© 2026
‘पार्टी मिल्ने/नमिल्ने भन्ने जनताको चासो होइन ! जनतासँग माफी माग्ने र नयाँ पुस्तालाई नेतृत्व सुम्पनु नै सुधारको सही बाटो हुन सक्छ । सत्तामा गुमेको विश्वास, पीढीमा बसेर गरिने गफले फर्किँदैन । जनताको स्वाद नबुझी खोलिएका ‘दुकान’ जति सिँगार गरे पनि चल्दैनन् । जिब्रोको चाकडी त रोग नै हो नि !’
– चन्द्र भण्डारी
‘होसियार ! ओली–प्रचण्डले शीर्ष पद त्याग्न नसकेर कथित वाम एकताको जाल फाल्दै छन्’
– ऋषि आजाद
‘लायक’ छु कि भन्ने लागुन्जेल एक अर्कोलाई धारे हातले सत्तोसराप गर्ने, जनताले बाजा बजाएर नालायक भन्न लागेपछि ‘एकता’ का राग अलाप्ने: यो एकता किन ? कसका लागि ? के गर्ने ? भन्ने चित्तबुझ्दो जवाफ कसैसँग छ ?’
– कमल चुँदाली
एकताको रागचाहिँ अलाप्ने, तर आफ्नै अहङ्कार फलाक्नेहरूले बुझुन्, उल्लेखित टिप्पणीको मर्म । जनजिब्रोमा बोलिने अचेलका बोलीका प्रतिनिधिमूलक विचार मानेर सामाजिक सञ्जालबाट टिपेर पस्केको हो यहाँ । अपरिचित हैनन्, छैनन् ।
राजनीतिक पुस्तान्तरण र हस्तान्तरणको बन्ध्याकरणले दल र नेतृत्व बहिष्करणमा परेको नबुझेर अझै पनि जाल–झेल गर्छन् भने जति बँचेको छ यति पनि बाँकी नरहने भो । के गर्ने हो ? जनताले बाजा बजाएर लखेटेका सम्बन्धित दलका पिण्ड खाने अवस्थामा पुगको नेता र उनीहरूका कृतदासले बुझ्ने हो ।
अरूले बुझेर भएन, काम लागेन र लाग्ने पनि छैन । छल, कपट र ढाँटका विरुद्ध समयमै बोल्ने र सोही अनुसार चल्न आँट गर्नेले मौका पाउनु स्वभाविकै हो । नेपाली काँग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माको पक्षले विधिसम्मत तरिकाले विशेष महाधिवेशन गरेर अघि बढेकोले निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि उचित ठह-यायो ।
गलत भन्नेहरू अहिले रकमी शैलीको जाल बुनेर षडयन्त्रपूर्ण तरिकाले अनेक चाल चल्न खोज्दैछन् । अर्थात् फेरि बार्गेनिङ्ग गर्दै छन् । कति सफल वा असफल होलान् ? समयले बताउला । तर समयमा एकता नगरे आफै बेपत्ता हुनेछन्, जो टाढिएर टेढिदैछन् । देउवाका पालामा मनपरी गरेकाहरूले अहिले पनि उही रवाफ देखाएर कवाफ खान खोज्नु कति सम्भव होला र समयले साथ देला कि नदेला ? प्रतीक्षित छ ।
कम्युनिष्ट एमालेको ओली खेमा र नेकपाको प्रचण्ड समूह पनि एकताका लागि हतारिएको देखिँदै छ । तर कार्यकर्तामा देखिँदैन त्यस्तो उत्साह । हिजो जुन गल्ती गरियो, त्यही दोहो¥याउनु हुँदैन भन्दै छन् समयले सिकाएको सवक सिकेर अलि सचेत बनेकाहरू । मालिक भक्तिमा अचेत रहेकाहरू त जहाँ राम त्यही हनुमान भनेर लागि पर्ने नै भए ।
