© २०२३
महाप्रजापति रूमनदेई (गौतमी)
(कुटागारशाला बैशाली, गोधुली लागेको साँझ) तथागत । महाप्रजापति हजुरलाई भेटन कपिलबस्तुबाट यहाँ आईपुगेका छन् । उहाँसंग कपिलबस्तुका पाँचसय महिलाहरू पनि संगै आएका छन् । उहाँहरू झण्डै अढाई सय माईल खाली खुट्टा हिडेरै आएका हुन् । के गरौं प्रभो ?
“आनन्दको सोधाईमा तथागत वुद्ध आश्चर्यचकित भए अनि गन्धकुटिबाट बाहिरिए । बाहिर पाँचसय स्वैत वस्त्र धारण गरेका स्त्रीहरूको भीड अगि महाप्रजापति गौतमी हात जोडेर वन्दना भावमा बसेका थिए ।
निरन्तर हिडाईको थकानले सबै ओईलाएको भान हुन्थ्यो । दरवारको सुखसयलमा अभ्यस्त नाङ्गो खुट्टाहरू त्यति लामो हिडाईले रक्ताम्य थियो । महाप्रजापतिसंगै थकित मुद्रामै यशोधरा कच्चानी पनि उदास मुद्रामा थिए । तथागत वुद्धले सबैलाई आग्रहभावमा बस्न ईसारा गरे ।
सबै बसिसकेपछि महाप्रजापति तिर मुखातिव हुँदै तथागतले सोधे “माता यसरी दुःख कष्ट गरि यहाँ आउनुको कारण के होला ? “अनावृष्टिले गर्दा रोहणी नदिको धार सुक्दै गए । भएको फिलफिले धारमा पनि पानीको अधिकारको लागि कोलिय राज्य र कपिलवस्तु गणराज्य बीच लडाईको स्थिति बन्यो । प्रायस शाक्यकुलका राजकुमारहरू सद्धर्ममा लागेर यतै आईसकेका छन् ।
तिम्रो पिता शुद्धोधन पनि हाम्रो माझ नरहेको स्थित हो । हामी अवला स्त्रीहरू मात्र दरवारमा बाँकी थियौ । तसर्थ अब हामीले के कसो गर्ने सोच बिचार गरेपछि हामी पनि सद्धर्ममा दिक्षित हुने कुरामा एकमत भई दरवारीया परिधान परित्याग गरि केशमुण्डन गरि, स्वैत वस्त्र धारण गरेर गाउँगाउँमा भिक्षाटन गर्दै खाली खुट्टा कपिलवस्तुबाट बैशालीको यो कुटागारशालासम्म हिडेरै आएका छौं ।
तथागत, हामीलाई आफ्नो संघमा शरण दिन प–यो । हामीलाई भिक्षुनी बनाउनु प–यो । महाप्रजापतिको आग्रह सुनेर तथागत अवाक्क भए र आनन्दलाई भने “थाकेर आएका हाम्रा पाहुनाहरूलाई नुहाई धुवाई गर्न दिएर औषधोपचार गरि उपलव्ध भोजन गराई बिश्राम गर्न दिनु । बाँकी भोलि छलफल गरौंला ।
“महाप्रजापति माँ तथागत वुद्ध हजुरहरूलाई संघमा भित्रयाउन मान्नु भएन । “आनन्दले बडो दुःखका साथ अनकनाउँदै भने ।
महाप्रजापति छाँगाबाट खसेको झै भए । त्यत्रो जमातलाई कपिलवस्तुबाट बैशालीसम्म संघमा प्रवेश सजिलै होला भन्ने सोचेर दुःख गरि हिडाएर ल्याएको त फगत हुने भयो । यो निर्णय त सपना हो कि विपना हो जस्तो भयो । उ आफ्नै अतितमा बरालिन पुगे । मनमस्तिष्कमा पुराना कुराहरू चलचित्र चल्न थाले ।
(देवदहको कौलिय राजमहल, समय: प्रातःकाल)
“रूपेनदेई ओ रूपनदेही ! छिटो गर त । महामाया (लुम्विनी) को राजकुमार भयो रे ! प्रसब बेदनामा बढि रक्तस्राव भएर उतै कपिलवस्तुमा फर्कायो रे । भन्जा हेर्न जाने हो भने चाँडो तयार हुनु । “पिता अन्जनले आवाज लगायो ।
