Butwal Today

अर्घाखाँचीमा जन्मिएकी पुष्पा उपसभामुख हुदै कांग्रेसको उपसभापतिसम्म

१ माघ २०८२, बिहीबार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँचीको पोखराथोकमा २०१७ साल फागनु १ गते जन्मिएकी पुष्पा गौतम (भुसाल) उपसभामुख हुदै नेपाली कांग्रेसको विशेष महाधिबेशनबाट केन्द्रीय उपसभापतिमा निर्बाचित भएकी छिन् ।

२०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री रहेका काशीनाथ गौतमकी छोरी हुन् भुसाल । २०१५ सालको वीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका आफ्‌ना बुबा काशीनाथ गौतम २०१७ सालमा प्रजातन्त्र खोसिएपछि १४ वर्ष सपरिवार भारत निर्वासित हुँदा पुष्पा भुसाल पनि बुवासँगै भारत गएकी थिईन् ।

२०३६ सालमा नेवि संघबाट राजनीति सुरु गरेकी उनी नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य, टे्रड युनियन कांग्रेसको सल्लाहकार, कांग्रेस पार्टीको केन्द्रीय कानुनी सल्लाहकार समिति सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको २ कार्यकाल महासचिव पदमा पनि रहेर काम गरेको इतिहास छ ।

उनी विशेष महाधिवेशन अघि भएका १२ औ महाधिवेशन, १३ औ महाधिवेशन र १४ औ महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा अतयधिक मतका साथ विजयी भएकी थिइन् ।

महिला अधिकार र समानताको पक्षमा वकालत गर्दै आएकी भुसालले विश्वविद्यालयमा प्राध्यापन, कानुन व्यावसाय र राजनीतिलाई एकसाथ अगाडि बढाएकी थिइन् । भुसालले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरेकी भुसाल वरिष्ठ अधिवक्तासमेत हुन् ।

२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्वर २ बाट प्रत्यक्ष निर्वाचित भएर उनले संविधान निर्माणमा भूमिका खेलिन् । त्यसबेला उनले संविधान मस्यौदा समितिमा रहेर काम गरेकी थिईन्‌ । २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिमा समेत कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै मुख्य भूमिका निर्वाह गरेकी नेता हुन् भुसाल ।

२०५६ को संसदीय निर्वाचनमा समेत अर्घाखाँचीको क्षेत्र नम्वर २ बाट नेपाली कांग्रेसको तर्फबाट सांसदमा उम्मेदवारी दिएकी थिइन् । उक्त, निर्वाचनमा उनले हार बेहोर्नुपर्‍यो । सोही क्षेत्रबाट २०६४ सालको संविधान सभामा विजयी भइन् ।

२०७० को संविधान सभा निर्वाचनमा समानुपातिक सांसद निर्वाचित भुसालले उक्त कार्यकालमा ४ वर्ष नेपाली कांग्रेसको सचेतक र पछि उपसभामुख समेत बनिन् । नेपाली कांग्रेस संसदीय दलका सचेतक समेत रहेकी भुसाल २०७९ सालमा प्रतिनिधिसभाको उपसभामुख निर्वाचित भएकी थिइन् । तत्कालीन समयमा प्रतिनिधिसभामा भएको निर्वाचनमा उनी एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गदैं विजयी बनेकी थिइन् ।

नेपाली कांग्रेसमा लामो समयदेखि सभापति शेरबहादुर देउवा निकट रहेर काम गरेकी पुष्पा भुसाल विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको इतिहासमा दोस्रो महिला उपसभापति निर्वाचित भएकी हुन् । यस भन्दा अघि शैलजा आचार्य उपसभापति मनोनित भएकी थिइन् । उनले महाधिवेशन स्थलबाट अबको नेपाली कांग्रेसलाई युवा र महिलामैत्री बनाउने उद्घोष गरेकी छन् ।

अर्घाखाँची जिल्लाको इतिहासमा नेपाली कांग्रेसको पदाधिकारीमा पहिलो पटक पुष्पा भुसाल उपसभापति भएको भन्दै जिल्लाका नेता तथा कार्यकर्ताहरुमा खुशीयाली छाएको छ । उनी जन्मिएको गाउँ पोखराथोक तथा सबै जिल्लाबासीहरु समेत खुशी भएको नेपाली कांग्रेस अर्घाखाँचीका सचिव अच्युत गौतमले बताएका छन् ।