© २०२३
काठमाडौं-विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको नयाँ केन्द्रीय समितिसँग समझदारी गर्न शेरबहादुर देउवापक्षीय नेताहरू लचक बनेका छन् । २१ फागुनको निर्वाचनमा मिलेर होमिनुपर्ने उनीहरूको भनाइ छ ।
शेरबहादुर देउवापक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीबाट विद्राेह नगर्ने घोषणा गरेका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत उनले नयाँ पार्टी खोल्ने अथवा स्वतन्त्र उम्मेदवारी दिने हल्ला खारेज गरेका छन् ।
यद्यपि कांग्रेसको विवाद अदालत पुगिसकेकोले अब अदालतको निर्णय मानेर जाने उनको भनाइ छ । खड्काले भनेका छन्, ‘निर्वाचन आयाेगकाे निर्णयका विरुद्धमा पार्टीको आधिकारिकताकाे वैधानिक दाबी र कानुनी उपचारकाे लागि न्याय पाउने विश्वासका साथ आज हामी सर्वोच्च अदालत गएका हाैँ । अदालतकाे निर्णय हामीलाई स्वीकार्य र मान्य हुनेछ । रुख चुनाव चिह्नबाहेक अन्यथा साेच्न र कल्पना पनि गर्न म सक्दिनँ ।’
याँ पार्टी खोल्ने अथवा स्वतन्त्र उम्मेदवारी दिने हल्ला खारेज गर्दै उनले भनेका छन्, ‘नयाँ पार्टी खाेल्छन्, स्वतन्त्र उमेदवारकाे रूपमा उठ्छन् जस्ता बजारमा आएका गलत हल्लाहरूकाे पछि नलाग्न पार्टीका सबै साथीहरू, शुभेच्छुकहरू र हाम्रा आम मतदाताहरूमा हार्दिक अनुराेध र अपिल गर्दछु ।’
यसैगरी देउवापक्षका अर्का प्रभावशाली नेता मीन विश्वकर्माले पार्टीमा ऐतिहासिक एकताको अपिल गरेका छन् । उनले चुनावका लागि आधा टिकटमा शेरबहादुर देउवाले हस्ताक्षर गरेको र अब आधा टिकटमा गगन थापाले हस्ताक्षर गर्नेगरी सहमतिमा आउन नेताहरूलाई अपिल गरेका हुन् ।
‘हिजो उम्मेदवारको टिकटमा कसको हस्ताक्षर हुने भन्ने विवाद थियो । आधामा देउवाले गर्नुभयो । बाँकीमा अब गगनले गर्नुहुन्छ । सबैको सहमतिमा उम्मेदवार चयन गरौँ’, विश्वकर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेदवारको पक्षमा भोट माग्ने वातावरण बनाऔँ । यसका लागि देउवा, गगन, पूर्णवहादुर, शेखर एकठाउँमा अहिलै बस्नुस् । घेराबन्दीबाट बाहिर आउनुहोस् र निर्णय गर्नुहोस् ।’ निर्वाचन आयोगले गगनपक्षलाई मान्यता दिएपछि देउवापक्ष अदालत पुगेको छ ।