चाँडचाँडो तयार भई आमा सुलक्षणा, काकाहरू सुप्पवुद्ध र दण्डपाणी लगायत सपरिवार लस्करै कपिलवस्तु तिर बग्गिमा हुँईकिएको थियौ हामी । कपिलवस्तु पुगेपछि हत्त न पत्त महारानी महामाया (लुम्विनी) को कक्षमै हुँकिएरै पुगेका थियौ सबै ।
नवजात राजकुमार सुकिती (गौतम) च्यापेर पल्टेका दिदी माहामायाको मुहार मलिन थियो । रक्तस्राबले गर्दा पहेलिएका मुहारमा हामी पुगेपछि हल्का मुस्कान छाएको थियो । तथापि कमजोरीले गर्दा राम्रोसंग बोल्ने स्थितीमा थिएन । राजबैद्यहरू जडिबुटिको घोल पिलाउँदै थिए ।
महाराज सुदोधन चिन्तामग्न थिए । सातौं दिन अकस्मात दिदीले मलाई आफ्नो कक्षमा बोलाईन । र, लगभग बेहोसीको अवस्थामा मलाई भने “रूपन अब मेरो केही भर भएन । यदि म मरे भने सुकिती (गौतम) लाई तिमीले पाल्ने मलाई वचन देउ । “ म त असमन्जस (अचम्मित) भएँ ।
सोचविचार गर्ने समय थिएन । हुन्छ भन्नुको बिकल्प थिएन । मैले हुन्छ भन्दिएँ । मेरै आँखा अगाडि दिदीले देह त्याग गरे । म बचनमा बाँडीसकेको थिएँ । मैले सुकिती (गौतम) पाल्ने वचन निभाउन राजा सुदोधनसंग विवाह गर्न पर्ने भयो ।
पिता अन्जन र माता सुलक्षणा पनि असंमजसमा परे । तथापि पछि पारिवारिक सरसल्लाह मै हाम्रो विवाह भयो । अनि म महाप्रजापति गौतमी (गौतमको माता) भएँ । दैवै संयोगले वुद्ध जन्मेकै वैशाख पूर्णिमाको दिन कोलिय राजदरवारमा दाजु दण्डपाणीको पनि अति सौन्दर्यवती छोरी यशोधरा (कच्चना) को जन्म भएको थियो । विवाहको केही वर्ष मै मेरो कोखबाट राजकुमारी रूपनन्दा र राजकुमार नन्द दुई सन्तान भए ।
सबै बच्चाहरू हुर्कदै किसोरवयमा पुगे । सुकिती (गौतम) शास्त्रार्थमा निपुण भएकोले सिद्धार्थको नामले विख्यात भए । अठार वर्षको उमेरमा पुग्दा कोलिय राज्यमा यशोधराको स्वयम्वर हुने भयो । विभिन्न राज्यबाट आएका राजकुमारहरू मध्ये यशोधराले सुकिती (गौतम) लाई नै मन पराए ।
तर, त्यतिबेलाको चलन अनुरूप धनुर्विद्या प्रतियोगिता जसले जित्छ उसैसँग विवाह हुने सर्त राखियो । कडा प्रतिस्पर्धा बीच अन्तमा गौतमले प्रतियोगिता जिते । सिद्धार्थ गौतमको जन्म समयमै अतीत मुनीले यो बालक कि त चक्रवर्ति सम्राट हुन्छ कि सन्यासी हुन्छ भन्ने भविष्यवाणी थाहा पाएरै पनि पिता दण्डपाणीले कुनै विरोध गरेनन् । र सुकिती गौतमको यशोधरा (कच्चना) संग धुमधाम विवाह सम्पन्न भयो ।
सुकिती गौतम र यशोधरा कच्चनाको विवाह भएको दशौ वर्षसम्मपनि सन्तान नभएर हामी निकै नै चिन्तित थियौं । बल्ल बल्ल यशोधरा कच्चना गर्भवती भएकी थिईन । जुन दिन यशोधराले राहुललाई जन्म दिएका थिए, त्यहि दिन शाक्य गणराज्यको कोलिय गणराज्यसंग रोहणी नदीको पानी बाँडफाडलाई लिएर युद्ध गर्ने विषयमा महासभा हुंदैथ्यो । प्रायसः सबै शाक्य गणहरू युद्ध गर्नुपर्छ भन्ने पक्षमा थिए ।
