Butwal Today

पश्चिम एसियाको युद्धबीच पनि युवाको विदेश मोह यथावत

१५ बैशाख २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । नयाँ सरकार गठन भएको एक महिना बितिसक्दा पनि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या अपेक्षाअनुसार घट्न नसकेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेको ११ चैत २०८२ देखि १३ वैशाख २०८३ सम्मको अवधिमा ६२ हजार २ सय ६५ नेपाली वैदेशिक रोजगारीमा गएको देखिएको छ। जसमा ५५ हजार २ सय ७२ पुरुष र ६ हजार ९ सय ९३ महिला रहेका छन्।

युद्धका कारण पश्चिम एसियाका १२ देशमा केही समय श्रम स्वीकृति बन्द भए पनि त्यसको प्रभाव दीर्घकालीन रूपमा नदेखिएको र दैनिक औसत २ हजारभन्दा बढी नेपाली विदेशिने क्रम यथावत रहेको विभागको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षमा हालसम्म करिब ५ लाख ८७ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गइसकेका छन्, जसले सरकारका ‘सुशासन र परिवर्तन’ का नारा व्यवहारमा चुनौतीपूर्ण बनेको संकेत दिएको छ।

श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालले सरकारले ठूला दाबी गरे पनि खाडी मुलुक जाने श्रमिकका लागि ठोस सुधार नआएको टिप्पणी गर्दै वैदेशिक रोजगारी घटाउने दिशामा कुनै प्रभावकारी कदम नदेखिएको बताए। उनका अनुसार, “सरकारका धेरै पहल प्रचारमुखी देखिए, तर श्रमिक वर्गको वास्तविक समस्या समाधानमा ठोस परिवर्तन आएको छैन।”

अर्थ मन्त्रालयका अनुसार स्वदेशमा रोजगारीका अवसर सीमित भएकै कारण वैदेशिक रोजगारीमा निर्भरता बढ्दै गएको छ, जसले दीर्घकालमा देशको मानव पूँजीमा समेत नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ। समग्रमा, सरकार गठनको प्रारम्भिक महिनामै नतिजाभन्दा चुनौती बढी देखिएको र वैदेशिक रोजगारीको मोह वा बाध्यता अझै घट्न नसकेको स्पष्ट देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?