© 2026
वसन्त ऋतु उत्पादक, उर्वर, ऊर्जाशील नवीन कार्यको शुभारम्भ हुने समय हो । बोटबिरुवामा कोपिला लाग्दछ ।
चराचुरुंगीहरूले फूल पार्ने र बच्चा कोरल्ने गर्दछन् । हिउँदमा खुम्चिएका जीव जनावर पनि फुर्तिला हुन्छन् । प्रकृति र मानव जगतमा चहलपहल बढ्छ । यस प्रकारको गतिशील समयको द्योतक वसन्तपञ्चमी हो । वसन्तपञ्चमी अर्थात् जनबोलीमा रहेको श्रीपञ्चमी यस वर्ष माघ ९ गते परेको छ । वसन्तपञ्चमी कठ्यांग्रिदो जाडो समयको अन्त्यसँगै बसन्तऋतुको सुरू हुने दिन हो । वसन्त ऋतुलाई ऋतुहरूमध्ये सर्बश्रेष्ठ ऋतु मानिन्छ ।
हिन्दु पात्रो अनुसार माघ शुक्ल पञ्चमीका दिन बसन्त पञ्चमी पर्छ । यस दिन विद्याकी देवी सरस्वतीको प्रार्थना र पूजाआजा गर्ने चलन छ । सेतो तथा पहेंलो वस्त्र धारण गरेकी हातमा विणा र पुस्तक लिएकी देवी सरस्वतीलाई मन पर्ने सेतो तथा पहेंलो वस्त्र लगाएर मानिसहरूले देवी पूजाप्रार्थना साथ बाजागाजा सहित नाचगान गर्दछन् ।
त्यसैगरी यसै दिनदेखि नयाँ कार्यको सुरूवात, विवाह, घर वास्तु पूजार आजकल विद्यालयहरूमा अक्षराम्भ कार्यहरू समेत सञ्चालन भैरहेका छन् । वास्तवमा वसन्तको अर्थ उत्पादन भन्ने बुझिने भएकोले यस दिनबाट थालिएका कामहरू सफलतापूर्वक अगाडि बढ्ने विश्वास गरिन्छ । तसर्थ हरेक मानिसहरूले आफ्नो पेशा ब्यवसायमा केही नयाँपन थप्नका लागि यो दिन उत्तम मानिन्छ ।
धार्मिक शास्त्रहरूमा वसन्त पञ्चमीका बारेमा विविध प्रसंगहरू पाइन्छन् । वेदाङ्ग ज्योतिषकालमा वैदिक तिथि अनुसार वसन्त ऋतु मधु (चैत्रमास) मासमा मनाइन्थ्यो । यसमा विष्णु, कामदेव र रतिलाई पूजागरिन्थ्यो । यही मधुमासको पञ्चमी तिथिका दिन यो पर्व मनाइन्थ्यो ।
पृथ्वीमा जलकण छिटिन्थ्यो र बृक्षहरू विचबाट नयाँशक्ति पैदा हुन्थ्यो । नयाँ सृष्टि कार्यको थालनी हुन्थ्यो भनिन्छ । पछि माघ महिनाको निरयण चन्द्रयाण पञ्चाङ्ग अनुसार माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउन थालियो । यसैलाई वसन्त पञ्चमी वा श्रीपञ्चमी भन्ने गरिन्छ ।
त्यसैगरी अर्को मिथक अनुसार एकपटक ऋतुहरूका राजा अतुराज वसन्तलाई अन्य पाँच ऋतु जम्मा भएर सम्मान गर्ने क्रममा सबै ऋतुले आ–आफ्ना ८–८ दिन वसन्त ऋतुलाई समर्पण गरेछन् । यसले गर्दा ती ४० दिन थप हराभरा भएर आनन्दमय बनेछन् ।
त्यसपछि यही माघ शुक्ल पञ्चमीलाई नै वसन्तपञ्चमीका रूपमा मनाउन सुरू गरियो । अर्को कथन अनुसार जब ब्रह्माले पृथ्वीमा विभिन्न पदार्थहरू जस्तै ताल, वन, पहाड, समथर भूभाग आदि अत्यन्त सुन्दर वस्तुहरू निर्माण गर्नुभयो । एकप्रकारको कमी महसु गर्नुभएछ ।