सुकिती (गौतम) चाहिँ युद्ध गर्नु हुन्न भन्ने पक्षमा थिए । आफ्नो शाक्य कूल र मावलि/ससुराली बीच युद्ध नहोस् भन्ने उनको चाहना थियो । समस्या सम्बादबाट सुल्झाउनु पर्छ भन्नेमा पक्षमा उ थिए । सभाले युद्ध गर्ने निर्णय लियो । सुकिती (गौतम) त्यसको बिरोधमा अडे । सभाले सुकिती (गौतम) लाई देश निकाला वा मृत्युदण्ड भोग्ने सजाँय सुनायो । यो कुरा महाराजले मलाई सुनाईबक्सेको थियो ।
त्यहि रात दरवार छोड्नु अगाडि सुकिती गौतम आफ्नो बच्चालाई अन्तिम पटक हेर्न यशोधरा राखिएको कोठामा पुगे । यशोधराले बच्चाको मुहार ढाकेर आफू पनि निदाएको बहाना पारी बसे । सायद उनले पनि सभामा भएको निर्णय थाहा पाईसकेकी थिई ।
गणसभामा गरेको बाचा अनुसार राहुल जन्मेकै रात सुकिती (गौतम) ले सुटुक्क देश छोडेर हिंडे । कपिलवस्तु छोडेर गएको छैठौ वर्षमा सुकिती (गौतम) ले वोधिज्ञान प्राप्त गरे भन्ने सूचना आयो । अब उसलाई सबैले ‘वुद्ध’ सम्बोधन गर्छ भन्ने कुरा पनि फैलियो ।
र, हामीले उनलाई कपिलवस्तु आउन निम्ता पनि पठायौं । तर, वुद्ध कपिलवस्तु फर्कन त्यति उत्साहित भएन । बाह्र वर्षमा खोला पनि फर्कन्छ भन्छन् । वुद्ध पनि कपिलवस्तु आउने खवर आयो । आएर कपिलवस्तुमा बस्न नेग्राधग्राममा अस्थायी बासस्थल बनाईयो ।
वुद्ध आफूसंगै पाँच हजार भिक्षु लिएर कपिलवस्तु आईपुगे । कपिलवस्तुमा उनको भव्य स्वागत भयो । आएको भोलीपल्ट वुद्ध र उनका भिक्षुहरू कपिलवस्तु भरी भिक्षा माग्दै हिडे । यो कुरा महाराज सुदोधनलाई मन परेन । उनले दरवार मै भोजन गर्न आमन्त्रण गरे ।
भोजनमा आएका तथागत वुद्धलाई मैले आफ्नै हातले बुनेको दूसाका (पछ्यौरी/शल) दान दिन खोजें तर वुद्धले लिन मानेन । तथागतले दूसाका संघलाई दान दिन भने । धेरै जिद्धि गर्दा पनि नमानेपछि मैले संघलाई नै दान दिनु प–यो । भोजनपछि नियमानुसार पुरूषहरूलाई मात्र धर्म देशना दिन थालेँ । मैले यसको विरोध गरे । धर्मदेशनामा महिलाहरूलाई समेत सम्मिलित गराउन आग्रह गरे । यो कुराको सुनवाई भयो ।
तथागतले आफ्नो स्वागत अनि उपदेश दिनेक्रममा पनि यशोधराको उपस्थिती नदेखेपछि उसको सन्चोबिसन्चो सोधे । उनी रिसाएर तथागतलाई भेटन नआएको भन्ने थाहा पाए । तथागत आफै यशोधरालाई भेटन उनको कक्षमा गए ।
ठुस्केर बसेका यशोधरालाई आफू सम्पूर्ण मानवजातीको कल्याण गर्न सद्धर्म प्रचार गर्दै हिडेको सविस्तार सुनाए । भोजन पश्चात् राजदरवारबाट निग्रोधग्राम फर्कदै गरेको तथागतलाई देखाउँदै यशोधराले छोरा रावललाई गएर प्रदिप्तमान उज्यालो नरहरूमा सिंह (नरसिंहगाथा) जस्तो आफ्नो बुबालाई भेटेर आफ्नो अंश माग्न पठाए ।
वुद्धले आफूसंग भिक्षापात्र सिवाय केही सम्पती नभएको भन्दै त्यहि भिक्षापात्र दिएर संघमा सम्मिलित गराउन सक्ने सुनाए । र, छोरा रावललोई भिक्षुसंघमा सम्मिलित गरे । नावालक बच्चालाई संधमा सम्मिलित गरेको सुनेपछि साह्रै आहत भएका सुदोधनले अभिभावकको स्वीकृति वेगर नावालकलाई संघमा सम्मिलित नगराउन अनुरोध गरे । तथागतले यसलाई सहर्ष स्विकारे ।