एमाले र नेकपाका बिचमा एकता आवश्यक होला पनि । तर, हिजोको जस्तो विधि र प्रक्रिया नपु¥याएर, हतारमा अरूलाई देखाएर, नालायक नेतृत्वलाई बचाउनकै लागि गर्ने एकताले अर्को दुर्घटना ननिम्त्याउला भन्न सकिन्न ।
डबल इन्जिनको जेट विमानका दुई पाइलटको पाखुरा सुर्कासुर्की र पौंठेजोरी खेलाईको पेलाइमा परेकाहरू अलि बढी सतर्क भएको देखिँदै छ अहिले । पहिले आफ्नै पार्टीलाई चुस्त, दुरुस्त र व्यवस्थित गरेर अनि बल्ल सहयात्राको आधार तयार पारेर जानु उचित हो पनि । यसर्थ एमालेले आफ्नो पार्टीलाई पहिले व्यवस्थित गरोस्, पारोस् ।
प्रचण्ड–नेपाल समूहले पनि आन्तरिक मतभेदलाई मिलाउन नसकेर विषयान्तर गरेर पन्छाउन एकताको नारा अघि नसारोस् । नक्कली नाटकका फाटक बन्द गरे हुन्छ अब सबैले । एमालेका विष्णु पौडेल समूहले पार्टी पुनर्गठन र रूपान्तरणको विषय अघि सारेको छ । जायज होला यो ।
तर त्यसै पार्टीको अर्को समूहले ओलीका थाप्लामा मात्रै सबै दोष थोपरेर विष्णु, बादल, शंकर, प्रदीप, महेश, सूर्य, विष्णु रिमाल र रिजालहरू चोखिन पाउँदैनन्, उम्कन सक्दैनन् भन्दै छन् । यो तर्कलाई पनि नाजायज भन्न सकिन्न । बारम्बार ओलीलाई गलत काम गर्न उचाल्नेहरूको पुरै टिम फेरिनु पर्छ भन्नेहरूलाई समयले साथ दिन पनि सक्छ ।
नवयुवाहरूले थालेको हस्ताक्षर अभियान त्यसैका लागि हो भनिन्छ । युवाहरूको हस्ताक्षर अभियानलाई बिचैमा तुहाउन नियोजित रूपमा ओलीद्वारा पठाइएका पात्र हुन भन्छन् विष्णु पौडेललाई । कति साँचो होला यो ? अनेकताका बिचमा एकता सबैलाई चाहिएको छ ।
काँग्रेस, एमाले र प्रचण्ड–माधव समूह सहित बिउ समेत मासिन पुगेका मधेशवादी दलहरूलाई पनि । तर सवैका अहङ्कारका आकार र प्रकार यति ठूला छन् कि सहजै सम्हाल्ने सर्वमान्य सूत्र भेटाउनै सकिन्न । एकता त नगरी भएको छैन, तर सबैलाई मिलाएर गर्न सकिने छाँट र आँट पनि कसैमा देखिँदैन ।
हरेक पार्टी–पार्टी नभएर संयुक्त मोर्चा जस्ता बन्नाले । आफैमा दम्भ र घमण्डले भरिएका सरदारहरू मात्र हुनाले । सेनाबिनाका जर्नेलहरूलाई सहजीकरण गरेर सम्हाल्ने अलि दरिलो संयन्त्र नबन्नाले ।
सर्वोच्च अदालतले आदेश दिइसकेपछि पनि पूर्णबहादुर खडका पक्षले भनेछ – पूर्ण इजलासमा जान सकिन्छ, त्यो बाटो बन्द भएको छैन, अझै बाँकी छ ।’ गए हुन्छ, अधिकार पनि छ । तर त्यसको टुङ्गो लाग्ने बेलासम्म समय धेरै अघि बढिसकेको हुनेछ । कोइराला पक्षले साथ दिने सम्भावना देखिन्न त्यतिन्जेल ।