आफ्नो कमण्डलुबाट पृथ्वीमा जल छिट्नुभएछ । त्यसपछि त्यहाँ देवी सरस्वती पैदा हुनुभयो । श्वेत वस्त्र धारण, गोरो वर्ण, मुस्कुराइरहेकी, सर्बोत्तम रत्नले निर्मित आभूषणले सजिएकी, पहिलो हातमा विणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिक माला र चौथो हात अभमुद्रामा देवी सरस्वती देखिनुहुन्छ । सरस्वतीको विणाबाट अत्यन्त मीठो संगीत बज्नासाथ पृथ्वीभर झरना, नदी, पशुपंक्षी सबैबाट मीठो आवाजहरू निस्कन थाले ।
अर्थात् हामी जुन सुमधुर आवाजबाट जीवनको सुखद अनुभूति गर्दछौं त्यो सबै देवी सरस्वतीबाट प्राप्त भएको हो । भनिन्छ भगवान कृष्णले पनि आजकै दिन देवी सरस्वतीसँग ज्ञान प्राप्त गर्नुभएको हो । अर्थात् देवताहरूलाई पनि ज्ञान प्रदान गर्ने देवी सरस्वती ज्ञानको खानी हुनुहुन्छ ।
सरस्वतीको स्वरूप र साथमा रहेका वस्तुले मधुर धुन, ज्ञान र निर्मल चरित्रको संकेत गर्दछन् भने वाहनको रूपमा मयुर पनि सुन्दरता र मधुर ध्वनिका लागि प्रख्यात छ । प्रायः सबै धार्मिक स्थलमा देवी सरस्वतीको छुट्टै मन्दिर बनाइएको हुन्छ ।
काठमाडौको हनुमान ढोकामा होस् या पाल्पा भगवती मन्दिर परिसर वा रिडीजस्तो धार्मिक तीर्थस्थल सबै शक्तिपीठ र धार्मिकस्थलमा देवी सरस्वतीको अलग्गै मन्दिर स्थापना गरिएको आधारमा सरस्वतीको महिमा पुष्टि हुन्छ ।
उहाँको भक्ति प्रार्थना गर्नाले मानिसहरूलाई पनि सद्गुण, सिर्जनशीलता, ज्ञान, विवेक प्राप्त हुने निश्चित छ । तसर्थ सरस्वती पूजाकेवल शिक्षक विद्यार्थीहरूले मात्र नभै हरेक पेशा, ब्यवसाय र सर्बसाधारणले सामाजिक पर्वका रूपमा मनाउनु श्रेयस्कर हुन्छ ।
वसन्त पञ्चमी मनाउने तरिकाका सम्बन्धमा धेरै सामिप्यता पाइन्छ । शिक्षक विद्यार्थीहरूले आफूले पढ्ने पढाउने पुस्तक, कपी वा कलम, कम्प्युटर वा अन्य कुनैपनि सामग्री देवी सरस्वतीको चरणमा राखी पूजागर्नुपर्छ । यी औजारहरूको सहायताले ज्ञान आर्जन गरिने भएकाले देवी सरस्वतीका प्रीय वस्तु हुन् । उहाँको एउटा हातमा किताब हुन्छ । अर्थात् पुस्तक ज्ञानको घर हो । ज्ञानको संकेतक हो ।
वास्तवमा हिन्दु संस्कारमा औजारहरूलाई महत्त्व दिएको पाइन्छ । लक्ष्मी पुजाका दिन समेत नयाँ भाँडो किन्ने चलन छ । नवीन सिर्जनाका प्रतीक कर्मवीर विश्वकर्माको पूजागरिन्छ । त्यसदिन सवारी साधनलाई विशेष तरिकाले सजाएर पूजागरेर विश्राम गरिन्छ ।
सरस्वती पुजाका दिनपनि शिक्षण सँस्थाहरूमा पठनपाठन बन्द गरिन्छ । देवी सरस्वती निर्मल सेतो र पहेंलो वस्त्रमा सजिएकी हुने भएकोले पहेंला फूल, पहेंलो लड्डु चढाई देवीको प्रार्थना गर्ने गरिन्छ । आजकै दिन काठमाडौ हनुमान ढोकामा राष्ट्रप्रमुख सहित विशिष्ट ब्यक्तित्वहरूबाट बसन्त श्रवण गरिन्छ । देशभरका सरस्वती मन्दिरमा पनि बसन्त श्रवण कार्यक्रम राखिएको हुन्छ । रेडियो टेलिभिजन र पत्रपत्रिकाबाट पनि सरस्वती पूजार बसन्त पञ्चमीको महत्वबारे बताइन्छ ।
