्सी (मुन्टा), भान्टा, टमाटरसंगै गत सिजनमा परीक्षणको रूपमा लगाएको तरबुजा खेतीले राम्रो प्रतिफल आएपछि यो पटक किसानले व्यावसायिक रूपमा खर्बुजा खेती समेत गरेका छन् । किसानको अपेक्षा छ, यो सिजनमा सिङ्गो समूहबाट २० लाख सम्मको आम्दानी हुनेछ ।
तिनाउ गाउँपालिकाकाले आर्थिक वर्ष २०७८/७९ मा आईपीएम कृषक पाठशाला समेत सञ्चालन गरेको गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य टङ्कनाथ बस्यालका अनुसार किसानलाई पहिला तालिम दिएर तरकारीको रोग, किरा सहित उपचारका विधिबारे सबै प्रशिक्षण गरेपछि व्यावसायिक उत्पादनमा जोड दिएको हो ।
यो वर्ष पलिकाले ५० प्रतिशत अनुदान समेत तरकारी खेतीमा दिएको छ । तिनाउ गाउँपालिका को ५० प्रतिशत अनुदानमा बिउ, तराजु, स्प्रे ट्याङ्की, उपलब्ध गराइएको छ ।
रोग किरा व्यवस्थापनको काम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ पाल्पाबाट हुँदै आएको छ । एकाइ पाल्पाबाट मोहनी पासो १५० थान र निमजन्य विषादी १०० मिलिलिटरको ५० थान उपलब्ध गराएको छ ।