© २०२३
बुटवलको जेसीसचोकमा हामीलाई पर्खिबसेका थिए पत्रकार कृष्ण मल्ल ।
हुन त हामी बिहानको साढे नौ बजे नै बुटवल छाड्ने भनेका थियौँ । जीप ढिला गर्नाले १० बजे मात्र बुटवल छाडियो । बुटवलबाट हिड्नेक्रममा मसँगै अर्का पत्रकार स्वस्तिक श्रेष्ठ र डीजीएम नेपालकी लुम्बिनी प्रदेश प्रमुख कविता ताामाङ्ग समेत थिइन् ।
पाल्पा, तिनाउको वडा नं.४ सत्यवती छाप पुग्नु थियो । हामीलाई–सामुदायिक वन समन्वय समितिले डिभिजन वन कार्यालय पाल्पाको सहयोगमा सञ्चालन भइरहेको चुरे क्षेत्रमा रहेका सामुदायिक वन, वन्यजन्तुको अवस्था, सुशासनका सन्दर्भमा वडा स्तरीय छलफल कार्यक्रममा सहभागी हुनु थियो ।
दोभानबाट संस्थाकी कार्यालय सचिव सरिता गुरुङ हाम्रो जिपमा चढिन् । अर्घा छापबाट हाम्रो संस्थाकी सदस्य नैना क्षेत्री, झुम्साबाट वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेय र गिट्टी खानीबाट महासचिव गणेश रास्कोटी जिपमा चढेपछि जाल्माघाट हुँदै चिप्लो तर कच्ची बाटो उकालो, ओरालो गर्दै सत्यवती पुग्यौँ । कतिपय ठाउँमा जिपलाई मोड नपुग्ने र साँघुरा घुम्तीले मनै जिरिङ्ग गराउँथ्यो ।
सरिता र गणेशलाई कार्यक्रम स्थल वडा नं.४ को कार्यालयमा छाडेर हामी पृथ्वीप्रकाश मावितिर लाग्यौँ । विद्यालय पुग्दा पौने १२ बज्दै थियो । शुक्रवारका दिन भएकाले होला सायद विद्यार्थीहरूलाई खेलकुद कार्यक्रममा शिक्षक साथीहरूले सरिक गराउँदै थिए । प्रअ भिमीसरा सुनारी, सहायक प्रअ दुर्गा चौहान पनि खेल मैदानमा नै भेटिए ।

हामीले खेल मैदानबाट तराई र पहाडलाई एकै पटक नियाल्यौँ । तिनाउ गाउँपालिका र माथागढीको सीमानामा रहेको पृथ्वीप्रकाश माविमा यतिबेला तीन सय १४ जना विद्यार्थी अध्ययनरत् रहेछन् । शिक्षा पत्रकार कृष्ण मल्लले ईको शिक्षकसँग विद्यालयमा ईको क्लवले गरेका गतिविधिका बारेमा कुराकानी गर्न थाले ।
पत्रकार स्वस्तिकले डाँडापाखा र हिमालको फोटो खिचेर मख्ख परे । उत्तरतिरका अन्नपूर्ण, माछापुछ्रे हिमश्रृङ्खला हेरी दङ्ग पर्दै हिमाललाई इन्सेटमा राखी फोटो खिचियो । घाम लागेपनि चिसो हावाले मुटु नै ठिहिराएको थियो । प्रअ भिमीसराको स्टोरी लेख्न पत्रकार कृष्णले इच्छा गरेपछि उनीसँग मोबाईल नम्बर लिए अनि आफ्नो ईमेल ठेगाना दिदै एक कपी स्पेशल फोटो खिचे ।
प्रअलाई हामीले पनि हाम्रो संस्थाको परिचयात्मक डायरी दिइ स्वस्तिकबाट फोटो खिचिलियौं । विद्यालयबाट ओर्लिएपछि बाटो नजिकै लहलहाउँदो रायोसाग देखियो ।
कविताले साग टिप्न किसानलाई बोलाइन् । सोही अवसरमा कृष्णले किसानसँग छोटो वार्ता समेत गर्न भ्याए । रहरलाग्दो सागको मुठै बोकेर हामी कार्यक्रमस्थलतिर हुँइकिदा दिउँसोको पौने एक बज्नै आँटेको थियो । हामीलाई सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता र वडाध्यक्षले कुरेर बसेका थिए ।
