Butwal Today

७ सालको क्रान्तिमा छुटेको बुटवल

७ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

सन् १९५० नोभेम्बर ११ तारिख रातीदेखि नेपालमा राणा शासनका विरुद्ध एकै चोटि देशव्यापी क्रान्ति सुरु गर्ने नेपाली काँग्रेसको निर्णयअनुसार विराटनगर, वीरगन्ज र भैरहवासमेत देशका प्रमुख तीन ठाउँमा क्रान्ति प्रारम्भ भएको थियो ।

नोभेम्बर ११ का दिन के आइ. सिंहका नेतृत्वमा जनमुक्ति सेनाका १२ जना योद्धाहरू नौतनवाबाट भैरहवा कब्जा गर्न प्रस्थान गरेका थिए । यिनीहरूले सुरुमा कदम हवा भन्ने ठाउँमा पुगी राती २ बजे त्यहाँको भन्सार अड्डा कब्जा गरे ।

त्यसपछि के.आई. सिंहको क्रान्तिकारी दल पिपरहवा हुँदै भैरहवा भन्दा दक्षिणमा पर्ने म्युड़ीहवास्थित आँपको बगैँचामा पुगी त्यहाँ थकालीको मिल एवम् लप्टन खड्गबहादुर गुरुङ र गुरुज्यूको मोटर ग्यारेजमा आफ्नो अड्डा बनाई बस्यो ।

डा. के.आइ. सिंहको दल भैरहवा नपुग्दै १९५० नोभेम्बर ११ का दिन राती २ बजेतिर गोपाल शमशेरका नेतृत्वमा जनमुक्ति सेनाका १५–२० जवान व्यक्तिहरू सामेल भएको एउटा टोली भैरहवा आई बडाहाकिम निवासमा आक्रमण गरेको थियो ।

गोपाल शमशेरको आक्रमणको उद्देश्य भैरहवा गोश्वारामा बडाहाकिम निर जङ्गसँगको मिलेमतोमा सरकारी ढुकुटीमा रहेको रकम ३५ लाख भारतीय रुपियाँ हडप्न थियो ।  तर भैरहवा गोश्वारा र त्यस क्षेत्रमा सुरक्षा गरी बसेका राष्ट्रिय सेनाका कप्तान कुम्बसिंह गुरुङले षड्यन्त्रको तीव्र विरोध गर्दै त्यहाँ सञ्चित रहेको सम्पूर्ण रकम कलम आफ्ना नियन्त्रणमा लिई इमानदारीपूर्वक आक्रमणको सामना गरे ।

आफ्नो योजना असफल भएपछि गोपाल शमशेरको दल त्यहाँबाट के. आई. सिंह भएका ठाउँमा आइपुगेको थियो। तर सिंहले गोपाल शमशेरका नेतृत्वमा सङ्गठित भई पुनः भैरहवामा आक्रमण गर्ने कुरामा सहमति जनाएन । र, गोपाल शमशेर भैरहवा छोडेर पश्चिमतर्फ लागे  ।

के आइ. सिंहले आफ्नो दललाई अझ सुसङ्गठित बनाई २००७ साल कार्तिक २८ गते राती १२ बजेतिर भैरहवा गोश्वारामा पुनः आक्रमण गरे । निकै बेरसम्म गोली हानाहान भयो। के आइ. सिंहको क्रान्तिकारी दलले राष्ट्रिय सेनाको गढ़ कब्जा गर्ने निकै प्रयास गयो ।

तर राष्ट्रिय सेनाका जवानहरूका अगाडि टिक्न नसकी बिहानपख क्रान्तिकारी दल गोश्वारा इलाकाबाट पछि हटि करबला भन्ने ठाउँमा पुगी आफ्नो गढ बनाई बस्यो । यहीबाट केआई सिंहको दलले तीन पटकसम्म आफ्नो सम्पूर्ण शक्ति लगाई भैरहवा गोश्वारामा आक्रमण गन्यो।

यसैबीच सन् १९५० जनवरी १६ मा नेपाली काँग्रेसका सर्वोच्च कमान्डर मातृकाप्रसाद कोइरालाले भारतको दिल्लीबाट नेपालमा सञ्चालन भइरहेको सशस्त्र कान्ति स्थगित भएको घोषणा गरे। तर के आई सिंह र उनको दलले उक्त घोषणालाई क्रान्तिमाथिको धोका भन्दै  राणाविरोधी अभियानलाई जारी राख्यो।

२००७ साल फाल्गुण ७ गते मोहनशमशेरको प्रधानमन्त्रीत्वमा नेपाली कांग्रेस र राणाहरूको अन्तरिम सरकार गठन भई नेपाली काँग्रेसका वरिष्ठ नेता विश्वेश्वरप्रसाद कोइराला देशको गृहमन्त्री बनिसकेका थिए ।

