© 2026
संसारकोट नामै मज्जाको । संसारै देखिने ठाउँजस्तै लाग्छ । सुस्तापश्चिम नवलपरासीको पहाडी भू–स्वर्ग नै मान्न सकिन्छ, संसारकोटलाई ।
महेन्द्र लोकमार्गको बुटवल–बर्दघाट खण्डमा पर्ने भूताहाबाट उत्तरतिर लागेपछि बर्दघाट नगरपालिका वडा नं.२ को अम्बास गाउँ पुगिन्छ । चिटिक्क परेको उक्त सुन्दर गाउँ पुग्न करिव ७ किलोमिटर दूरी पार गर्नुपर्दाे रहेछ । मगर अनि दलितजातिको बस्तिरहेको उक्त गाउँमा ससाना कटेजहरू खुलेका रहेछन् ।
बाटैमा संसारकोट सामुदायिक वन उपभोक्ता समुहले संरक्षण गरेको बाउन्नघोला सीसार क्षेत्र देखियो । फराकिलो ताल,बीचमा रुखहरू र तट्बन्धन गरिएका पर्खालले मासिदै गएको सीमसारलाई जोगाएको पाउँदा खुसी लाग्यो ।

तर, त्यहाँ घुम्न जानेहरूले फालेका प्लास्टिक, चाउचाउ अनि बिस्कुटका खोलहरूले सीमसारको सुन्दरतालाई मास्न सक्ने अनुमान लगाउन कठिन परेन । अम्बास गाउँमा सामुदायिक वन,सहकारीका भवनहरू देखिन्थे । गाउँ नजिकै सानो खोला देखियो । सायद घुम्न आउने पर्यटकहरूका लागि पौडी खेल्न खोलामै कृत्रिम रह( दह) बनाईएको हुनुपर्छ ।
जंगलबीचको सुन्दर अम्बास गाउँ,हेर्दै मनमोहक देखिन्छ । सायद यो पहाडी गाउँ, आन्तरिक एवम् बाह्य पर्यटकहरूका निम्ति ‘रेष्ट प्लेस’ बनेको हुनुपर्छ, बन्न सक्छ । यसो हुँदा गाउँलेहरूको आम्दानी बढ्न सक्छ । गाउँमै होटल, लज, रिसोर्ट, पसल चलेपछि उत्पादित मदिरा, कुखुरा,खसी बोका, बंगुरले गाउँमै बजार पाउने छन् ।
सागसब्जीलाई उचित मूल्य गाउँमै मिल्ने छ । अम्बासमाथि डाँडातिर करिव तीन किलोमिटर कच्ची तर राम्रो बाटो कटेपछि संसारकोट गाउँ पुगिने रहेछ । गाउँमा रहेका १२÷१३ घरधूरीमा मगरजाति मात्रको बसोबास पाईयो । सोमै,राना, ढेंगा, गाहा, सारु थरिका मगरहरू गाउँमा टिमिक्कै मिलेर बसेका रहेछन् ।
(हामी होमबहादुर गलामी, राजेश श्रेष्ठ, धनबहादुर बुढाथोकी, सुबोध बुढाथोकी, बलबहादुर पुन र म अनि हाम्रा लागि पदप्रदर्शक थिईन् सोही वडाकी पूर्व वडाध्यक्ष दया दर्लामी ।) गाउँमा पुग्दा डोजरले बाटो बनाउँदै थियो । खेतका गह्राहरूमा आलु लहलहाउँदै थिए ।
पिंडालुलाई गर्भमा लुकाएर गाभाहरू हलहलिएका देखिन्थे । केरालाई बोटले थाम्नै नसकेर कतै टेको दिईएको थियो । २०४५ सालमा स्थापित मौलादेवी प्राथमिक विद्यालयले संसारकोट, तिल्केनी,चावाच्वा,तल्लो अनि माथिल्लो पटुके र विहारी गाउँका नानीबाबुहरूलाई शिक्षाको पारिलो घाम तपाइरहेको पायौं । प्रअ महेन्द्र चौधरीले भने– विद्यालयमा पढ्न आउनका लागि कुनैकुनै विद्यार्थीलाई त डेढ घण्टा नै लाग्छ ।
