© 2026
उनी निरंकुश राणा वंशमा जन्मिए । तर, उनको नसामा भने प्रजातन्त्रको रगत बग्थ्यो ।
वि.सं. २००७ को क्रान्तिमा काठमाडौँका अधिकांश राणाहरू पारिवारिक शासन कसरी जोगाउन सकिन्छ भन्ने ध्याउन्नमा रहँदा उनी भने राणा शासनविरुद्धको युद्धमोर्चामा थिए ।
त्यो क्रान्तिमा उनले सञ्चारकर्मी (पत्रकार होइन) को भूमिका पनि निर्वाह गरे । राणा शासनविरुद्ध नेपालको पश्चिमी युद्धमोर्चाको खबर भारत प्रवासमा रहेका राजा त्रिभुवन समक्ष पु¥याउन उनी नयाँदिल्ली पुगिरहन्थे ।
राणा वंशमा पनि धेरै व्यक्ति लेखक छन्, किताब लेखेका छन् । उनी भने ती विरल राणामध्येमा पर्थे, जसको कलम निरंकुश राणा शासन र शासकहरूविरुद्ध प्रयोग भयो ।
उनी हुन्, इतिहासकार पुरुषोत्तम शमशेर राणा । तिनै राणाको चार महिनाअघि १९ मंसिर (२०८१) मा काठमाडौँको मेडिसिटी अस्पतालमा ९९ वर्षको उमेरमा निधन भयो ।
बाँचिरहेका भए १५ चैत्र २०८१ मा उनी एक सय वर्षमा पाइला टेक्ने थिए, यसदिन आफ्नो जन्म शताब्दी मनाइरहेका हुने थिए । दुर्भाग्य ! यो सौभाग्य उनलाई प्राप्त भएन । कतिपय पात्रमाथि ‘अबिच्युरी’ उनीहरूले देश र समाजमाथि पु¥याएको योगदानका कारण लेखिन्छ । प्रियजन हुनुको नाताले पनि कतिपय व्यक्तिमाथि संस्मरण लेख्नुपर्ने दायित्व हुन्छ ।
देश र समाजलाई पु-याएको योगदान र व्यक्तिगत सम्बन्धका कारण पुरुषोत्तम शमशेर राणा मेरा लागि यस्तै पात्र थिए, जसको निधनपछि मैले केही न केही लेख्नैपर्ने दायित्व थियो । तर, ‘व्यक्तित्व’ माथि अबिच्युरी लेख्न जति सहज हुन्छ, ‘प्रियजन’ माथि लेख्न भने त्यति सहज हुँदो रहेनछ । निधनलगत्तै उनीमाथि तत्काल ‘अबिच्युरी’ आलेख तयार गर्न नसक्नुको कारण यही थियो ।
श्री ३ जुद्धको अन्याय र बद्लाभाव
राणा शासनभित्र विभाजनको खाडल श्री ३ चन्द्र शमशेरकै पालामा खनिएको थियो, राणाहरूलाई ‘ए’, ‘बी’ र ‘सी’ क्लासमा गरिएको विभाजनमार्फत् । तेस्रा राणा प्रधानमन्त्री वीर शमशेरकी ल्याइते (विवाह नगरी ल्याइएकी) रानीतर्फका सन्तान भएकाले पुरुषोत्तम शमशेरका हजुरबुबा रुद्र शमशेर पनि ‘सी’ क्लासमा परेका थिए ।
रुद्र शमशेर श्री ३ जुद्ध शमशेरका पालामा प्रधानसेनापतिसम्म बने। नम्र र उदार स्वभावका भएकाले सेनाभित्र उनी निकै लोकप्रिय थिए । तिनै रुद्र शमशेरलाई ५ चैत्र १९९० मा पाल्पा पठाइएपछि राणा परिवारभित्रको विभाजन अरू फराकिलो बन्न पुग्यो ।
पाल्पा धपाइनुअघि १९९० को इन्द्रजात्राको दिन राजा त्रिभुवन, जुद्ध शमशेर र प्रधानसेनापति रुद्र शमशेर घोडामा अगाडिबाट पछाडि क्रमशः (स्व. पुरुषोत्तम शमशेर राणा)