के.आई.सिंहको विद्रोही समुहले भैरहवामा युद्ध जारि राखेपछि गृहमन्त्री कोइरालाले भारतीय सरकारको समेत सहयोग मागी नेपाली फौज र भारतीय फौजका संयुक्त प्रयासद्वारा के.आई. सिंहलाई निशस्त्र पार्ने आदेश दिए। तदनुसार भारतीय फौज र कप्तान कुम्बसिंह गुरुड्का नेतृत्वमा गएको नेपाली फौज मिली के. आई. सिंह र उनको दललाई करबलामा आत्मसपर्मण गरायो ।

२००७ साल फाल्गुन ८ का दिन के.आई.सिंहका ३५७ जना अनुयायीहरू पक्रिएको थियो । स्थानको अभावमा के. आई. सिंहलाई बडाहाकिम निवासमा नै बन्दी बनाइएको थियो ।

२००८ असार २७ गते राजबन्दीहरुले जेलको ढोका फोडेर बाहिर निस्केर के.आइ.सिंहलाई मुक्त गरेको थियो. असार २८ गते ठुलो जनसमूहको बिचमा के.आई.सिंहले आफुलाई गभर्नर र काशी प्रसाद श्रीवास्तवलाई प्रधानमन्त्रि तथा खडग बहादुर गुरुङलाई प्रधान सेनापति बनाएर जनसरकार घोषणा गरेका थिए ।

राणा शासनको अन्त्यताका बुटवल नेपालकै प्रमुख व्यापारिक केन्द्रको रुपमा फैलिँदै गएको भए पनि यहाँ राजनैतिक गतिविधि भने शून्यकै अवस्थामा थिए । बुटवलको नियन्त्रण पाल्पाबाट नै हुने गर्दथ्यो र पाल्पाको तानसेनं प्रशासनिक शक्ति केन्द्र थियो ।

सी क्लासमा घटुवा भएर रोलक्रमबाट हटाईएका रुद्र समशेर पाल्पामा बडाहाकिम भएर आएकै समयमा नेपालमा प्रजातान्त्रिक आन्दोलन शुरु भएको थियो । मोहन समशेरको सत्ता ढालेर आफु प्रधानमन्त्रि बन्न पाउछु कि भन्ने आशामा उनि नेपाली कांग्रेसतर्फ ढल्किएका थिए र छोरा गोपाल समसेरलाई त नेपाली कांग्रसकै सदस्य बनाएर पठाएका थिए ।

गोपाल समशेरलाई कांग्रेसले पश्चिम क्षेत्रको नेतृत्व समेत दिएको थियो । पाल्पालाई केन्द्र बनाएर आन्दोलन चर्काउन सकिन्छ कि भनेर बुझ्न २००७ असारमा बिपी कोइराला गुप्त तरिकाले तानसेनमा गएर रुद्र समशेरलाई भेटेका थिए ।

बिरगंज र बिराटनगरमा काँग्रेसको क्रान्तिको सफलताबाट हौसिएका तानसेनका केहि जागरुक युवाहरुकी नेतृत्वमा २००७ पुष १९ गते पहिलोपटक  तानसेनम आन्दोलन भएको थियो र ३ दिनमा नै तानसेनको प्रशासकंले आत्मसमर्पण गरेको थियो । २००७ साल पुष २१ गते पाल्पामा अन्तरिम मन्त्रीमंडल गठन भएको थियो ।

२००७ सालको राणा विरोधी आन्दोलनमा भैरहवा र पाल्पाले विशेष स्थान बनाएका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनको चर्चा गर्दा भैरहवामा डा. के आई सिंहले चलाएको शसस्त्र क्रान्ति र तानसेनमा कमलराज जोशीको नेतृत्वमा भएको शान्तिपूर्ण आन्दोलनको खुबै प्रशंशा हुने गर्छ. तर तानसेन र पाल्पाको विचमा पर्ने त्यसबेलाको महत्त्वपूर्ण सहर बुटवलले त्यो आन्दोलनमा के गरेको थियो भन्ने कुराको चर्चा विरलै हुने गर्छ ?

प्रजातान्त्रिक आन्दोलनको चर्चामा बुटवल किन छुट्छ ?