हाम्रो औपचारिक कार्यक्रम सुरु भयो । प्रमुख अतिथिका रुपमा रहेका वडाध्यक्ष तुलबहादुर आलेले आफ्नो सामुदायिक वनमा सालका र अन्य बहुमूल्य काठ नभएको तर दालचिनीबाट गाउँलेहरुले मनग्य पैसा कमाएको कुरा सुनाए । एक घरबाट कम्तिमा ५० हजार रुपैयाँदेखि चारलाख रुपैयाँसम्म दालचिनी बेचेर आम्दानी हुने सुनाए ।
दालचिनी बेचेर वर्षमा ८ करोडसम्म रुपैयाँ गाउँमा भित्रिएको कुरा कृष्णसँगको अन्तर्वार्तामा वडाध्यक्षले सुनाएका थिए । डीजीएम नेपालकी कविताले वन उद्यमबाट प्रशस्त आयआर्जन गर्न सकिने बताउँदै गाउँलेलाई स्वरोजगारी बनाउने कुरा सुनाइन् । वनको संरक्षण र सही सदुपयोग गर्दै वनबाट किफायत लिनुपर्नेमा उनको जोड थियो ।
स्थानीय वन समूहका पदाधिकारीहरु सुनवीर गाहा, टीकाराम चौहान, भद्रवीर दर्लामी, बोमबहादुर आले, रमा सुनारी, कृति दर्लामी लगायतले समूहको कार्ययोजना सिद्धिएको, खाता सञ्चालनमा समस्या देखिएको, वन्यजन्तुबाट पीडित हुनुपरेको, सम्बन्धित निकायहरुबाट भनेजस्तो सहयोग प्राप्त हुन नसकेको गुनासो सुनाए ।

कार्यक्रममा चुरेको परिचय, वन उपभोक्ता समूहका वर्तमान समस्या, समाधानका उपायहरु एवम् वन्यजन्तुको संरक्षण र यसबाट किसानहरुलाई परेको मर्का सम्बन्धमा प्रकाश पारेको थिएँ । सामुदायिक वनको भूमिका, दायित्व र कर्तव्य सम्बन्धमा वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले बेलीबिस्तार लगाए ।
महासचिव गणेशले प्रभावकारी कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम समापनपछि ब्यानरसहितको फोटोसेसन गर्यौं । लगाढ नजिकै सत्यवती बजैको दर्शन गर्न पसियो । ताल वरिपरि सफा गर्नुपर्ने देखियो । सुनवीर बाजेले लामै मन्त्र फलाकेर टीका लगाइ दिए । हामी सबैले पालोपालो टीकाग्रहण गर्न निधार तेर्साइयो ।
चार रोपनी जग्गामा फैली चुरेक्षेत्रमा रहेको सीमसार सत्यवती तालको संरक्षणमा सबैको चासो र चिन्तन आवश्यक देखिन्छ । एकान्त वनको बीचमा रहेको सत्यवती बाजे,बजैका मन्दिर,ताल,बनेको र बन्दै गरेका भौतिक संरचनाले मनमोहक देखिन्थे । धार्मिक एवम् पर्यापर्यटनका लागि सत्यवती क्षेत्र प्रसिद्ध छ ।
जिपमा मनीषले अनौठा गीतहरु लगाइरहे । हामीले कुरा गर्दै बाटो काट्यौं । झुम्सामा प्रेम र गणेश ओर्लिए । हामी भने अर्घाछापमा नैनाको छोराले सञ्चालन गरेको हरिबहादुरको चियापसलमा तातोतातो चियाको चुस्कीले ओठ सेक्यौं । चाउचाउको सुपले जाडो भगायौं ।
बुटवल आउँदा झमक्कै साँझ परेको थियो । एउटा रमाईला यात्रा गर्दा मनै फुरुङ्ग भो । गुड फ्राई डे गाउँतिर पुगेर मनाइयो ।