पाल्पा धपाइनुअघि १९९० को इन्द्रजात्राको दिन राजा त्रिभुवन, जुद्ध शमशेर र प्रधानसेनापति रुद्र शमशेर घोडामा अगाडिबाट पछाडि क्रमशः (स्व. पुरुषोत्तम शमशेर राणा)
‘सी क्लास’का अन्य शक्तिशाली राणाहरूलाई पनि त्यसबेला काठमाडौँबाट पनि पूर्व–पश्चिमतर्फ धपाइएको थियो । श्री ३ जुद्धले रुद्र शमशेरलाई पाल्पा धपाएनन् मात्र, उनको चारबुर्जा दरबार पनि हत्याए, छोरा बहादुर शमशेरलाई दिए । हाल निर्वाचन आयोग र उपराष्ट्रपतिको कार्यालय रहेको यो दरबारले ‘बहादुर भवन’ को नाम पाएको यही कारणले हो ।
इतिहासकार राणाको जन्म त्यही चारबुर्जा दरबारमा १५ चैत्र १९८२ मा भएको थियो। आफू जन्मेको त्यो दरबारमा उनले नौ वर्ष बिताए । श्री ३ चन्द्रको मृत्युपछि उनका भाइहरू भीम शमशेर, जुद्ध शमशेर, भतिजा पद्म शमशेर र अन्तिममा उनकै छोरा मोहन शमशेर श्री ३ महाराज बने । जो–जो श्री ३ बने पनि शासनमा दबदबा भने चन्द्र शमशेरका छोराहरूको रहन्थ्यो ।
जुद्ध शमशेर र पद्म शमशेर आजीवन सत्तामा रहेनन्, राजीनामा दिएर भारततर्फ लागे । भनिन्छ, जुद्ध शमशेरजस्ता शक्तिशाली श्री ३ ले समेत राजीनामा दिनुको कारण श्री ३ चन्द्रका छोराहरूको शासनमा दबदबा थियो । श्री ३ चन्द्रका छोराहरूको दबदबाअगाडि श्री ३ जुद्धजस्तो कठोर शासक त टिक्न नसकेको बेला श्री ३ पद्म शमशेरजस्ता कमजोर शासक टिक्न सक्ने कुरै थिएन ।
मोहन शमशेरलाई जतिसक्यो छिटो प्रधानमन्त्री बन्नु थियो । यसका लागि रोलक्रममा अघि रहेका राणाहरूलाई पन्छाउनु पथ्र्यो । परिवारभित्रकै भए पनि विरोधी वर्गका राणाहरूलाई हटाउने एउटा उपाय थियो, काठमाडौँबाहिरका जिल्लामा बडाहाकिम (गभर्नर) वा अन्य जिम्मेवारी दिएर पठाइदिने ! चन्द्र शमशेरका छोराहरूको दबाब झेल्न श्री ३ जुद्धले पनि प्रधानसेनापति रुद्र शमशेरलाई बडाहाकिम (गभर्नर) बनाएर पाल्पा धपाइ दिए ।
पाल्पा धपाइएका रुद्र शमशेरले २००७ को क्रान्तिमा भने नेपाली कांग्रेसलाई साथ दिए । राणा शासनलाई कमजोर बनाउन धेरै गौँडाका सैनिक इकाईहरूमा सशस्त्र हमला गर्नुपरेको थियो । तर, बडाहाकिम रुद्र शमशेरको साथका कारण पाल्पा बिनारक्तपात क्रान्तिकारीहरूको कब्जामा गयो ।
बडाहाकिम रुद्र शमशेरको साथका कारण राजधानीपछिको सबैभन्दा शक्तिशाली मानिने पाल्पा गौँडामा सहजै क्रान्ति सम्पन्न भएको थियो ।
२००७ को क्रान्तिपछि काठमाडौँ आएका रुद्र शमशेरको स्वागतमा बीपी कोइराला र गणेशमान सिंह
२००७ को क्रान्तिपछि काठमाडौँ आएका रुद्र शमशेरको स्वागतमा बीपी कोइराला र गणेशमान सिंह
रुद्र शमशेरको परिवारले श्री ३ जुद्धको पालामा भोग्नुपरेको अत्याचारको प्राज्ञिक परिणाम पनि थियो– उनीद्वारा लिखित ‘श्री ३ हरूको तथ्यवृत्तान्त ।’