बुटवलमा २००४ सालमा नुनको अभाव हुँदा ढाक्रेहरूले विरोध गरेको कुरा यदाकदा आउने गर्छ. तर २००७ सालको आन्दोलनमा बुटवलवासीले सङ्घर्ष गरेको पढ्न पाइँदैन ।

नेपालमा राणा विरोधी सङ्घर्ष सफल हुँदै गएको मौका छोपेर यस क्षेत्रमा रहेका एक जना बंगाली डाक्टर नाम गरिएका व्यक्तिले बुटवलको चौकी कब्जा गरेको भने कुनै कुनै इतिहासका पुस्तकमा पढ्न पाइन्छ, तर यो कब्जामा बुटवलका बासिन्दा संलग्न नभएकोले तत्कालीन पाल्पा प्रशासनले २ दिन मै थप बल पठाएर कब्जाधारिलाई हटाएको थियो ।

बिपी कोइराला बुटवलको बाटो हुँदै तानसेन पुगेर फर्केको भए पनि काग्रेसका अन्य कार्यकर्ता र आन्दोलनकारीले बुटवलको बाटो भन्दा पनि निचलौलं– खैरेनी– गोठादी हुँदै तानसेन ओहोरदोहोर गर्ने भएकोले पनि बुटवलमा आन्दोलनकारीहरुले मान्छे जुटाउन पाएनन् ।

अर्कोतर्फ प्रतिमान बोहोरा जस्ता कडा स्वभाव र राणाप्रती बफादार प्रहरी कमान्डर बुटवलमा नै रहेकोले पनि आन्दोलनकारीहरु बुटवलमा भेला हुन नसकेको हुनुपर्छ । त्यसबेला बुटवल प्राशासनिक केन्द्र नभएकोले पनि नेपाली कांग्रेसले बुटवलमा आन्दोलन/क्रान्ति गर्नुपर्ने आवस्यकता नदेखेको हुनुपर्छ ।

नेपाली कांग्रेसका नेता गणेशमान सिंहले २००१ सालमा जेलब्रेक गरेर भागेपछि लुक्दै बुटवल आएका थिए । बुटवलवासीले उनलाई सुरक्षित रुपमा भारत पठाएका थिए । सम्भवत उनीबाट प्रभावित भएर बुटवलला केहि युवाहरुले नेपाली काँग्रेसको सदस्यता समेत लिएको कुरा इतिहास अध्येता निर्मल श्रेष्ठ बताउनुहुन्छ ।

जगत बहादुर जोशिले पाल्पामा २००७ सालको आन्दोलन पुस्तकमा उल्लेख गरे अनुसार बनारसमा अध्ययन गर्ने पाल्पानी छात्रहरुले ’ हामि किन गरिब ?’ भन्ने पुस्तक छपाएका थिए र जोशीले उक्त पुस्तक बुटवलमा समेत ल्याएर वितरण गर्नुभएको थियो ।

वितरण गरेर बाँकी रहेका पुस्तकहरु आफन्तको घरमा राखेर जोशी आफ्नो घरमा गएको बेलामा आफन्तले डराएर सबै पुस्तकहरु जलाएर खरानी बनाएको जोशीको लेखमा उल्लेख छ । यस बाहेक २००७ सालका जनमुक्ति सेनाका केहि व्यक्तिहरुले बुटवलमा सेल्टर लिएको कुरा पनि उल्लेख भएका पुस्तकहरु भेटिन्छन् ।

तर सबै सामाग्रीहरु अध्ययन गर्दा बुटवललाई  २००७ सालको क्रान्तिले तान्न नसकेको प्रष्ट देखिन्छ । बुटवलले क्रान्तिमा आफुलाई किन सहभागी गराएन भन्नेतर्फ विचार गर्दा केहि कुराहरु फेला पर्छन् ।

पहिलो कुरा भनेको बुटवल प्रशासनिक केन्द्र नभएर व्यापारिक थलो मात्र भएकोले बुटवलका बासिन्दाहरुले आन्दोलनमा चासो नदिनु, दोश्रो कुरा बुटवलमा प्रहरीको कडा निगरानी हुनु, तेश्रो कुरा बुटवलमा राजनैतिक चेतना जगाउन सक्ने सामाजिक सस्था, विद्यालय, पुस्तकालय नहुनु र चौथो कुरा पाल्पालाई केन्द्रमा राखेर नेपाली कांग्रेसले आन्दोलन गर्न प्रेरित गर्नु जस्ता कारण मुख्य देखिन्छन् ।

२००७ सालको आन्दोलनमा बुटवल नभेटिएपनि त्यसपछिका राजनैतिक सङ्घर्ष र परिवर्तनमा भने बुटवलले नेतृत्वदायी भूमिका खेलिरहेको छ । राणा शासन अन्त्य भएको साढे ७ दशक वितिसकेको छ । आन्दोलनलाई देखेका र संलग्न भएका पुरानो पुस्ता लगभग सकिएको छ ।

तरपनि केहि कुराना दस्तावेजको खोजि गर्न सकेमा २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा बुटवलको भूमिकाको बारेमा थप कुरा थाहा पक्कैपनि हुनेछ । यो काम स्थानीय सरकार र तत्कालीन आन्दोलनको नेतृत्वकर्ता नेपाली कांग्रेसका साथै यस क्षेत्रका अध्येताहरूले गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?