त्यहीभएर चावाच्वा गाउँमा बालबिकास केन्द्र खोलेर १० जनालाई उतै पढाईएको छ ।“ कूल ५१ जना विद्यार्थी अध्ययनरत् सो विद्यालयमा पाँचजना शिक्षक र एकजना कार्यालय सहयोगी रहेछन् । गाउँको टापू,एकान्त अनि फराकिलो ठाउँमा विद्यालय रहेछ ।
विद्यालयको एउटा कोठा एनटीसीको टावर र सामान राख्न दिईएको रहेछ । सो वापत वार्षिक ७० हजार विद्यालयलाई आम्दानी हुने रहेछ । सायद यसले गाउँको विद्यार्थी र विद्यालयलाई केही राहत मिलेको हुनुपर्छ । गाउँमै सम्वत् १९१० मा स्थापना गरिएको संसारकोट भगवती मन्दिर रहेछ ।
त्यहाँ चढाईएको घण्टीमा १९५५ मिति लेखिएको ईतिहास भेटियो । ऐतिहासिक उक्त मन्दिर थारु जातिको कूलपूजा गर्ने मन्दिर भएको जानकारी पूर्ववडाध्यक्ष दया जीबाट प्राप्त भयो । आजसम्म पनि तराईका थारुहरूले पहाडमा अवस्थित यहि मन्दिरमा कूलपूजा गर्न छाडेका छैनन् ।
पञ्चायतकालीन मन्त्री पिताम्बरध्वज खाती लगायत नेताको सिफारिसमा पूर्वी पाल्पाको ११ वटा गाउँ पञ्चायतहरूलाई राजनीतिक एवम् भौगोलिक कारण देखाई नवलपरासीमा मिसाईएको राजनीतिकर्मी राधाकृष्ण कंडेलको तर्क छ ।
संसारकोट पनि पाल्पाबाट नवलपरासीमा गाभिएको भू–भाग हो । साविक धुर्काेट गाविसको वडा नं.८ मा पर्ने यो गाउँ बर्दघाट नपाको २ नम्बर वडामा समाहित भएको रहेछ । यतिबेला संसारकोटमा पक्कीघर बन्ने क्रम छ । पूर्वीपाल्पा,दुम्कीबास, बर्दघाटलगायका स्थानमा जान चौराहको रूपमा संसारकोट रहेछ ।
अर्थात् दाउन्नेको वैकल्पिक मार्गको रूपमा संसारकोटको बाटोलाई प्रयोग गर्न सकिने रहेछ । सोही चौराहका कारण गाउँमा घडेरी किन्नेहरूको लर्काे रहेछ ।
छ्वाङ्ग आकास खुलेको बेला उत्तरतिर माछापुच्छ्रे र धवलागिरी हिमाल लहरै देखिँदा रहेछन् ।
यिनै हिमालहरू देखाउने भ्यू पोईन्टका रूपमा संसारकोट गाउँलाई प्रयोग गर्न सकिएमा एउटा नयाँ पर्यटकीय गन्तव्य हुन् सक्छ । संसारकोटबाट हिमालमात्र होईन तराइका फाँटहरू लम्पसार परेको देखिन्छन् । यो गाउँ,प्राकृतिक भ्यू पोईन्ट समेत रहेछ । यहाँबाट संसार चियाउन सकिने झैं लाग्यो ।
गाउँमा कुखुरा,बाख्रा,भैंसीपालन गरिएका रहेछन् । मकैखेती उधुमै हुने रहेछ । पिँडालु खेतीले समेत आम्दानी बढाउन सहायता गरेको पाउँदा खुसी लाग्यो । घ्यू बेचेर जिउ पाल्न मद्दत मिलेको कुरा सुन्दा आनन्द लाग्यो । गिठ्ठा, भ्याकुर र कोदोबाट स्थानीयले मदिरा उत्पादन गर्दा रहेछन् ।