‘श्री ३ जुद्धका कारण जिजुबुबा (रुद्र शमशेर) परिवारसहित पाल्पा लखेटिनु प¥यो र जब म चेतनशील बनेँ, मलाई लाग्यो– कुनै हिसाबले हामीमाथिको अत्याचारको बदला लिनुपर्छ,’ केही वर्षअघि एक भेटमा राणाले भनेका थिए, ‘श्री ३ हरूको तथ्यवृत्तान्त त्यसैक्रममा तयार भएको हो ।’
त्यसैले, उनी ‘श्री ३ हरूको तथ्यवृत्तान्त’ मा आफ्नो परिवारलाई पाल्पा धपाउने श्री ३ जुद्धप्रति निकै कठोर रूपमा प्रस्तुत भएका छन् । उनले लेखेका छन्, ‘जसरी भारतमा औरङ्गजेब अति क्रूर र कट्टर भएबाट मुगल साम्राज्यको अन्त्य भयो, त्यस्तै नेपालमा जुद्ध शमशेर पनि अति क्रूर र कट्टर भएबाट राणा शासन पतनको कारण बन्यो ।’
त्यसो त, उनले राणाहरू शासकहरूमा कठोर मानिने श्री ३ चन्द्र शमशेर र उनका छोरा अन्तिम राणा शासक श्री ३ मोहन शमशेरको पनि चर्को आलोचना गरेका छन् ।
तर, पुरुषोत्तम शमशेरमा पलाएको बदलाभाव ‘श्री ३ हरूको तथ्यवृत्तान्त’ को जन्मको एउटा सानो पाटो मात्र हो । खासमा ‘श्री ३ हरूको तथ्यवृत्तान्त’ तयार पार्ने रुचि उनलाई सानैदेखि थियो । त्यसलाई राणाकालीन कालखण्डको उत्कृष्ट कृति बनाउन उनले निकै मेहनत समेत गरेका थिए ।
कुपण्डोल (ललितपुर) स्थित निवास पुगेर झण्डै तीन दशकअघि पहिलोपटक भेट्दा उनको कोठामा मैले यत्रतत्र उनका हस्तलिखत नोटहरू देखेको थिएँ । ती खासमा राणाकालीन कूटनीतिक दस्ताबेजका उतार थिए । अझै सार्वजनिक नभएका राणाकालीन कूटनीतिसँग सम्बन्धित चिठीपत्र र महत्त्वपूर्ण कागजातहरू उनीसँग थिए ।
आफूसँग भएका ऐतिहासिक सामग्रीहरूलाई पुस्तकको रूप दिने जाँगर बदलाभावका अलावा नेपाली इतिहासमा केही योगदान गरौँ भन्ने दृढताको उपज पनि थियो । राणाकाल र राणा परिवारसँग सम्बन्धित हजारौँ तस्बिरहरूको असाधारण संकलन उनीसँग थियो, जो राणाकालीन इतिहास खोजीकै क्रममा उनले जुटाएका थिए।
अहिलेजस्तो डिजिटल क्यामरामा सहजै तस्बिरहरू कपी गर्न नसकिने जमानामा जंगबहादुरयताका हजारौँ तस्बिरहरू आफ्नो संकलनमा ल्याउनु चानचुने कुरा थिएन । उनी ऐतिहासिक दस्ताबेज, तस्बिरहरूको संकलक र राणाकालीन इतिहासका ज्ञाता÷लेखक मात्र थिएनन्, राणाविरोधी आन्दोलनका प्रजातान्त्रिक योद्धासमेत थिए ।
सहिदद्वय दशरथ चन्द र धर्मभक्त माथेमासँग पुरुषोत्तम शमशेर राणाको बाल्यकालीन सामीप्य थियो । बाल्यकालमा पाल्पा धपाइएसँगै उनले दशरथ चन्द र धर्मभक्त माथेमासँगको निकटता गुमाए । सहिद माथेमा रुद्र शमशेरको चारबुर्जा दरबारमा खरिदार तहका कर्मचारी थिए । उनको बसोबासको प्रबन्ध त्यहीँभित्रको एक बंगलामा गरिएको थियो ।