यहि मेसोमा आनन्द, नन्द, देवदत्त आदि सयौं शाक्य राजकुमारहरूले पनि संघमा प्रवेस गरे । “नआत्तिवक्स्योस् महाराज ! वुद्ध उताबाट हिडिसकेको छ रे । आज नै आईपुग्ने खवर छ । मैले महाराज सुदोधनलाई ढाडस दिदैं थिएँ ।
नभन्दै वुद्ध आईपुग्छन् र, महाराजको मुहार निभ्न लागेको बत्ती झै प्रदिप्त हुन पुगे । तथागतले विपश्यना ध्यान गर्ने विधि सिकाएर महाराजलाई अन्तिम क्षणमा मन र चिन्ताबाट मुक्त गराए । अन्तिम घडिमा आफ्नो पुत्रको साथ र सहयोगले मृत्युवरण गर्न सजिलो भयो ।
सुद्धोधनको देहावसानपछि उनको अन्तिम संस्कार रोहणी नदीको किनारमा विशाल चिता बनाएर सारा शाक्यगणको उपस्थितीमा भयो । त्यतिनै बेला मेरो मनमा मानिसको नश्वर शरीर र यसको अनित्यताले म बिरक्तिएको थिएँ । तथागत कपिलवस्तुको नेग्राधग्राम फर्के ।
केही दिनको बसाई पछि तथागत बैशाली फर्कने कुरा आयो । म र यशोधरा तथागत बस्नु भएको नेग्रोधग्राममा भेट्न पुगे । त्यहिबेला हामीलाई पनि सद्धर्ममा लाग्न संघमा भिक्षुणी बनाउन अनुरोध गरें । तर तथागत मान्नु भएन । अझै समय आएको छैन । मात्र भन्नुभो ।
“माँ प्रजापति हजुर कता हराईबक्स्यो ?“ आनन्दले झकझकाए ।
हँ, प्रजापति गौतमी विगतबाट आगतमा आईपुगे ।
“पाँचसय स्त्रीहरूले सद्धर्म मै लाग्ने भनेर त्यति लामो बाटो त्यत्रो दुःख गरेर यहाँ सम्म आएका हौं हामी । “बिषात मुद्रामा प्रजापतिले रून्चे स्वरमा भने । “हामीलाई संघमा भित्र्याउन नहुने/नसक्ने कारण के हो भन्नु प–यो नि । “हतास मनले सोधे । “म यसको जवाफ लिएर आउँछु माता“ भन्दै आनन्द त्यहाँबाट लागे ।
(कुटागारशाला विश्रामस्थल, प्रातःकाल)
“अहँ तथागत अझैपनि मान्नु भएन । जङ्गलमा बसेर ध्यान गर्न अनि गाउँगाउँ बिचरण गरेर भिक्षाटन गरि बाँच्नुपर्ने भिक्षुहरूको विनय (नियम) स्त्रीहरूले कसरी पालन गर्न सक्ला भन्ने तथागतको चिन्ता हो ।
त्यसमा पनि सद्धर्म प्रचार गर्न देशदेशावर हिडनु पर्दा सुरक्षा पो कसरी होला भन्ने तथागतको सरोकार हो । भिक्षु र भिक्षुणीहरू संगै बस्दा मायामोह र तृष्णा बढने संभावनालाई कसरी रोक्न सकिएला भन्ने कुरा पनि बिचार योग्य समस्या हो । यहि सबै कारणले हजुरहरूलाई संघमा भित्राउन तथागतले मान्नु भएन, आनन्दले सविस्तार भने ।
प्रजापति गौतमीले आहतभावमा सोधे – “पहिलेका वुद्धहरूले स्त्रीहरूलाई कसरी व्यवहार गरेका थिए त ? महिलाहरूले स्वतापन्न, सप्तागामी, अनागामी अनि अर्हत हुने क्षमता बोकेका छन् कि छैनन् ? त्यो त मलाई थाहा भएन माता । म तथागत वुद्धसंग सोधेर जवाफ ल्याउँछु ।
आनन्दले विनम्रतासाथ जवाफ दिए– “सकेसम्म हजुरहरूलाई संघमा सहभागी गराउने मेरो पनि अभिलाषा हो ।“ भन्दै उ त्यहाँबाट हिंडे ।
(कुटागारशाला प्रवेशद्वार, प्रातः काल)