लोकल कुखुराको मासुसँगै गिठ्ठाका मदिरा चाखेपछि मिठा कुरा गरियो स्थानीय प्रेमबहादुर सोमैसँग । उनी पूर्व जनप्रतिनिधि समेत रहेछन् । उनले गाउँका युवाहरू खाडी र युरोप पुगेको सुनाए । प्रत्येक घरबाट विदेश गएकै छन् । कसैका घरबाट त एकभन्दा बढी युवाहरू परदेशिएका कुरा सुन्न पर्दा मनै कुँडियो ।
सिंचाईको अभावमा गाउँमा धानखेतीले आकास ताक्नुपर्ने रहेछ । विजुली पुग्यो, एकघर एकधारा छँदैछ । बाटो पक्की हुन बाँकी छ । भूताहाबाट संसारकोट साधनमा आउँदा करिव आधाघण्टा लाग्ने भएपनि वर्खामास साधन चल्दैनन् । बाटो हिलो हुने भएकोले चप्पल,जुत्ता हातमा लिएर हिड्नुपर्ने बाध्यता रहेको प्रअ चौधरीले सुनाउँदै थिए ।
गाउँमा व्यवसायिक सुन्तला, कागती, अमिलो र किवि खेती सम्भव छ । अदुवा, बेसार खेती गर्न सकिएमा राम्रै हुनेछ । वनमा गिठ्ठा, भ्याकुर फल्न छाडेका छैनन् । संसारकोटलाई पर्यटकीय गन्तव्य र पर्यटन गाउँ बनाउन सम्भव रहेको यात्राका सारथी बुटवल कालिका क्याम्पसका अध्यक्ष होमबहादुर गलामीले बताए ।
पर्यटनका जानकार राजेश श्रेष्ठले भने–गाउँमा होमस्टे, मगरकला, संस्कृति र मगरखानाबाट पर्यटक तान्न सकिन्छ । बंगुरपालक किसान धनबहादुर बुढाथोकीले गाउँमा बैज्ञानिक एवम् व्यवहारिक,व्यवस्थित खोर बनाएर बंगुरपाल्न सके संसारकोटका कुनैपनि युवाहरू विदेशिने नपर्ने उनको तर्क थियो । उनी भन्छन–बजार नजिक छ ।
बंगुरले हजार दिन्छ । ग्रामीण बस्तीहरू उजाड बन्दैछन् । मानवविहीन बन्ने हुन् कि भन्ने पीडा सबैलाई छ । बेरोजगार भएर विदेश पस्ने अनि हल्का धन आर्जनपछि गाउँ छाडेर सहर ताकिने नयाँ चलनले गाउँ उराठ बन्दैछ । बाटो पुग्यो ,बिजुली पुग्यो । धारा,स्कुल ,नेट सबै छन् गाउँमा तरपनि मानिस किन सहर पस्दैछन् ।
त्यसैले ग्रामीण पर्यटननै विकासको नौलो आयाम हुन सक्छ । पर्यटन उद्यममार्फत् गाउँमा आम्दानीको बाटो फराकिलो हुन सक्छ। त्यसैले, नीतिनिर्माताहरूले पर्यटनमुखी योजनामार्फत् गाउँका मानिस गाउँमै टिकाउने अभियान थाल्नुपर्ने देखिन्छ । साँझको सवा चार बजिसकेको थियो । बलबहादुरले मोटर ओरालो लगाए ।
मोटरको मीटरले संसारकोटबाट भूताहा पुग्दा १० किलोमिटर देखायो । करिव २० मिनेटमा ओरालिएका रहेछौं हामी । संसारकोटबाट संसारै देखेजस्तो, हेरेजस्तै आनन्दानुभूति भयो । बुटवल आउँदा पश्चिमतिर आकासले सूर्यलाई ओथारो राखिसकेको थियो ।