उनका बाजे–बुवाहरू वीर शमशेरको दरबारमा कर्मचारी थिए र चन्द्र शमशेरको उदयसँगै भारत लखेटिएका थिए । सहिद चन्द भने प्रधानसेनापति रुद्र शमशेरका हुनेवाला ज्वाइँ थिए। ‘श्री ३ हरूको तथ्यवृत्तान्त’ मा उल्लेख भएअनुसार चन्दको प्रधानसेनापति रुद्र शमशेरकी छोरी जुलियासँग प्रेम थियो ।
‘दशरथ चन्द ठकुरीसँग रुद्र शमशेरकी छोरी जुलिया राणासँग विवाह हुने पक्काझैँ भएकाले उनको बसउठ गर्ने स्थान नै रुद्र शमशेरकहाँ थियो,’ राणाले लेखेका छन्, ‘तसर्थ निज पनि धर्मभक्त माथेमासँगै चारबुर्जा दरबारको सोही बंगलामै बस्दथे ।’
परिवार नै धपिएपछि जुलिया पनि पाल्पा गइन् । पाल्पामै रहँदा क्षयरोगले जुलियाको निधन भयो। जुलियाको निधनका कारण वियोगमा परेका दशरथ चन्दले बिहेसमेत गरेनन् । ‘धर्मभक्त माथेमा कसरती हुनुको साथै खुस मिजासको पनि हुनुहुन्थ्यो, म उहाँको बाजु (पाखुरा) मा बराबर झुण्डिने रहर गर्दथेँ,’ राणाले ‘मेरा जीवनका स्मृतिहरू’ मा लेखेका छन्, ‘उहाँले बाजु, छाती, तिघ्रा र पिँडौलामा समेत ‘मसल्स’ ‘निकाल्ने र पेट ख्वाप्पै भित्र पसालेको आश्चर्य मान्दथेँ ।’
राणाका भनाइमा हजुरबुबा रुद्र शमशेर लगायत सम्पूर्ण परिवारलाई काठमाडौँबाट पदमुक्त गरेकोमा जहानियाँ शासकहरूसँग बदलाको भावना जागृत भएकै थियो, त्यसमाथि पुस्तकहरू अध्ययन गर्दै जाँदा प्रजातान्त्रिक पद्धति नै उत्कृष्ट शासन व्यवस्था हो भन्ने निष्कर्षमा उनी पुगेका थिए ।
‘त्यही बेला बाल्यकालमा हमेसा मेरो साथमा रहने धर्मभक्त माथेमा अमर सहिद भएको सूचनाले मलाई अत्यन्तै मर्माहत तुल्यायो । त्यो बलिदानीगाथाले ममा थप शक्ति प्राप्त भयो,’ अर्काे एक लेखमा राणा भन्छन्, ‘त्यसपछि प्रजातान्त्रिक पद्धतिद्वारा राणा शासन फाल्ने संघर्षमा लागेँ ।’
नेपाली कांग्रेसको बैरगनिया सम्मेलनमा पनि उनी पुगे । त्यही सम्मेलन हो, जसले राणा शासनविरुद्ध सशस्त्र संघर्ष गर्ने घोषणा गरेको थियो ।
राणा शासनविरुद्ध सशस्त्र संघर्षको तयारीका क्रममा जनचेतनाका लागि उनी स्याङ्जाका गलकोट, भीरकोट, नुवाकोट, प्युठान, बाग्लुङ र तराईतर्फ बुटवल, भैरहवा, नवलपरासी लगायतका क्षेत्र पुगेका थिए । रुद्र शमशेर मातहतको पाल्पा गौँडा अन्तर्गत भएकाले उनलाई यी क्षेत्रमा गएर गतिविधि गर्न सहज थियो ।
राणा शासनविरुद्ध संघर्ष तयारीको क्रममा बीपी आफै पनि पाल्पा पुगेका थिए । बीपीले आफ्नो ‘आत्मवृत्तान्त’ मा पाल्पाका कमान्डर इन चिफ (गभर्नर) सँग गोप्यरूपमा कुराकानी गरेर भारत फर्केको उल्लेख गरेका छन् । बीपीलाई भारतबाट पाल्पासम्म पु¥याउने काममा पुरुषोत्तम शमशेर सहभागी थिए ।
