© २०२३
कपिलवस्तु, ११ पुस ।
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ मनखोरियाका नियतराम नटुवाले आफ्नो पुस्तौँको पेसा बद्लेका छन् ।
सर्प समात्ने, सर्प नचाउने, मह काढेर बेच्ने र भिक्षा मागेर परिवार चलाउने जातीको पुर्खौली पेसा उनको पुस्ताबाट बदलिने चरणमा पुगेको छ । उनी आफू मात्रै होइन, आफ्नो समुदायका अन्य नटुवाको दैनिकी र पेसा बदल्नका लागि परेका छन् ।
बुवाबाट बाजा बजाउने सिप सिकेका उनले अहिले आफ्नो जातीको पेसा बदलेर बेण्ड बाजाको टोली परिचालन गर्दै आएका छन् । अब उनले परिवार चलाउन सर्प समात्नु पर्ने, मह काढ्नु पर्ने र भिक्षा माग्नु पर्ने बाध्यता छैन ।
उनले पेसा मात्रै परिवर्तन गरेका छैनन् कि सन्तानलाई शिक्षित समेत बनाएका छन् । उनले छोरालाई १२ कक्षा पढाएका छन् भने नातिहरू स्तरीय निजी विद्यालयमा पढ्न जान्छन् । नटुवा जातीको उत्थानकै लागि उनले नटुवा विकास केन्द्र गठन गरेर नेतृत्व गर्दै छन् ।
नटुवा जातीकै युवाहरूलाई समेटेर उनले मायादेवी गाउँपालिका १ पकडीमा न्यु रवि बैण्ड बाजा साउन्ड सर्भिस सञ्चालन गरेका छन् । उनी आफू बेण्डबाजाका मास्टर हुने भने घोडाले चलाउने बग्गी र बाजाको सेट सहित उनी लगन र अन्य धार्मिक कार्यमा बाजा बजाउन जाने गरेका छन् ।
लगन र धार्मिक कर्ममा दुई महिना अघि बाटै उनको बेण्ड बाजा बुकिङ्ग हुने गरेको छ । “पहिले आफ्नो पुर्ख्यौली पेसाका कारण आफ्नो जातीका महिला पुरुषहरू भिक्षा माग्न जाँदा, सर्प समात्न जाँदा अपमानित भएको देख्थे ।
त्यो सबै देखेर आफ्ना जातीका युवाहरूको उत्थान र आयआर्जनमा सहयोग पुगोस् भनेर वैकल्पिक पेसा अँगालेका हौँ ।” नियतरामले भने । अब बिस्तारै आफ्नो जातीको शिक्षा र स्वास्थ्यको अवस्था सुधारका लागि आफू प्रयत्नशील रहेको उनले बताए ।
पछिल्लो समय नेटुवाको पेसा रूपान्तरणका लागि विभिन्न सङ्घ संस्थाले सहयोग गर्दै आएका छन् । बिएमजेड र डब्लुएचएचको सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्र र फरवार्ड नेपालले सञ्चालन गरेको सुधारिएको खाद्य प्रणाली परियोजना (एनपिएल १०८३–२२) को आयोजनामा मागमा आधारित भई नटुवा समुदायमा विभिन्न सहयोग गरिएको छ ।
परियोजना अन्तर्गत असुरक्षित रूपमा सर्प समात्दै आएका नटुवाहरू विगतमा सर्प दंशको घटनामा परेको देखिएकाले मायादेवी सहित अन्य पालिकाका ३० जना नटुवा समुदायका युवालाई ५ दिने सर्प समात्ने तालिम दिइएको थियो । सो पश्चात् प्रति व्यक्ति १७ हजार मूल्यको सर्प समात्न आवश्यक पर्ने उपकरण र औजारहरू उपलब्ध गराएको जनाइएको छ ।
नटुवाको पेसा रूपान्तरणकै लागी १४ जना नटुवा युवालाई बेण्ड बाजा बजाउन एक महिने तालीम दिएर मागमा आधारित ३ लाख ९७ हजार मूल्यको बेण्डबाजा परियोजनाले सहयोग गरेको हो ।
परियोजनाले गरेको सहयोगका कारण नटुवाहरूको लागि आयआर्जनको बाटो खुलेको नियतरामको बुझाई छ । बेण्ड बाजाको सिप सिके सँगै आफूहरूले आयआर्जनको बाटो फेला पारेको मायादेवी गाउँपालिका २ अभिरावका पण्डित नेटुवाले बताए ।