वसन्त ऋतु, सरस्वतीको महिमा भजन संगीत र रेकर्डहरू बजाइन्छ । नुहाइ धुवाइ गरेका, सफा कपडा लगाएका, पूजासामग्री बोकेका स– साना बालबालिका सहित विद्यार्थीहरू देवीको पूजाआजाका लागि विद्यालय र मन्दिर पुगेका हुन्छन् । वसन्तपञ्चमी अर्थात् श्रीपञ्चमी विभिन्न धार्मिक सम्प्रदायमा विभिन्न स्वरूपमा मान्ने चलन छ । हिन्दुहरूले देवी सरस्वतीका रूपमा पुज्ने गर्दछन् ।
बौद्ध धर्मावलम्बीहरूले वसन्तपञ्चमीमा मञ्जुश्रीको श्रीमतिका रूपमा सरस्वतीलाई आदर गर्छन् । बौद्ध दर्शनमा ज्ञानको महत्त्व धेरै छ । प्रज्ञा र बोधिसत्वबाट मोक्षको मार्गमा जाने विचारसँग तालमेल राख्दै सरस्वतीलाई पुजिन्छ । हिन्दु र बौद्ध दुवै धर्मावलम्बीहरूले श्रीपञ्चमीलाई ज्ञान, सृष्टि र सिर्जनाको प्रतीकका रूपमा मनाउँछन् ।
मुस्लिम धर्मावलम्बीहरूमध्ये सुफी परम्परा मान्नेहरूले बसन्तपञ्चमीलाई वसन्त र एकताको पर्वका रूपमा विशेषगरी निजामुद्दीन जर्गामा मनाउँछन् भने अन्य मुस्लिम समुदायले यस पर्वलाई मनाउँदैनन् । नेपालका पनि हिन्दु र बौद्धमार्गीहरूले सरस्वतीको पूजागर्दछन् । विद्यालय र सरस्वतीका मन्दिरहरूमा पुजाआजा गरिन्छ भने मानिसहरूका घरघरमा पाहुना आउने जाने, मीठा परीकार खाने, रमाउने गर्दछन् ।
मगर समुदायमा श्रीपञ्चमी विशेष पर्वका रूपमा मनाइन्छ । मानिसलाई मुख्यगरी विद्या, धन र शक्तिको आवश्यकता पर्दछ । हिन्दु परम्परा अनुसार हामीले धनकी देवीलक्ष्मी, शक्तिकी देवीदुर्गा र विद्याकी देवी सरस्वतीको विशेष पूजागर्दछौं । विद्या, ज्ञान र सिप, कला, संगीत, साहित्यले मानिसको जीवनलाई सहज, सरल, सार्थक र संयमित बनाउँछ । सुन्दर र आनन्दित बनाउँछ ।
परिश्रम र मेहनतले सफलतातिर लैजान्छ । विद्या विनाको धन र शक्तिले जीवन सुःखी हुदैन । विद्या आर्जन गरेको ब्यक्ति गुणी हुन्छ । विद्या यस्तो सम्पत्तिहो जुन कसैले चोर्न सक्दैन, राज्यले पनि अपहरण गर्न सक्दैन, भाई अंश लगाउनु पनि पर्दैन, बोक्न भारी पनि हुदैन र जति बाँडे पनि सकिदैन ।
तसर्थ यस प्रकारको वैयक्तिक सम्पत्ति अर्थात् विद्या प्रदान गर्ने माता सरस्वतीलाई प्रार्थना गर्ने मन्त्र हो “सरस्वती नमस्तुभ्यम् बारदे कामरुपिणी विद्यारम्भम् करिष्यमी । सुधिर भवतु मे सदा ।” अर्थात् हे विद्यादाता माता सरस्वती, मैले अध्ययन सुरू गरें । मलाई सँधै सफलताको आशिर्वाद दिनुहोस् । यस प्रकारको मन्त्र उच्चारण गरी प्रार्थना गर्नाले देवी सरस्वतीको कृपा रहिरहने विश्वास छ ।
तसर्थ सरस्वती पूजाअर्थात् वसन्तपञ्चमी मनाउनु, वसन्त श्रवण गर्नु र सरस्वतीको पूजार प्रार्थना गर्नाले ज्ञान, विद्या, कला, संगीत र कुनैपनि सिर्जनात्मक कार्यमा सफलता मिल्ने विश्वास गरिन्छ । यसैको निरन्तरता स्वरूप आज नेपाल, भारत र विश्वभरका हिन्दु एवम् बौद्ध धर्मावलम्बीहरूले वसन्तपञ्चमी मनाइरहेका छन् ।