बीपी राजा त्रिभुवनलाई काठमाडौँबाट भगाएर पाल्पा पु¥याउने, क्रान्ति अवधिभर त्यहीँ बसोबासको बन्दोबस्त गर्ने विषयमा रुद्र शमशेरसँग छलफल गर्न पाल्पा पुगेका थिए । तर, हेलिकोप्टरको अभाव, काठमाडौँ आएका गणेशमान सिंहको पक्राउ आदिका कारण राजा त्रिभुवनलाई पाल्पा पु¥याएर त्यहीँबाट क्रान्ति सञ्चालन गर्ने बीपीको योजनाले मूर्तरूप पाएन ।
बरु, भारतीय बन्दोबस्तमा राजा त्रिभुवन भारतीय दूतावास हुँदै नयाँदिल्ली पुगे । राजाले भारतीय राजदूतावासमा शरण लिइदिँदा क्रान्तिमा भारतको हात माथि परेको आत्मवृत्तान्तमा उल्लेख गरेका छन् ।
पाल्पामा केही दिन गोप्य रूपमा बसेर बीपी फेरि भारत फर्के । उनलाई भारत फर्कने क्रममा पनि साथ पुरुषोत्तम शमशेरले नै दिए ।
जहाँसम्म २००७ को क्रान्तिमा उनको प्रत्यक्ष संलग्नताको प्रसङ्ग हो, उनी मुक्ति सेनाका लागि हातहतियार र रासन जुटाउने काममा संलग्न रहे । बिहार र उत्तर प्रदेशबाट हतियारका अलावा तराईका गाउँहरूबाट धान–चामल संकलन गरी मुक्ति सेनाको अग्रमोर्चामा पुगे ।
युवाकालमा पुरुषोत्तम शमशेर सिकारका शौखिन थिए
युवाकालमा पुरुषोत्तम शमशेर सिकारका शौखिन थिए
सशस्त्र संघर्षले राणा शासनलाई झुकाएपछि नयाँदिल्लीस्थित राजा त्रिभुवनको बसोबास रहेको हैदरावाद हाउसमा नयाँ सरकार निर्माणका विषयमा छलफल सुरु भयो । संयोगवश पुरुषोत्तम शमशेरले त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी हुने मौका पाए ।
‘मेरा जीवनका स्मृतिहरू’ मा राणाले त्यो बैठकको रोचक विवरण दिएका छन्। राणाका भनाइमा बैठकमा राजा त्रिभुवनले सुरुमै राणापक्षका पाँचजना मन्त्रीसहित प्रधानमन्त्री मोहन शमशेर हुने र सुधारवादी पक्ष (कांग्रेस–राजा) बाट पनि पाँचजना मन्त्री हुने जानकारी गराएका थिए ।
त्यसपछि राजाले मातृकाप्रसाद कोइरालालाई सोधे, ‘मन्त्री हुने सम्बन्धमा तिम्रो के विचार छ ?’ मातृकाले आफू मन्त्री बन्न इच्छुक नरहेको बताए। उनले भाइ बीपी कोइरालातर्फ संकेत गरे । र, यस विषयमा उनै (बीपी) सँग सोध्न राजा त्रिभुवनसँग आग्रह गरे ।
बैठकमा बीपी पनि सहभागी थिए ।
‘राजा त्रिभुवन बीपीतर्फ फर्किए, केही सोध्न भ्याएकै थिएनन्– बीपीले आफू बसेको कुर्सी नचाए र चाकमा टाँसेर उचाल्दै राजाको अगाडि घुँडा छुनेगरी बसेर चोर औँलाले आफ्नो नाकतिर देखाउँदै ‘एउटा मन्त्री म, अर्काे ‘ऊ’ भनेर सुवर्ण शमशेरलाई देखाए,’ राणाले लेखेका छन्, ‘बीपीको हाउभाउले सबै स्तब्ध भए । राजा लगायत सबै वाल्ल परे ।’
हैदरावाद हाउसमा भएको त्यति महत्त्वपूर्ण बैठकमा पुरुषोत्तम शमशेरले पहुँच पाउनुको कारण थियो– २००७ को क्रान्तिमा युद्धमोर्चा र राजा त्रिभुवनबीच उनले गरेको ‘सेतु’ को भूमिका । जस्तो कि, क्रान्तिकालमा युद्धमोर्चामा भइरहेका गतिविधिबारे राजा त्रिभुवनलाई जानकारी दिन उनी बेला–बेला हैदरावाद हाउस पुगिरहन्थे ।
