© 2026
चन्द्रौटा। कपिलवस्तुको शिवराज नगरपालिकामा अवैध सिद्रा माछासहित बोलेरो पिकअप प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा वडा नम्बर ५ स्थित समानता एफ.एम. नजिक कृष्णनगर–चन्द्रौटा सडक खण्डबाट लु १ च ९२७९ नम्बरको बोलेरो पिक अप गाडी नियन्त्रणमा लिएको हो ।
जाँचका क्रममा उक्त गाडी चालक शिवराज नगरपालिका वडा नम्बर–५ खैरी बस्ने ३६ वर्षीय शेष बहादुर चौधरीले प्रज्ञापन पत्रमा तोकिए बमोजिमको सामान नराखी १,७४० केजी सिद्रा माछा (ड्राइ फिस) ओसारपसार गरिरहेको फेला परेको प्रहरीले जनाएको छ ।
बरामद सामग्रीमध्ये बोलेरो पिक अप गाडी १ थानको मूल्य रु. १२ लाख र सिद्रा माछाको मूल्य रु. ५ लाख ५६ हजार ८ सय गरी जम्मा रु. १७ लाख ५६ हजार ८ सय बराबरको सामग्री रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक सिंहका अनुसार चालक, सवारी साधन तथा बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको छ ।