Butwal Today

हठबाट उत्पन्न महाभारतहरू

१६ पुष २०८२, बुधबार
अ+
अ-

संस्कृत शब्द हठ पुलिङ्गी शब्द हो ।

नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित संस्कृत नेपाली बृहत् शब्दकोशका अनुसार यसको अर्थ हुन्छ – कुनै काम कुरामा चित्त नबुझ्दा गरिने जिद्दी, जवरजस्ती, दृढ प्रतिज्ञा, पक्का अठोट । यी सबै कुराको अर्थबोधका लागि हठका कुरा यहाँ गरिएको हैन ।

यहाँ त यी मध्येको कुनै काम कुरामा चित्त नबुझ्दा गरिने जिद्दी र जबरजस्ती गरिने विषयको अर्थबोध हुने गरी केही कुरा बुझाउन खोजिएको हो । महाभारतका बारेमा त हामी सबैले सुनेका छौँ, केहीले पढेका छौँ भने अधिकांशले फिल्मका रूपमा हेरेका पनि छौँ ।

महाभारतमा संसारको अमूल्य ज्ञान, गीताका साथमा कुटनीति, धर्मनीति, मर्मनीति, कर्मनीति, कर्तव्यनीति, युद्धनीति, बुद्धनीति, शुद्धनीति, विदुरनीतिइत्यादि सबै विषयहरू पाईएतापनि हामीले भने महाभारत भन्दा साथ पारिवारिक, सामाजिक आदि कलह नै भन्ने बुझ्दछौँ ।

त्यसैले गाउँ, छिमेक या देशतिर पनि कतै कलह सुनियो भने कति महाभारत गरेका हुन् भन्ने शब्द निकाली हाल्दछौँ । त्यसैले शीर्षक अनुसार अरूको कुरा नसुनी आफ्नै लेँडे ढिपि अर्थात् हठबाट हुन गएका महाभारत आदिको चर्चा गरी त्यसबाट व्यवहारमा केही शिक्षा पाइएला कि भन्ने उद्देश्यले यो लेख तयार गरिएको छ ।

सर्वप्रथम त हामीले महाभारतबाटै यसको सुरुवात गरौँ । राजा शन्तनुले आफ्नी पत्नी गङ्गा हुँदाहुँदै पनि मत्स्यगन्ध्या सत्यवतीका रूपरङ्गमा मोहित भई उनलाई विवाह गर्ने हठबाट नै महाभारतको सुरुवात भएको देखिन्छ ।

सत्यवती र शन्तनुका पुत्र चित्रवीर्य र विचित्रवीर्यको सन्तान नहुँदै निधन भएकाले र भीष्मपितामहले विवाह नगरी बस्ने भन्ने प्रतिज्ञा पिताजीका अगाडि गरेकाले हस्तिनापुर राज्य राजाविहिन हुने अवस्थामा गएको थियो ।

तर पनि भिष्मपितामहले राज्यको रेखदेख चाहिँ गरिरहेका थिए । अब त्यहाँ सन्तानको उत्पादन गराई राजा बनाउनु परम कर्तव्य रहिआएको थियो । यस्तो अवस्थामा अब चित्रवीर्य र विचित्रवीर्यका विधवा अम्बिका र अम्बालिकाबाट सन्तान कसरी उत्पन्न गराउने भन्ने कुराले राज्यमा चिन्ता उत्पन्न गराएको थियो ।

भिष्मपितामहको दृढ प्रतिज्ञाले समस्या उत्पन्न भएको थियो । आफ्ना पिता राजा शन्तनुको खुशीका लागि उनको यो प्रतिज्ञा भएकाले अब राजा पनि स्वर्गीय भइसकेकाले उनी पनि त्यो प्रतिज्ञाबाट फर्कन सक्ने अवस्थामा थिएनन् ।

त्यसैले यसको जिन्मेवारी रानी सत्यवतीमा आएको थियो । त्यतिखेरको जटिल समस्याको समाधानका लागि आफ्ना छोरा वेदव्यास जो उनी कुमारी अवस्थामैँ रहँदा नै पराशर ऋषिबाट उत्पन्न भएका थिए उनलाई नै यो कार्यका लागि अनुरोध गर्ने निधो शन्तनुकी विधवा रानी सत्यवतीले लिएकी थिइन् । प्रसङ्ग अनुसार वेदव्यासलाई राजदरबारमा बोलाइयो ।

सत्यवतीले भाइका विधवाहरूबाट सन्तान उत्पादन गरी हस्तिनापुर राज्यको बचाऊ गर्नका लागि अनुरोध गरिन् । उनी अनुरोध त माने तर भरखर तपस्याबाट आएकाले पर्खन अनुरोध गरिन् । तर त्यसो गर्न सत्यवतीले मानिनन् ।

उनले तत्काल नै बच्चा पैदा गराउनका लागि वेदव्याससँग हठ गरिन् । यही हठको दोस्रो कारण बन्यो महाभारतको युद्ध । उचित समयमा सन्तान उत्पन्न भएनन् भने ती सन्तान राज्याधिकारी नभई राज्य कमजोर हुने कुरो त त्रिकालदर्शी वेदव्यासलाई थाहा थियो । तर आमाको हठका अगाडि उनी पनि निरिह भए । समागममा डराएकी अम्बिका चिम्म गरिन् ।