आज सबै महिलाहरूले आजबाट आमरण अनसन सुरू गर्ने सल्लाह गरेर कुटागारशालाको प्रवेशद्वारमा जम्मा भएका थिए । प्रायसः भावविह्वल भएर रूने कराउने गरिरहेका थिए । यतिकैमा आनन्द प्रवेशद्वारबाट बाहिर आई सबैको ध्यान आफूतर्फ आकर्षित गर्दै घोषणा गर्न थाले ।
“प्रजापति माँ ! खुसीको कुरा यहाँले राखेका प्रश्नको जवाफमा स्त्रीहरू पनि स्वतापन्न, सप्तागामी, अनागामी अनि अर्हत हुन सक्षम छ र पूर्व वुद्धहरूले पनि स्त्रीहरूलाई समाजका चार खम्वा मध्ये एक खम्वा हो भन्ने भनाई राख्नु भो । र यहाँहरूलाई संघमा भित्र्याउन तयार हुनु भो । तर …फेरि के तर नि ? प्रजापतिले झोक्किएर क्रन्दन मिश्रित प्रश्न गरे ।
“स्त्रीहरू संघमा आएपछि भिक्षुहरूले भन्दा आठ गरू धम्म (विशेष नियम) हरू पालन गर्नुपर्ने छ । आनन्दले मन्दमुस्कान सहित आफ्नो कुरा राखे ।
के नियमहरू हुन् ती ? प्रजापतिले पुनप्रश्न गरे ।
भिक्षु आनन्दले गरूधम्म सविस्तार भने– सय वर्षको भिक्षुणी भएतापनि उपसम्पन्न पाएका एक दिनको भिक्षुलाई समेत आदरपूर्वक अभिवादन गर्नुपर्नेछ ।
– भिक्षुहरू नभएको ठाउँमा वर्षावास गर्न पाईन्न ।
– हरेक पन्घ्र दिनमा भिक्षुणीहरूले भिक्षुसंघमा परयसन गर्नुपर्नेछ ।
– वर्षावास पछि दुबै संघमा देखेको, सुनेको अनि परिसँकेत भएको ठाउँमा नजाने ।
– गम्भीर अपराध गरेका भिक्षुणीहरूले एक हप्ताको मानक अनुशासन लिनुपर्ने ।
– दुई वर्षे छ कर्मको शिक्षा लिएका श्रामणेर भिक्षुणीहरूले उपसम्पदाका लागि दुबै संघमा गएर उपसम्पदाका लागि अनुमती लिनुपर्ने ।
– भिक्षुणीहरूले भिक्षुहरूलाई गालीगलौज गर्न नपाईने ।
– भिक्षुणीहरूले भिक्षुहरूको विरोधमा केही बोल्न नपाईने तर भिक्षुहरूले पाउने ।
यस्तो पनि नियम लाउने हामीलाई । प्रजापतिले अविश्वास भावमा विरोध गर्न खोजे । “प्रजापति माँ ! अहिलेलाई यति मान्नुस र संघमा भित्रिनुस् । अहिलेको कालमा यो अलिक कठोर भएपनि कालन्तारमा यसमा परिवर्तन भईहाल्छ ।
अहिलेको युगमा महिलाहरूलाई संघमा प्रवेश गराउनु नै युगान्तकारी परिवर्तन हो । आनन्दले दयनीय भावमा आग्रह गरे । ठिक छ । हामी यसकोलागी मन, वचन र कर्मले तयार छौं । तथागत वुद्धलाई भन्दिनुस । प्रजापति गौतमीले घोषणा गरिन ।
पाँचसय महिलाहरूको प्रवज्या कार्यक्रमः
तथागत वुद्ध: आजका दिन मैले महिलाहरूको सक्षमता अनि समानताका लागि मेरो ममतामयी मुमा महाप्रजापति गौतमीलाई पहिलो भिक्षुणी बनाई संघमा भित्र्याएको छु । महिलाहरूको लागि छुट्टै रत्न वौद्ध महासंघ शुरू गर्दैछु ।
आज प्रवज्या हुने सबै महिलाहरू अर्हतसम्म पुगोस भन्ने शुभकामना समेत दिन चाहन्छु । यो सद्धर्मले चाहेको र ल्याएको क्रान्ति (परिवर्तन) हो । हामीलाई थाहा छ परिवर्तन बाहेक सब परिवर्तनशील छ !
(यिनै महाप्रजापति गौतमी (रूपंनदेई) ले वुद्धको जीवनकालमै अर्हत प्राप्त भिक्षुणी बन्न सफल भए । र, ७३ अर्हत प्राप्त भिक्षुणीहरूले रचेको ‘थेरी गाथा’ मा यिनको गाथा (गीत) पहिलो नम्वरमा छ ।)