आजको नेपाली राजनीति हेर्दा एउटा कठोर यथार्थ आँखा अगाडि उभिन्छ ।
यहाँ अधिकांशलाई सेवक बन्नु छैन । पद र कुर्सी चाहिएको छ । संसद् बन्ने दौड, मन्त्री बन्ने लालसा, मुख्यमन्त्री र मेयर बन्ने आकाङ्क्षा यी सबै राजनीतिको केन्द्र विन्दु बनेका छन् । तर, दुर्भाग्य के छ भने गौण रूपमा पनि देश र जनताको सेवा गर्ने भावना हराउँदै गएको छ ।
राजनीति सेवा हो भन्ने आदर्श आज नारामा मात्रै सीमित देखिन्छ । व्यवहारमा राजनीति, पद, प्रभाव र पहुँचको खेल बन्दै गएको छ । चुनाव जितेपछि जनताको आवाज बन्नुपर्ने प्रतिनिधि, आफ्नै दलभित्र शक्ति सन्तुलन मिलाउन, आसेपासेलाई व्यवस्थापन गर्न र अर्को पदको तयारीमा लाग्छन् ।
जनता पाँच वर्षका लागि केवल नेता बनाउने भर्याङका रूपमा मतदाता बन्न बाध्य छन् । आज नेतृत्वमा पुग्नेहरूको प्राथमिकता स्पष्ट देखिन्छ । मेरो पद सुरक्षित होस्, मेरो पार्टी सत्तामा रहोस्, मेरो पार्टीको झन्डा अग्लो होस्, मेरो चुनाव चिन्ह नझुकोस् ।
सधैँ मेरो नेतृत्वको दबदबा रहोस् । तर प्रश्न उठ्छ, देश कहाँ छ ? जनता कहाँ छन् ? यदि देश बन्छ भने, यदि जनता सुखी हुन्छन् भने, मेरो पद, मेरो पार्टी, मेरो झन्डा, मेरो चुनाव चिन्ह यी सबै म त्याग्न सक्छु असल नेतृत्व आउँछ भने म तलै बसेर ताली मार्छु भन्न सक्ने आँट कसैमा छैन ।
यस्तो सोच राख्ने नेता जनताले देख्न पाएका छैनन् । हामीले देखिरहेका छौँ । सत्ता फेरिन्छ । तर जनताको जीवनस्तर उस्तै रहन्छ । बेरोजगारी, महँगी, शिक्षा र स्वास्थ्यको अवस्था ज्युँका त्युँ छ ।
परिवर्तनको भाषण हुन्छ, तर परिवर्तन जनताको घर आँगनसम्म पुग्दैन । किनभने निर्णय गर्ने ठाउँमा देशभन्दा आसेपासे ठुलो भएका छन् । आज नेता बनेपछि सबैभन्दा पहिले आफ्ना नजिकका मान्छे सम्झिन्छन् ।
कसलाई बोर्डमा राख्ने ? कसलाई सल्लाहकार बनाउने ? कसलाई ठेक्का दिलाउने ? देश र जनता भने भाषणको अन्तिम लाइनमा मात्रै अटाउँछन् । साँचो नेतृत्व भनेको के हो ? साँचो नेतृत्व भनेको आफूसँगै सबैलाई हाँस्न र बाँच्न सक्ने बनाउनु पर्ने होइन र ?
नेतृत्व परिवारवाद, नातावाद, कृपावाद र पुँजीवाद भन्दा माथि उठ्नु पर्ने होइन ? आफ्ना आसेपासे मात्रै होइन, सिङ्गो देश र जनता हाँस्न सकुन् भन्ने चाहना राख्नु नेतृत्वको परम धर्म होइन र ? तर आज यो प्रश्न तुवाँलोमा मडारिएको छ । नेता र नेतृत्वले सोच्न सकेको छैन ।
मेरा आसेपासे मात्रै होइन, यो देश र जनता हाँस्नुपर्छ भनेर । हो स्पष्टसँग भन्न र त्यसलाई व्यवहारमा उतार्न सक्ने कोही नेता जन्मिएको छ त ?
यदि छ भने उसले पदभन्दा नीति रोज्नुपर्छ । कुर्सीभन्दा सिद्धान्त रोज्नुपर्छ । दलभन्दा देश रोज्नुपर्छ ।
राजनीति पेसा होइन, प्रतिबद्धता भन्ने ज्ञान हुनुपर्छ । राजनीति लाभको साधन होइन, त्यागको मार्ग हो भन्ने चेत हुनुपर्छ । जबसम्म यो चेतना नेतृत्वमा बस्नेहरूको मनमा प्रवेश गर्दैन, तबसम्म न पार्टी बलियो हुन्छ, न सरकार टिकाउ हुन्छ, न देश समृद्ध हुन्छ ।
आज देशलाई ठुला भाषण होइन, इमानदार नेतृत्व चाहिएको छ । झन्डाको रङ्ग होइन, नियतको सफाइ चाहिएको छ । चुनाव चिन्ह होइन, जनताको भरोसा चाहिएको छ । अब प्रश्न फेरि दोहोरिन्छ ? सत्तामा होइन, सेवामा विश्वास गर्ने, आसेपासे होइन, जनतालाई प्राथमिकता दिने, आफू होइन, देशलाई अगाडि राख्ने ।
त्यस्तो नेता के अब जन्मिएला ? कि जनता सधैँ यही प्रश्नको उत्तर खोजिरहँदा पुस्तौँ पुस्ता अनुत्तरित रहिरहने ?