यसले गर्दा असल सन्तान नजन्मने कुरा सत्यवतीसँग राखेकाले माता सत्यवतीका आज्ञाले अम्बालिकासँग सन्तानोत्पादनका लागि वेदव्यास गए । अम्बालिका डराएर पहेँली भइन् । यसपटक पनि वेदव्यास निरास भई मातासँग आएर सबै कुरा गरे ।

अन्त्यमा पुनः माताका आज्ञाले दासीसँगको समागम भयो । दासी न चिम्म गरिन् न त डराइन् नै । यसैअनुसार क्रमश अन्धा धृतराष्ट्र, पहेँला पाण्डु र स्वस्थ एवम् नीतिज्ञ विदुरको जन्म भयो । अर्थात् सत्यवती सँग शन्तनुले विवाह गर्नै पर्ने हठ, एवम् सत्यवतीले व्यासले अनुरोध गर्दा पनि नमानी गरिएको हठ महाभारतको युद्धको कारण बन्यो । यस किसिमका हठका व्यवहार अन्यत्र पनि पाइन्छन् ।

त्रेतायुगमा पनि माता सीताले सुनको मृगको चाहनाको हठ रामसँग नगरेकी भए सायद रामायणमा पनि महाभारत हुँदैनथ्यो । त्यस्तै किसिमका हठ रामायणमा अन्यत्र पनि देखिन्छन् । रावणको हठका कारणले उनको कुलघरान सबै तहसनहस भएको देखिएको छ ।

हाम्रै देशमा पनि पृथ्वीनारायण शाहका नाती रणबहादुर शाहको हठ पनि त्यस्तै किसिमको देखिन्छ । राजा रणबहादुरकी पहिली पत्नीबाट राजकुमार रणद्योतको जन्म भइसकेको थियो । उनी राज्यका उत्तराधिकारी हुनका लागि अधिकारप्राप्त भएर जन्मिएका थिए ।

तर उनी त्यस कार्यबाट वञ्चित मात्र नभएर मृत्युपद नै प्राप्त गर्न पुगे । यसो हुनुमा रणबहादुर शाहको असुहाउँदो र भविष्यघातक हठपन नै देखिन्छ ।राजा रणबहादुर पशुपतिनाथको दर्शनका लागि गएका थिए । उनले त्यहाँएकजना विधवा नारीलाई देख्छन् ।

उनको रूपबाट मोहित भएका रणबहादुरले उनीसँग विवाह गर्ने हठ गर्दछन् । पहिले नमानेकी ती विधवा कान्तिमतीले आफ्ना पुत्र राजा बनाउने भन्ने रणबहादुरको प्रतिज्ञापछि विवाह गर्न तयार हुन्छिन् । यसरी आफ्नो पद, प्रतिष्ठा सबै विर्सिएका राजा रणबहादुरको पशुपतिमा देखिएकी विधवा कान्तीमतीसँग विवाह गर्ने हठ भएकाले त्यहाँबाट नेपालको राजदरबारमा पनि महाभारत पसेको देखिन्छ ।

त्यस्तै हामीले पनि हाम्रो व्यवहारमा नबुझीकन हठ गर्दा तमाम कलह उत्पन्न भएर परिवार नै भाँडिएका अवस्था छन् । भगवान्को भाषा नबुझ्दा जीवन नै दुःखमय भएका छन् । त्यो नभए त म मर्छु भन्ने हठका कारणले तमामका परिवार विग्रिएका छन् ।

मैले पनि यस्तै एउटा हठका कारणले परिवार नै सिद्धिएको अवस्था प्रत्यक्ष देखेको छु । शारीरिक माया जालमा सामाजिक व्यवहारभन्दा भिन्न किसिमले हठ गरी विवाह बन्धनमा बाँधिएका जोडीले गर्दा गुल्मीतिर एउटा परिवार नै सिद्धिन पुगेको थियो ।

यस किसिमका हठले गर्दा जुनसुकै क्षेत्र पनि तहसनहस भएको छ । नेपालमा धर्म निरपेक्ष ल्याउनै पर्ने नेताहरूका हठले गर्दा नेपाल कालान्तरमा धार्मिक युद्धका चपेटामा पर्ने देखिएको छ । त्यस्तै देशलाई प्रदेशका आधारमा छुट्टाउनै पर्ने र त्यसको नकारात्मक असर परिसकेपछि पनि अझै पनि शासकवर्गको हठका कारणले देश नै असफल होला कि भन्ने भान सबैलाई हुन थालेको छ ।

यसैका कारणले यो देशमा आफ्नो भविष्य युवाहरूले देख्न छोडेका छन् । विदेशी देशहरू पनि कुनै निश्चित नेताका हठका कारणले तहसनहस हुन पुगेका छन् । वर्तमानमा इरान पनि झण्डै त्यस्तै रूपले सिद्धिन खोजेको थियो ।

युक्रेनमा त त्यहाँका राष्ट्रपति जेलेन्स्कीको विना कुटनीतिको हठका कारणले गर्दा त्यस्तै महाभारत भइरहेकै छ । यो हठका कारणले देश, प्रदेश, गाउँ, छिमेक परिवार सबैतिर महाभारतको विउ छरिएको छ ।

त्यसैले यस किसिमका हठ सम्बन्धित सबैले त्यागेर ईश्वरीय भाषा बुझ्न सके मात्र महाभारतबाट सिर्जित शवशान्तिबाट हामी शिवशान्तिको मार्गमा जान सक्ने थियौँ कि ?