“यो आयआर्जनको सुनिश्चितताले परिवार चलाउन र छोराछोरीलाई विद्यालय पठाउने वातावरण तयार भएको छ । परियोजनाले दिएको तालिम र बेण्डबाजा सहयोगले हाम्रो बाजा बजाउने सिप विकास हुँदै गएको छ । अब हामीले नयाँ पुस्तालाई नयाँ सिप सिकाउन अग्रसर भएका छौं,” उनले भने ।
नटुवा समुदायको आर्थिक रूपान्तरणका लागि बेण्ड बाजा बजाउने तालिम, बेण्ड बाजा सहयोग र सर्प समात्ने सिप तथा सामग्री उपलब्ध गराईएको परियोजनाका नागरिक समाज परिचालन तथा वकालत अधिकृत अशोक चन्द्र लम्साल बताए ।
“पहिले उहाँहरूको सिप व्यवसाय भनेको मह काढ्ने, भिक्षा माग्ने र सर्प समातेर प्रदर्शन गर्ने थियो । तर अहिले हामीले बेण्ड बाजा बजाउने सिप र सामग्री दिएर आयआर्जनको वातावरण बनाउन सहयोग गरेका छौं, ” लम्सालले भने ।
राष्ट्रिय जनगणना २०७८ मा नटुवा जातीको कुल जनसङ्ख्या २ हजार ८ सय ९६ रहेको छ । २०६८ को जनगणनामा यिनीहरूको सङ्ख्या ३ हजार १ सय ८२ थियो । नेपाल सरकारले कुल जनसङ्ख्याको ०.५ प्रतिशतभन्दा कम भएको जातिलाई अल्पसङ्ख्यक लोपोन्मुख जातिको मान्यता दिँदै २०७४ साल वैशाख ११ गते राजपत्रमा त्यस्ता ९८ जातिको विवरण सूची सार्वजनिक गरेको थियो ।
त्यस बेला नटुवा भन्दा बढी सङ्ख्या भएका पत्थर कट्टा जातीलाई सामाजिक सुरक्षा ऐन २०७५ मा लोपोन्मुख जातिमा सूचीकृत भएका थिए । लोपोन्मुखमा सूचिकृत भएपछि पत्थर कट्टा जातीले सामाजिक सुरक्षा अन्तर्गत भत्ता बापत अहिले प्रतिव्यक्ति मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् । तर नटुवा जातीले लोपोन्मुख जातिले पाउने सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।
२०६८ कै जनगणनामा नटुवाका सङ्ख्या ३ हजार १ सय ८२ हुँदा उनीहरू भन्दा बढी ३ हजार ३ सय ६२ जनसङ्ख्या पत्थर कट्टा जातीको थियो । तर पत्थर कट्टा जाती नटुवा जाती भन्दा पहिल्यै लोपोन्मुखमा सूचिकृत भएका थिए ।
नटुवा भन्दा आर्थिक अवस्था सबल र ठुलो जाती दाबी गर्ने पत्थर कट्टा जाती लोपोन्मुखमा सूचिकृत भए पनि आफूहरूलाई लोपोन्मुखमा सूचिकृत नगरेर विभेद गरिएको नटुवा समुदायको गुनासो रहँदै आएको छ ।
अझै पनि उनीहरूको न त जग्गा जमिनको स्थाई स्वामित्व छ न त स्थायी आय आर्जनको श्रोत । आर्थिक रूपमा अति विपन्न नटुवाहरूको विगत देखिकै सर्प नचाउने, नाचगान, कला प्रदर्शन, सर्कस देखाउने, शिकार गर्ने, मह काढ्ने काम पुर्खौली पेसा हो ।
सोही पुर्खौली पेसाका कारण उनीहरूको जीवन घुमन्ते शैलीमा बित्दा उनीहरू प्रायको स्थायी बसाइँ र रोजगारी सुनिश्चित हुन पाएको थिएन ।
पछिल्लो समय प्रबिधि र आधुनिकताको विकाससँगै उनीहरूले पुर्खौली पेसाको रूपान्तरण खोजेका छन् ।
राष्ट्रिय दलित आयोगद्वारा जारी जातीय अनुसूची र राष्ट्रिय जनगणनाको जातीय तथ्याङ्क विवरणमा केन्द्रीय तथ्याङ्क विभागद्वारा यो जातिलाई नटुवा उल्लेख गरिएको छ । नटुवा जाती हिन्दु र मुस्लिम गरि दुई धर्मका भेटिन्छन् ।
बारा, पर्सा, सर्लाही, सप्तरी र सिराहा तिरका नटुवा जाती इस्लाम धर्म मान्छन भने नारायणी पश्चिमका नटुवा प्रायः हिन्दु धर्म मान्ने छन् । राष्ट्रिय दलित आयोगले तराई/मधेसका दलित समुदाय भित्र पर्ने भनी ‘नटुवा’ लाई दलित जातिमा सूचीकृत गरेको छ ।