© 2026
फेब्रुअरीको मधुरो घाम झुल्किँदै गर्दा सहर भरी गुलाबका बोटहरू जस्तै भावनाहरू पलाइरहेका हुन्छन् ।
रेस्टुरेन्ट र डिपार्टमेन्टल स्टोर्सहरूमा रातो तथा सेतो रिवन र बेलुनहरू टाँसिएका छन् । क्याफेहरूमा हँसिला प्रेमिल जोडीहरूका लागि अग्रिम बुकिङ भैसकेका छन् । त्यही दिन भने एउटा बैंकरको लागि माया र जिम्मेवारीको सन्तुलन मिलाउने– ब्याज, किस्ता र प्रेम सन्तुलन गर्ने दिन बन्न पुग्छ ।
भ्यालेन्टाइन डे केबल आधुनिक फेसनको उत्सव होइन, बरु प्रेमिल इतिहास बोकेको गर्बिलो शब्द हो । यसको जरा खोज्न प्राचीन रोमन साम्राज्यतिर घोत्लिनुपर्छ । रोमन सम्राट् क्लाउडियस द्वितीयको शासनकालमा सैनिकहरूलाई विवाह गर्न निषेध गरिएको भन्ने पाइन्छ । किनकि अविवाहित सैनिकहरू बढी शक्तिशाली हुन्छन् भन्ने मान्यता थियो ।
तर सन्त भ्यालेन्टाइन नामका धर्मगुरुले प्रेम र विवाहलाई पवित्र मानेर गोप्य रूपमा विवाह गराइरहे । यो काम राजाको आदेश बर्खिलाप थियो । यस विषयमा उनलाई पक्राउ गरी मृत्युदण्ड दिइयो । त्यो दिन थियो, फेब्रुअरी १४ ।
त्यसै दिनको त्यो प्रेम निष्ठा र साहसको प्रतिक र सम्झना स्वरूप हरेक अङ्ग्रेजी वर्षको त्यस दिनलाई उत्सवको रूपमा प्रेम दिवस मनाउन थालियो । मध्यकालीन युगमा कवि र साहित्यकारहरूले यसलाई पवित्र कार्यका रूपमा चित्रण गर्न थाले । १८औँ र १९ औँ शताब्दीतिर कार्ड, फुल र सन्देश आदानप्रदान हुन थाल्यो ।
औद्योगिक क्रान्तिपछिको दशकमा समाजमा गुलाब, चकलेट तथा रेस्टुरेन्ट कल्चरले ठाउँ पाउँदै आएको छ । आज यो दिन विश्वव्यापी मनाउने पर्वको रूपमा रूपान्तरण भएको छ । खास गरी जेनजी पुस्ता बढी सक्रिय छ यो पर्वमा ।
नेपाली समाजमा पनि यो दिन युवापुस्तामाझ लोकप्रिय छ । साथसाथै यहाँ बहस पनि चलिरहेको छ यो पश्चिमा संस्कृतिको प्रभाव कि साँचो प्रेम गर्नेको उत्सव, यसलाई निरुत्साहित गर्ने कि दुरुत्साहित ? एउटा छलफलको विषय बन्न सक्ला तर एउटा कुरा स्पष्ट छ कि प्रेम केबल उपहार र देखावटी रोमान्स मात्र होइन, यो त निष्ठा, सम्मान, समर्पण, जिम्मेवारी र कर्तव्यवोधको अनुपम आस्था हो ।
बैंकरको बिहान आलारामले होइन, दायित्वले उठाउँछ । मोवाइलमा क्यालेण्डर हेर्दा १४ फेब्रुअरीको घेरा देखिन्छ । भ्यालेन्टाइन उसले बिर्सेको हुंदैन तर उसले मनाउने शैली फरक हुन्छ । क्यालकुलेटरमा मुटु राखेर, ब्याजमै माया गन्छ उ, ब्यालेन्स सोध्दा मुस्काउँदै भनिदिन्छ–‘माया पर्याप्त छ नगद कम छ ।’
बैङ्कको ढोका खुल्ने बित्तिकै लाइन सुरु हुन्छ । कसैले चेक साट्न, कसैले डिपोजिट गर्न, कसैले ऋण लिन, त कसैले डिजिटल बैङ्किङका समस्याको समाधान खोज्न लामबद्ध भएको देख्छ उ । यी सबै केबल काम होइनन्, यी त मानिसका सपना हुन्, कसैले छोरीको पढाइको लागि बचत गर्दै छ, कसैले घर बनाउने आशामा ऋण लिएको छ, कसैले वृद्धावस्थाको सुरक्षाको लागि साना साना रकम सङ्कलन गरी जम्मा गरिरहेको छ ।
भ्यालेन्टाइन डे मा जब अरूले गुलाब साट्छन, बैंकरले विश्वास साट्छ, एउटा सानो कागजमा ‘सही छ’ भनेर गरिएको दस्तखतले नै कसैको जीवनमा आशाको ढोका खुल्छ प्रेम त्यहीनेर अडिक हुन्छ । यही उसको प्रेमको रूप हो– कसैको मन÷भविष्य सुरक्षित बनाउन सक्नु, विश्वासिलो गर्बिलो आश दिन सक्नु वा भनौ कसैको भविष्य सुरक्षित बनाउन सक्नु ।
तर यसको अर्थ उसको व्यक्तिगत जीवन विर्सेको भन्ने होइन । दिउंसोको टिफिन ब्रेकमा उसले फोन गर्छ ‘आज अलि ढिला हुन्छ, धेरै माया छ कालु’ । यो वाक्यमा माया र जिम्मेवारी दुवै मिसिएको हुन्छ । बैंकरको प्रेम व्यवहारिक हुन्छ ।
उसले थाहा पाएको हुन्छ, मायां पनि बचत जस्तै हो । नियमित रूपमा गर्नुपर्छ ध्यान दिएर । विश्वास भने फिक्स डिपोजिट जस्तै हो समयसँगै बढ्छ । सम्बन्धहरू लोन जस्तै हो, जिम्मेवारी पूर्वक दायित्व पुरा गर्नुपर्छ । अनि मात्र असल भइन्छ । टिकिन्छ, जुनी जुनी ।
त्यस दिन बैङ्कको काउन्टरको अगाडि उभिने व्यक्ति पनि प्रेमको अर्को रूप हो । उसले देखाउने माया गुलावमा होइन, जिम्मेवारीमा हुन्छ । चकलेटमा होइन भरोसामा हुन्छ । जब साँझ बैङ्कको ढोका बन्द हुन्छ, सिस्टम क्लोज हुन्छ र कम्प्युटर स्क्रिन अँध्यारो हुन्छ ।
तब उ घरतर्फ लाग्छ । हातमा सायद सानो गुलाब हुन्छ तर मनमा ठूलो कृतज्ञता । उसले महसुस गर्छ कि– ब्याज, ब्यालेन्स र मायाबिच सन्तुलन । काम र प्रेमबिच सन्तुलन । जिम्मेवारीको काउन्टरमा उभिएर पनि मुटुमा गुलाब राख्ने कला ।
(लेखकः राष्ट्रिय वाणिज्य बैंक भैरहवा शाखामा कार्यरत छन्)