© 2026
बुटवल । प्याब्सन कपका लागि खेलाडी छनोटको विषय विवादमा परेको छ। रुपन्देही क्रिकेट संघले प्याब्सन कपका लागि खेलाडी छनोटका विषयमा भइरहेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
खेलाडी छनोटका विषयमा विभिन्न क्षेत्र र सामाजिक सञ्जालबाट रुपन्देही क्रिकेट संघलाई जोडेर विरोध भइरहेको छ ।संघले बुधबार ध्यानाकर्षण पत्र जारी गर्दै प्याब्सन कपका लागि खेलाडी छनोट गर्ने क्रममा आफूहरुसँग कुनै समन्वय नभएको स्पष्ट पारेको छ ।
संघका अध्यक्ष हरिबहादुर थापाले ध्यानाकर्षण पत्र जारी गर्दै छनोट प्रक्रियामा संघसँग कुनै किसिमको समन्वय नभएको भन्दै भ्रममा नपर्न आम क्रिकेटप्रेमी, खेलाडी, समर्थक र अभिभावकहरुमा अनुरोध समेत गरेका छन् ।
संघले काठमाडौं जिल्ला प्याब्सनले आयोजना गर्न लागेको ‘प्याब्सन कप यु–१५ राष्ट्रिय क्रिकेट प्रतियोगिता’का लागि लुम्बिनी प्रदेशस्तरीय छनोटबारे आफूहरुलाई जानकारी समेत नदिएको स्पष्ट पारेको छ ।
‘उक्त प्रतियोगिताको छनोट प्रत्रियामा ब्यापक अनियमितता भएको भनी रुपन्देही क्रिकेट संघको नाम जोडी गुनासाहरु आएकाले रुपन्देही क्रिकेट संघसँग प्याब्सनले कुनै सहकार्य नगरेको सबैमा जानकारी गराउँछौं’, अध्यक्ष थापाले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘लुम्बिनी प्रदेश प्याब्सन टीमको छनोट प्रक्रिया प्याब्सनले स्टार क्रिकेट एकेडेमीलाई दिएको छ । उक्त एकेडेमीले रुपन्देही क्रिकेट संघबाट स्वीकृत नलिई खेलाडीहरु छनोट गरेको छ ।’
रुपन्देही क्रिकेट संघले सम्पूर्ण सरोकारवालाहरुमा उक्त छनोट प्रक्रियामा आफ्नो कुनै किसिमको संलग्नता नरहेको स्पष्ट पार्दै भ्रममा नपर्न अनुरोध गरेको हो ।
अध्यक्ष थापाले पत्रकारहरुसँग कुराकानी गर्दै संघसँग सरोकार नै नभएको विषयलाई अतिरञ्जित नगर्न आग्रह गरे । उनले संघले सबै खेलाडीलाई सम्मान गर्ने र योग्य खेलाडीहरुको वृत्तिविकास र प्रवर्द्धनमा सधैं साथ सहयोग दिँदै आएको बताए ।