भारतको मध्यस्थतामा नयाँदिल्लीमा राजा–राणा–कांग्रेसबीच सहमति सँगै क्रान्ति स्थगित भयो । राजा त्रिभुवन ४ फागुन २००७ मा नयाँदिल्लीबाट काठमाडौँ फर्के । काठमाडौँ फर्कनेहरूका लागि भारतले दुई जहाजको व्यवस्था गरेको थियो । त्यसमध्ये पहिलो जहाजमा राजा त्रिभुवन थिए । दोस्रो जहाजमा नेपाल फर्कनेहरूमा पुरुषोत्तम शमशेर र उनका पिता कर्णेल ईश्वर शमशेर राणा पनि थिए ।
प्रजातन्त्रमा पनि अन्याय
विसं २००७ मा प्रजातन्त्र आयो, त्यसमा पुरुषोत्तम शमशेर र उनको परिवारको समेत योगदान थियो । तर, प्रजातन्त्रपछि त्यसको अनुभूति उनीहरूले गर्न पाएनन् ।
२००७ को क्रान्तिपछि रुद्र शमशेर पाल्पा छाडी काठमाडौँ फर्के । छोरा–नातिहरू पनि युद्धमोर्चाबाट काठमाडौँ आइपुगे । तर, काठमाडौँमा यो परिवारको ओत लाग्ने ठाउँ थिएन । काठमाडौँबाट निकालिएपछि बसोबास गर्दै आएको पाल्पा दरबार पनि उनीहरूको आफ्नै थिएन ।
पाल्पा धपाइएपछि उनको चारबुर्जा दरबार जुद्ध शमशेरले कब्जा गरिसकेका थिए। १७ वर्षपछि काठमाडौँमा पाइला टेक्दा त्यो दरबार जुद्धपुत्र बहादुर शमशेरको निजी सम्पत्तिमा परिणत भइसकेको थियो ।
रुद्र शमशेरको चाहना भने चारबुर्जा दरबार फिर्ता गरिदिए हुन्थ्यो भन्ने थियो। राजा त्रिभुवन र नेताहरूले दरबार फिर्ताको आश्वासन दिए पनि । तर, आश्वासन अनुरूप दरबार फिर्ता भने गरेनन् । रुद्र शमशेरबाट हडपेको दरबार प्रजातन्त्र आएपछि गुम्ला भन्ने भयले होला, बहादुर शमशेरले आफ्ना नातिनी–ज्वाइँ बसुन्धरा विक्रम शाह (राजा महेन्द्रका कान्छा भाइ) लाई बेचिदिए ।
२००७ को क्रान्तिमा जिजुबुबा रुद्र शमशेरको योगदानका बाबजुद जुद्ध शमशेरले कब्जा गरेको आफ्नो दरबार प्रजातन्त्रपछि फिर्ता नगरिएकोमा पुरुषोत्तम शमशेर जीवनपर्यन्त दुखी थिए । क्रान्तिको सफलतापछि काठमाडौँमा पुरुषोत्तम शमशेरको परिवारको सुरुवाती बसाइ प्रचण्ड शमशेरको निवास (हाल प्रहरी अस्पताल) मा भयो । डेढ महिना त्यहाँ बसेपछि उनीहरू पाटनस्थित एक आफन्तको घरमा सरे ।
त्यसैबेला पुरुषोत्तम शमशेरको परिवारले राजा त्रिभुवनको निगाहबाट रघुनाथपुर (जनकपुर नजिकै) जंगलको काठ व्यापारको जिम्मा प्राप्त ग¥यो । जीवनयापनका लागि सहज होस् भनेर उनीहरूले त्रिभुवनबाट यो ‘निगाह’ प्राप्त गरेका थिए ।
पाल्पामा छँदा सिकारका क्रममा नारायणी नदी किनारमा हजुरबुबा रुद्र शमशेर (सबैभन्दा दायाँ) लगायत परिवारका साथ पुरुषोत्तम शमशेर (दायाँबाट दोस्रो)
पाल्पामा छँदा सिकारका क्रममा नारायणी नदी किनारमा हजुरबुबा रुद्र शमशेर (सबैभन्दा दायाँ) लगायत परिवारका साथ पुरुषोत्तम शमशेर (दायाँबाट दोस्रो)
