Butwal Today

‘नबिर्सौँ अब– देश बने मात्रै हामी बन्छौँ’ 

१२ माघ २०८२, सोमबार
अ+
अ-

हामीले हाम्रा शासकहरूबाट नीति, दृष्टिकोण, सिद्धान्त, व्यवहार, आनीबानी, कार्यशैली कुनै पनि क्षेत्रमा निश्चितता पाउन सकेनौँ । हामीलाई सधैभरि अनिश्चितताको स्थितिमा अलमल्याएर शासन गरे ।

जनतालाई सदा काल अलमल र अन्योलको भूमरीमा गाढेर आफूहरू मनपरीतन्त्रको चास्नीमा डुवेका छन् तर देश भने बर्वाद छ । जनताको अवस्था वर्वाद भयो ।

नेताहरूको यस्तो आनीबानी व्यवहारलाई नियन्त्रण गरेर उनीहरूलाई ठिक ठाउँमा ल्याउने कार्यकर्ताले हो । कार्यकर्ताहरू झन् खत्तम बने । नेता त बिग्रे तर उनका कार्यकर्ताहरू पनि किन झन् बिग्रे र खत्तम बने ?

यो प्रश्न हामी सबै नेपालीले आ–आफ्ना मनमा राखेर गमौँ । बाहिरबाट हेर्दा सरकार छ, प्रशासन छ पुँजी, प्रविधि, साधन, श्रोत तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहयोग सबै विद्यमान छ ।

यी सबै थोकहरू चलायमान छन् तर यी सबैलाई समन्वित गरेर परिचालन गर्ने सत्पात्र र योग्य तथा सक्षम पात्र देशले पाएन । मुहार सबैका सफल तर भित्र सबै कालो काँग्रेस, कालो एमाले, कालो माओवादी सबैका सर्वोच्च निकायका पात्रहरूका मन कालो भैदिनाले तल्लो निकायका संकायहरू पनि यही उल्टो यात्राका अनुगामी वने, त्यसैले देश वर्वाद भयो ।

संसारबाट सहायता ओइरिएको ओइरैइछ, प्रविधि आएको छ, सल्लाहकारहरूको लर्को लागेको लाग्यै छ तर त्यसको परिणाम भने लगातार नकारात्मक दिशातिर गईरहेको देख्छौ ।

खेलकूद क्षेत्रको अपवादलाई छाडेर प्रचण्ड कुर्लेको सुनिन्छ, देशले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता भयो रे अनि यहाँ भन्दा ठूलो उपलब्दी के हो ? ओली, शेरवहादुर, माकुने, वावुराम, झलनाथ, मधेशवादीहरू सवैका यिनै तर्क छन् ।

तर जनताको अवस्था आज बजारभाउ देख्दा तथा वाँच्नको लागि नभई नहुने अत्यावश्यक सामानको मूल्य हेर्दा मासिक १५–२० हजारको जागीर हुने र त्यही वरावरको औसत आम्दानी हुने भुई मान्छेहरूको दयनीय अवस्था र उनका छारा छोरीहरूको कारण स्थिति देख्दा छाती पिटी पिटी चिच्याउन मन लाग्छ ।

आजको वजार भाउ महिनाको १५/२० हजार प्रति परिवार औसत आयलाई कदापि राम्रो मान्न सकिन्न । त्यसमा पनि जागिर नभएका र शारीरिक अस्वस्थाको कारण दैनिकज् यालादारी कामपनि गर्न नसकेका तथा काम नपाएर दिन गुजार्नु पर्नेहरूको स्थिति अझ कस्तो होला ? एकपटक सबैले मनन गरौ त ।

त्यसो त सरकारले अन्य आम्दानीको श्रोत नभएका बृद्ध वृद्धा र एकल महिला तथा अपांगता भएका व्यक्तिहरूलाई मासिक चार हजार सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । के यत्ति कामबाट सरकारलाई आफ्ना नागरिकहरू प्रतिको दायित्वबाट पञ्छिन मिल्छ त ? अहँ, कदापि मिल्दैन ।

प्रचण्ड र अन्य नेताहरूले आ–आफुना चर्का भाषणमा कुर्लदै धोक्रो फुलाई चिच्याउने गरेको देशको उपलब्धी सघीयता, गणतन्त्र र धर्म निरपेक्षताले दिएको वरदान वहुसंख्यक नेपाली जनतालाई दुइछाक साधारण ढिडो र सिन्की खान नपुग्ने, टाउको छोप्ने वासको लागि नचुहिने छानो र पुसको जाडोबाट बच्न न्यानो भुल्लो पनि जाडो हुन नसक्ने र त्यसैमा कहिलेकाही विरामी पर्दा ओखतीगर्न नसकेर तडपीतड्पी मर्नुपर्ने स्थितिलाई कसरी जनताको व्यवस्था भनेर जान्ने ?

