© 2026
प्रजातन्त्र, सार्वभौमिकता, स्वतन्त्रता र अस्तित्वको रक्षा तथा स्वतन्त्रता प्राप्तिका निम्ति ज्यानको कुर्बानी वा बलिदानी गरेकाहरू नै साँचो अर्थमा सहिद हुन् ।
सहिदले देखाएको मार्गमा अघि बढ्ने प्रतिबद्धतासहित आज सहिद दिवस मनाईदैछ । यो दिनमा सहिदको सपना पूरा भयो कि भएन ? भएन भने किन हुन सकेन ? आज यो महत्त्वपूर्ण दिन समीक्षाको समय पनि हो । तर, चिन्ताको कुरा के छ भने सहिदको अवमूल्यनको क्रम सुरु भएको छ । राजनीतिक पहुँच, दाउपेच र पैसाका लागि ‘सहिद’ घोषणा गर्ने विकृत अभ्यास र परम्परा सुरु भएको छ ।
यसले वास्तविक सहिदको अपमान भएको छ । प्रजातन्त्र प्राप्तिका लागि ज्यान उत्सर्ग गर्ने सहिदहरूको सम्मान र सम्झनामा हरेक वर्षजस्तै आज शुक्रबार पनि सहिद दिवस मनाउने औपचारिकता पूरा गरिँदै छ ।
यद्यपि सहिद दिवस हरेक वर्ष साताव्यापी कार्यक्रम गरि मनाउने गरिएको छ । आजको अर्थात् माघ १६ को सहिद दिवस वि.सं. २००७ मा राणा शासनविरुद्ध लडेर ज्यानको बाजी लगाउने सहिद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झनामा मनाउने गरिएको हो । पछिल्लो समय यसैमा सबैलाई जोडेर दिवस मनाउने गरिएको छ ।
३० वर्ष लामो पञ्चायती शासन व्यवस्थापछि २०४६ र २०६२–२०६३ सालमा प्रजातन्त्र तथा लोकतन्त्र र गणतन्त्रका लागि ज्यान दिने ज्ञात–अज्ञात सहिदको सपना साकार पार्न आज सङ्कल्प गर्ने दिनका रूपमा पनि सहिद दिवसलाई लिने गरिएको छ ।
इतिहास भन्छ– निरङ्कुश जहानिया राणा शासन हटाई नेपालमा वैधानिक प्रजातान्त्रिक शासन स्थापना गर्न शुक्रराज, धर्मभक्त दशरथ चन्द र गङ्गालालका साथै कृष्णलाल अधिकारी र कृष्णप्रसाद कोइरालाको बलिदानले ठुलो भूमिका निर्वाह गरेको थियो ।
त्यसयता मुलुकमा ठुलो सङ्ख्यामा सहिदहरूले बलिदान गरेका छन् । सहिद दिवसको औपचारिकता पूरा हुँदै गर्दा सहिदले देखेको सपना अझै पूरा भएको छैन । सहिदहरूले जुन सपना देखेका थिए त्यो पूरा गर्नेतर्फ नेताहरूको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ । अनि मात्र सहिदले दिएको बलिदानको सार्थकता हुनेछ ।
तर, विडम्बना पछिल्लो समय हामीले सहिद शब्दको मर्यादा, मूल्य, गरिमा, सम्मान र आस्थालाई अवमूल्यन गर्दै आएको अवस्था छ । अहिले सहिदको अपमान भइरहेको छ । सामान्य घटनाक्रममा मृत्युवरण गरेकाहरूलाई पनि सहिदको पगरी गुथाउने जुन परिपाटी विकास भएको छ, त्यसले सहिदको अवमूल्यन भएको छ ।
यसले के देखिन्छ भने सहिदको मर्यादा, गरिमा होइन अव सहिद भन्नासाथ हेयको दृष्टिले हेर्ने वातावरण सरकारदेखि यहाँका राजनैतिक दलहरू आफै सिर्जना गर्दै छन् । सहिदको जुन सपना थियो त्यो पूरा गर्ने दौरानामा सहादत प्राप्त गरेका चार सहिद नै वास्तविक सहिद हुन ।
बस वा ट्रकले दुर्घटना गराएकाहरूलाई पनि सहिदको सूचीमा राख्ने परम्परा छ । यस प्रकारको क्रियाकलापले सहिदको अवमूल्यन गराउँछ । विडम्बना पछिल्लो समय सहिद शब्दको मानमर्दन, सहिदको मर्यादा, मूल्य, गरिमा, सम्मान अनि आस्थालाई तल धकेल्ने काम भएको छ ।
चिन्ताको कुरा छ– सहिदको अवमूल्यन हुँदै गएको छ । वास्तवमा वास्तविक सहिदहरूको नाम लिँदा पनि हाम्रो शिर गर्वले ठाडो हुनुपर्छ, छाती फुल्नुपर्दछ । सहिदको वीरताको गाथा गाउन मन लाग्छ ।
सहिद दिवसलाई अहिलेसम्म केवल परम्परा धान्ने वा औपचारिकतामा मात्र सीमित राखिएको इतिहास छ । यस्तो अवस्थाले सहिदको साँचो अर्थमा स्मरण हुन सक्दैन र उनीहरूले जुन उद्देश्यका लागि ज्यान उत्सर्ग गरेका थिए, त्यसको कत्ति पनि सम्मान हुन सक्दैन ।
कमसेकम सहिद दिवसमा सहिदले गरेको त्याग र बलिदान अनुरूप अघि बढ्ने सङ्कल्प गर्नुपर्दछ । अव वास्तविक सहिदको अपमान होइन सम्मान गर्ने संस्कृति विकास गर्नु जरुरी छ । सहिदले देखाएको बाटोमा मुलुक हिँड्ने प्रयास होस् ।
अनि मात्र वास्तविक सहिदको सम्मान हुनेछ ।