तोकिएको काठ काट्ने काम सकिएपछि पुरुषोत्तम शमशेर फेरि काठमाडौँ फर्के। समस्या फेरि बस्ने ठाउँकै थियो । यसपटक उनी राणाकालमा जलेर बाँकी रहेको काका लीला शमशेरको ‘सेतो दरबार’ को बाँकी खण्डमा बसे । समयक्रममा उनले त्यो दरबारमा ‘होटल इम्पेरियल’ पनि खोले ।
नेपाल घुम्न आउने धनी पर्यटकहरूलाई मध्यनजर गर्दै खोलिएको थियो यो होटल यसबाहेक मध्यमस्तरका पर्यटकका लागि नजिकै अर्काे ‘टुरिस्ट कर्नर’ नामकोे होटल पनि खोलेका थिए ।
होटल व्यवसायको अप्ठ्याराबाट अघाएपछि उनी केही समय निर्माणसम्बन्धी ठेक्कापट्टाको काममा लागे । अन्ततः वि.सं. २०३० को दशकतिर उनले व्यावसायिक जीवनबाट विश्राम लिए र लेखनकार्यमा लागे । फलस्वरूप, २०४७ को सुरुवातमा नेपाली इतिहासलाई दुई भव्य कृतिहरू दिए– श्री ३ हरूको तथ्यवृत्तान्त (भाग १ र भाग २)।
यी पुस्तकमा राणाकालीन दर्जनौँ दुर्लभ तस्बिर छन्, रोचक विवरणहरू छन् र महत्त्वपूर्ण कुटनीतिक दस्ताबेजहरू पनि छन् । राणाले पुस्तकको भूमिकामा उल्लेख गरेअनुसार ‘श्री ३ हरूको तथ्यवृत्तान्त’ लेख्ने सकसक भने उनलाई बाल्यकालदेखि नै थियो । उनका जिजुबुबा (हजुरबुबा) रुद्र शमशेरसँग रहेका दस्ताबेजहरू पनि पुस्तक लेखनमा उत्प्रेरणा जगाउने स्रोत थिए ।
उनका भनाइमा कुनै बेनामी लेखकले तयार पारेको जंगबहादुरको युरोपयात्रा, भोटसँगको युद्ध, भारतको सिपाही विद्रोह र बाल्यावस्थादेखि मृत्युसम्मको दैनन्दिन समेटिएको पुस्तक रुद्र शमशेरसँग रहेछ । राजकाज सञ्चालनका क्रममा तत्कालीन मुन्सीखाना (हालको परराष्ट्र मन्त्रालय) बाट उतार गरी राखिएका महत्त्वपूर्ण कूटनीतिक सामग्रीहरू पनि छँदै थिए ।
यसबाहेक पुस्तकमा समेटिएका राणा शासक–शासन सम्बन्धी रोचक विवरण र तस्बिर संकलनमा उनको पारिवारिक पृष्ठभूमिले सघाउ पु¥यायो । उनी आफै राणा परिवारका सदस्य भएकाले राणा परिवारका सदस्यहरूबाट महत्त्वपूर्ण सूचना र तस्बिर प्राप्त गरे ।
श्री ३ हरूको तथ्यवृत्तान्त बाहेक जंगबहादुर राणा : हिज राइज एन्ड ग्लोरी (अंग्रेजी–२०५४), सम्झेका र सुनेका कुराहरू, भएका र गुज्रेका घटनाहरू (२०६३), राणाकालीन दरबारहरू (२०६४), लुकेछिपेका प्रतिभाहरू (२०६८), मेरा जीवनका अविस्मरणीय क्षणहरू (२०७०) र जंगबहादुर राणा र राणाकालीन दर्पण (२०८१) लगायत छन् ।
स्व. राणासँग मेरो भेटघाट पत्रकारिता जीवनको प्रारम्भकालमै भएको थियो, जुन उनको मृत्यु नहुञ्जेल जारी रह्यो । मेरा लागि उनी राणाकालीन जानकारी र तस्बिरको अजस्र स्रोत थिए । कुपण्डोलस्थित उनको निवास म र मजस्ता पत्रकार र अध्येताहरूका लागि सधैँ खुला रह्यो ।