उसले मागेको भाग पाए संस्थापन पक्षसँग सङ्गत गर्न थाल्ने छ । देउवा र खडका पक्षमा रहेकाहरू जनताबाट तिरस्कृत मात्रै हैनन्, छैनन्, कार्यकर्ताबाट पनि बहिस्कृत हुने छन् निहुँका बिउ झिकेर बाहिरै रहे । जे गर्लान्, उनीहरूले नै भोग्लान् । तर जनताले उनीहरूलाई पर्खेर नबस्लान् । कम्युनिष्ट दलहरूप्रति नेपालमा जुन तहको जन–विश्वास थियो, त्यो सबैलाई ओली र प्रचण्डका उद्दण्डताले सिध्याए ।
अब फेरि नयाँ तरिकाले उम्रने, हुर्कने, फुल्ने, फल्ने र फैलिने आस नगरे हुन्छ । आफै सर्वनाश नित्याएकाले, अरूलाई दोष दिने ठाउँ पनि छैन । एकता गरुन् कि अलग रहुन्, कुनै चासो छैन जनतालाई । धेरै पटक धोका दिएका हुनाले जनताले पनि ढोका बन्द गर्न बाध्य भएका हुन् ।
देश दोहन गरेर आजसम्म पार्टीका नाममा पालेका परपीडक परजीवी पल्टनको बिजोग हुने छ जताततै । आश्रय पाउने सम्भावना देखिँदैन कहीँ कतै । बम्, बारुद र बन्दुकले नमासिएका कम्युनिष्टहरू सत्ता र भत्ताले बिग्रेर आफै मासिए, सिद्धिए, सकिए । अब कसैले आस गर्ने हैनन्, छैनन् ।
राजतन्त्र र हिन्दु राष्ट्रका नाममा राजनीति गरेको राप्रपाको पनि भविष्य सुरक्षित देखिँदैन । किनकि त्यहाँ पनि युवा नेतृत्व छैन । मधेशवादी दलका पुराना नेताले साँवा–व्याज समेत सकेर बसेका छन् । नवोदित नेतृत्व बालेनको चमत्कारको प्रतीक्षा गरेर बसेका देखिन्छन् । राजनीति अब थोत्रिएको पुरानो पुस्ता र नयाँका पुस्ताका बिचमा अड्केको देखिन्छ ।
पुरानाको पतन र नयाँको उत्थान हुनु प्रकृतिको नियमै हो । यत्ति नबुझेकाले बिग्रेको थियो आजसम्म । रवि र बालेनले मिलेर एक्कैचोटी धक्का दिँदा सबै साफ भएका हुन् । तर रवि र बालेनको पनि भविष्य सुरक्षित हुनेछैन, नयाँ पुस्ताले चाहे अनुसार नभए, नगरे । पुरानै प्रवृत्ति दोहो¥याए । बालेन सरकार बनेको एक महिना पनि पुगेको छैन ।
साढे तीन दशकदेखि बा, दाजु र भाउजुको फेरो समातेर मोज र भोज गरेका भक्त र भजन मण्डलीले अन्तिम अस्त्र प्रयोग गरेर नयाँ सरकारलाई निर्वस्त्र पार्न लागिपरेका छन् । भ्रष्ट र दुष्ट पुरानै शासन फर्काउन र नयाँलाई बदनाम गर्न प्रहार गरेका अस्त्र आफै निर्वस्त्र भएकाले पराजित हुनेछन् ।
रवि र बालेनका विरुद्ध हिजो प्रहार गरिएका उनै थोत्रा हतियारको उपयोग आज फेरि गरिएको देखेका छन् जनताले पनि । मिडिया, अड्डा, अदालत, आयोग र नियोगले जति धेरै बदनाम गर्न खोज्छन्, उति बलिया हुनेछन् नयाँहरू ।
मधुमासको तीन महिने समय पनि कुर्न नसक्नुको कारण बुझेका छन् जनताले पनि ।