Butwal Today

जिउँदो व्यक्तिको मृ’त्यु दर्ता: वडा अध्यक्ष र सचिव सहित ४ जना पक्राउ

१६ बैशाख २०८३, बुधबार
अ+
अ-

 सुनवल  । जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव सञ्जय कुमार चौधरी सहित चार जना पक्राउ परेका छन् ।

उनीहरू विरुद्ध जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिए ।

मृ’त्यु दर्ता गर्न झुटा विवरण पेस गर्ने नारायणी पारीको सुस्ता गाउँ बस्ने ३१ वर्षीय तारिख मियाँ अन्सारी पक्राउ परिसकेका छन् । मियाँले वडा नम्बर पाँचमा आफ्नो पिताको मृत्यु भएको भन्दै भाइ पर्ने अर्का ६६ वर्षीय व्यक्तिको गत वर्षको मङ्सिर ७ गते मृ’त्यु दर्ता गराएका थिए ।

मियाँको पिताको भने २०६० सालमै मृत्यु भइसकेको थियो । मृ’त्यु दर्ता भएको थाहा पाएपछि गत वर्षको चैत महिनामा मृ’त्यु दर्तामा नाम उल्लेख भएका वृद्धका छोराले प्रहरीमा जाहेरी दिएका थिए । त्यस लगत्तै अदालतमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

मृ’त्यु दर्ताको मुचुल्कामा साक्षी बस्ने वर्ष ५५ का छोटे खाँ पनि पक्राउ परेका छन् । साक्षीमा हस्ताक्षर गर्ने बाँकी ७ जना फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण ऐन, २०७६ को परिच्छेद ६ को ४१ (ग) र (च) बमोजिम झुट्टा विवरण पेस गरी मृ’त्यु दर्ता प्रमाण पत्र बनाएको कसुरमा पक्राउ परेको र मंगलबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?