जीवनभर दुःख र मेहनत गरेर संकलन गरेका तस्बिर र अन्य जानकारी उपलब्ध गराउन उनले कहिल्यै नाइँनास्ती गरेनन । गतसाल उनले आफूसँग रहेका सम्पूर्ण तस्बिर र दस्ताबेजहरूको प्रतिलिपि उतार्ने गरी मलाई सुम्पिए ।
ठूला आकारका तीन बाकसबाट ती सामग्री निकालेर तिनको प्रतिलिपी उतार गर्दै गर्दा ती सामग्री संकलन गर्न उनले लगाएको समय, तिनको हिफाजतका लागि उनले गरेको मेहनत मैले महसुस गरेँ ।
अहिलेजस्तो उनको जमानामा डिजिटल प्रविधिबाट धेरै ठाउँमा यस्ता महत्त्वपूर्ण सामाग्री सुरक्षित गर्ने उपाय थिएन । त्यसैले आफूलाई अत्यन्त महत्त्वपूर्ण लागेका तस्बिरहरू उनले २–३ प्रति बनाएर राखेका थिए । कतिपय तस्बिरहरू ऐतिहासिक महत्त्वका हुन्छन् । तर, त्यसको सन्दर्भ र पृष्ठभूमिको जानकारीको अभावमा ती हामीलाई महत्त्ववहीन लाग्न सक्छन् ।
पुरुषोत्तम शमशेरको संकलनमा रहेका तस्बिरहरूमा यो समस्या थिएन । प्रत्येक तस्बिरको पछिल्तिर सम्बधित व्यक्ति र सन्दर्भ लेखेका हुन्थे । हजारौँ तस्बिरबारे जानकारी संकलन र त्यसको पछिल्तिर त्यो जानकारी उल्लेख गर्न पनि पक्कै चानचुने मेहनत र समय लागेको थिएन ।
सबैलाई समान व्यवहार गर्ने उनको स्वभाव थियो। राणा परिवारमा जन्मेकाले होला, मानिसहरूसँग कुराकानी गर्दा उनी प्रायः ‘ज्यू’, ‘हजुर’ जस्ता अतिआदरार्थी शब्दहरू प्रयोग गर्थे । यो शब्दावलीको प्रयोगमा पक्षपात गर्दैनथे । युवादेखि वृद्धसम्म, उच्चदेखि सामान्य व्यक्तिसम्मको कुराकानीमा उनी ‘ज्यू’, ‘हजुर’ शब्दावली प्रयोग गर्थे, नम्र रूपमा प्रस्तुत हुन्थे ।
मेरा लागि उनीसँगको प्रत्येक भेट महत्त्वपूर्ण हुन्थ्यो । उनीसँगको प्रत्येक कुराकानी २–३ घण्टा लम्बिन्थ्यो । दुई वर्षअघि (२०७९) फागुनमा मात्रै मैले उनीसँग झण्डै एक हप्ता लगातार भेटेँ । उनको ९८ औँ जन्मदिन नजिकिँदै थियो। एकदिन उनले अनायस एउटा आग्रह गरे, ‘यसपटकको जन्मदिनमा जसरी पनि आइदिनुस् हैँ !’
उनको आग्रह स्वीकार गर्दै म त्यसवर्ष (२०७९) को जन्मदिनमा पुगेँ । उनी निकै खुसी भए । २०८० को ९९ औँ जन्मदिनमा पनि त्यसैगरी आइदिन आग्रह गरे । दुर्भाग्यवश उनको ९९ औँ जन्मदिनमा भने म काठमाडौँमा थिइनँ । काठमाडौँ फर्केपछि गत साउनमा उनीसँग भेट गरेँ । यसपटकको जन्मदिन जन्म शताब्दी हुने भएकाले ‘जसरी पनि आउँला है’ भनेँ । तर, जन्म शताब्दी मनाउनुअघि नै उनले संसार त्यागे ।
यसपटक चैत्र लागेदेखि नै ‘१५ (चैत्र) गते पुरुषोत्तम शमशेरको जन्मदिन हो’ भन्ने सम्झना आउन थाल्यो । सँगसँगै स्मृतिपटमा उनको यो वाक्य सदैव गुञ्जिरहने छ, ‘अर्काे सालको जन्मदिनमा पनि आइदिनोस् है !’