कसरी जनताले आफ्नो लागि रोजेको र ल्याएको व्यवस्था भनेर स्वीकार गर्ने ? हाम्रो देशको वहुसंख्यक जनताले झेलिरहेको यस्तो दयनीय अवस्थामा वेलावेलामा प्रचण्ड र अन्य नेता भनिनेहरूले औला ठड्याएको ठड्याई दावी गर्ने गरेको संघीयता, धर्म निरपेक्षता र गणतन्त्र हाम्रो ठूलो उपलब्धी हो भन्नुलाई जनतामाथि फटाहा नेताहरूले ठूलो दुःखलाग्दो व्यंग्य गरेको प्रतीत हुन्छ ।

हाम्रो नेपाल राम्रो बनाउन र नेपाली जनतालाई लोकतन्त्रको प्रत्यभूति दिलाउन फोस्रा भाषणको अव काम छैन । ठोस काममा अगाडि बढ्नुको विकल्प छैन । यही सन्दर्भमा विचार गर्दा हाम्रो आर्थिक विकासका क्षेत्रहरू अनन्त छन् ।

तीमध्ये केवल २/४ क्षेत्रमा मात्र हाम्रो ध्यान जाने हो भने हाम्रो भाग्य चम्किन्छ । नेपाल आज जल सम्पदाको स्वामी हो । जलश्रोतको विशेषज्ञहरूले बारम्वार भन्दै आएका छन् कि हामीले अरू धेरै काम गर्न नसकेपनि प्रकृतिले सेतो हिराको रूपमा निशुल्क वरदान स्वरूप दिएका अपार जलसम्पदालाई मात्र राम्ररी उपयोग गर्न सक्यौ भने विकासको चुलीमा पुग्न सकिन्छ । तर, हामीले आफ्नो जलश्रोतलाई राम्ररी परिचालन गरेनौ ।

हाम्रो राष्ट्रिय अर्थतन्त्रको विकासको बाटोमा वाधक हामी नै बन्यौ । साधन हुदाहुदै पनि त्यसलाई परिचालन नगर्नु हाम्रो कस्तो नालयकीपन हो ? थाहा नभएर भनौ भने राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका धागड जलश्रोत विज्ञहरूले हाम्रा शासकहरूलाई यो कुरा बारम्बार भनिरहेका छन् ।

जलश्रोतको सही उपयोगबाट वहुआयामिक फाइदा लिन सकिन्छ भनेर हजारौं पटक भने होलान् तर आजसम्म केही गरे जस्तो देखाउने बाहेक ठोस कदम कहिल्यै चालिएन । हुनपनि हाम्रा नदीनालाहरूमा पानी छ । पानीबाट विजुली निस्कन्छ ।

विजुलीबाट उर्जा जन्मन्छ । उर्जाले पेट्रोलको कामपनि दिन्छ, डिजेलको, कोइलाको काम पनि दिन्छ । बत्ति वाल्न, खाना पकाउन, घरघरै स– साना घरेलु उत्पादन गरेर छिपेको बेरोजगारी र डिस्ट्युविटर अनइम्पलाइमेन्ट हल गर्न, ठूलाठूला ट्रलीवस, रेल, रोप लाइन संचालन गर्न, इभी आदि के के हो के के असंख्य फाइदा लिन सकिन्छ ।

खाना पकाउने ग्याँस र अरू प्रयोजनका निम्ति भारतबाट मात्र महिनामा अरबौ रुपियाँ हाम्रो विदेशी मुद्रा इन्धन आयातको निम्ति मात्र खर्चेर वाहिर गइरहेको छ भने अन्य उपभोग्य वस्तुहरूको आयातमा पनि भारत लगायत विश्वका विभिन्न देशहरूमा हाम्रो विदेशी मुद्रा बाहिरिइरहेको छ ।

जबसम्म आयात प्रतिष्थापन र निर्यात प्रवद्र्धनमा हाम्रो ध्यान जादैन, हामी कहिल्यै उँभो लाग्दैनौ । कुनै पनि आधुनिक उद्योगको संचालनमा इन्धनको ठूलो भूमिका हुन्छ । हाम्रो देशमा पेट्रोल छैन त के भो पानी प्रशस्त छ ।

ग्याँस भण्डार छैन त के भो झन् सजिलो इन्धनका श्रोतहरू कोशी, गण्डकी, कर्णाली र यिनका सहायक नदीहरूले हामीलाई बारम्बार मलाइ उपयोग गर र फाइदा उठाउ, जनताको अर्थिक अवस्थामा सुधार ल्याउ भनि रहेका छन् ।

तर, हामी पानीमरुवा बनेर काम नगरेर बसिरहेका छौं । हाम्रा नदीनालाहरूको अर्को विशेषता के पनि छ भने खडेरीको याममा नदीहरू सुकेर पानीको अभावले जलविधुत परियोजनाहरू वन्दहुने स्थितिपनि छैन ।

हिम श्रृंखलाबाट हिउपग्लेर गर्मी याममा पनि नदीको प्रवाह अनवरत चलिरहन्छ । यस्तो विशेषता अरू देशमा कमै पाईन्छ । त्यसैले हाम्रो जलसम्पदामा भारतको मात्र होइन विश्वका धेरै मुलुकले आँखा लगाएका छन् । ¥याल काढेका छन् ।

ए सरकार, ए जनता हो, ए कार्यकर्ता हो, अबपनि सधैभरि अनिश्चयको स्थितिमै अलमलिएर वस्न भएन के । हामी सबै नेता, कार्यकर्ता, जागिरे, व्यापारी, किसान, मजदूर, ज्यामी, हरेक क्षेत्र र तहका जनता देशको उन्नतिका विषयमा सोचौं । देश वने हामीपनि बन्छौँ । देश विग्रे हामी पनि विग्रन्छौं । यो कुरो सबैले बुझौ ।