© २०२३
नवलपरासी, १८ मङ्सिर ।
जिल्लामा अहिले एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पृथ्वीचन्द्र अस्पतालमा रहेको एन्ट्रोभाईरल थेरापी (एआरटी) सेन्टरले जानकारी गराएको छ ।
विगतको तुलनामा अहिले एचआइभी सङ्क्रमितको सङ्ख्या थपिँदै गएको जानकारी गराएको हो । समाजमा अहिले पनि सङ्क्रमितको थप सङ्ख्या हुन सक्ने अनुमान समेत सेन्टरले गरेको छ । केही जागरूक सङ्क्रमितले एआरटी सेवा लिन आएको भए पनि अझै समाजमा खुल्न नचाहनेहरूको सङ्ख्या बढी रहेको छ ।
यसका लागि पालिका स्तरबाट पनि सचेतना गरी परीक्षण गराउने र परीक्षणमा एचआइभी पोजेटिभ देखिए उनीहरूलाई निदानका लागि एआरटी सेन्टरमा पु¥याउने कार्य गर्न सकेमा मात्र एचआइभी निर्मूल पार्न सक्ने सेन्टरका काउन्सेलर दिपेन्द्र ठाकुरले बताए ।
परीक्षण पश्चात् सेन्टरमा सेवा लिन आउने सेवाग्राहीको सूचना गोप्य नै राखिने गरिएको छ, उनले भने, तर यसबारे गाउँ समाजमा प्रभावकारी ढङ्गले सूचना प्रवाह भई रहेको छैन । यस प्रति स्थानीय सरकारले अभियानकै रूपमा परीक्षण गरी एआरटी सेवा लिन प्रेरित गर्नु पर्ने उनको भनाइ थियो ।
उनका अनुसार पृथ्वीचन्द्र अस्पतालमा वि.सं.२०७२ साल देखि एआरटी सेवा सञ्चालित छ । हालसम्म ५ सय ४१ जनाको रजिष्टे«सन देखिन्छ । जसमा २ सय ३२ जना महिला,२ सय ८६ जना पुरुष र २३ जना तेस्रो लिड्डी (अन्य) रहेको तथ्याङ्क देखिन्छ । यो तथ्याङ्कले महिला भन्दा पुरुषमा बढी सङ्क्रमण देखिएको छ ।
त्यसैगरि एआरटी सेन्टरमा हालसम्म निरन्तर सेवा लिइनेमा ३ सय ७९ जना औषधि खाँदै आएका छन् । त्यसमा १ सय ८५ जना पुरुष र १ सय ५५ जना महिला छन् । १६ जना तेस्रो लिड्डी अन्य रहेका छन् । त्यसैगरि १६ जना बालक र ७ जना बालिका समेत सङ्क्रमित अवस्थामा रहेको उनको भनाइ थियो ।
यसै गरी पालिका अनुसारको तथ्याङ्क हेर्ने हो भने सबै भन्दा बढी बर्दघाट नगरपालिका, दोस्रो स्थानमा सुनवल र तेस्रो स्थानमा रामग्राम नगरपालिका रहेको देखिन्छ । यी तिन वटै नगरपालिकामा रहेका क्रमशः ७५,५४ र ५१ जना सङ्क्रमितले एआरटी सेवा लिइने गरेका छन् ।
त्यसैगरि गाउँपालिका तर्फ सुस्ता गाउँपालिकामा ३३ प्रतापपुर गाउँपालिकामा ३२ जना, पाल्हीनन्दन गाउँपालिकामा २७ जना र सरावलमा १६ जना सङ्क्रमितको सङ्ख्या छ । यसै गरी एआरटी सेन्टरबाट सेवा लिनका लागि नेपालकै अन्य जिल्लाबाट ११ जनाले सेवा लिई रहेका छन्, भने ८० जना भारतीय नागरिक पनि आएर नियमित सेवा लिँदै आएको एआरटी सेन्टरका काउन्सेलर ठाकुरले जानकारी गराएका थिए ।
उनका अनुसार एआईभि सङ्क्रमित मध्ये चार जना महिला गर्भवती भएको र उनीहरूको सुरक्षित ढङ्गले प्रसूति गराइएको थियो । ती सङ्क्रमित महिलाबाट जन्मने चार शिशुमा एचआइभी नेगेटिभ देखिएका छन्, उनले भने, यो खुसीको कुरा हो, शिशुमा सङ्क्रमण देखिएन ।
उनका अनुसार एआरटी सेन्टरबाट सेवा लिइने मध्ये ५८ जनाको हालसम्म मृत्यु भइसकेको पनि तथ्याङ्क रहेको छ । विश्वव्यापी रूपमा एचआइभी सङ्क्रमितको तथ्याङ्क कम देखिए पनि सो अनुपातमा यता सङ्क्रमण घटिरहेको छैन । यो चुनौती रहेको छ । एचआईभि सङ्क्रमण भएको पहिला त पहिचान गरिनु नै चुनौती पूर्ण रहेको अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले बताए ।
एचआईभि परीक्षणको नाम लिइने बित्तिकै जोसुकै मानिस हिच्किचाउने अवस्था देखिन्छ, कुनै कागजात मेडिकल रिपोर्टमा एचआइभीको रिपोर्ट समेत समावेश गर्नु पर्ने बाध्यता आएको खण्डमा मात्र एचआइभी परीक्षण गराउने गरिएको छ ।
जुनकी यसलाई स्थानीय सरकारले नै पालिका भित्रका सम्भावित तथा आशङ्का लागेका व्यक्तिलाई सुरक्षित र गोप्य तरिकाले परीक्षण गरी उनहरूलाई आवश्यक उपचारका लागि एआरटी सेन्टरमा पठाउने बाकीलाई सुरक्षित रहनका लागि आवश्यक जनचेतना जगाई सावधान गराई राख्ने कार्यक्रम गर्नु पर्ने उनको सुझाव रहेको थियो ।
एक पटक सबैको परीक्षण भएपछि स्थानीय सरकारले एचआईभिबारे आफ्ना नीति कार्यक्रम बनाएर काम गर्नका लागि सहज हुने अवस्थाको सृजना गर्नु पर्ने अध्यक्ष चौधरीले बताएका थिए ।
एचआईभि सङ्क्रमण हुने अन्य जे जस्तो विधि भए पनि समाजमा असुरक्षित यौन सम्बन्ध, अवैध यौन धन्दालाई नै मान्ने गरेका छन् । यस कारणले पनि समाजमा कोही अपहेलित हुन नचाहने डरले परीक्षण गराउन नचाहने अवस्था रहेको छ । कतिपय अवस्थामा सङ्क्रमण भएको व्यक्ति थाहा पाएर पनि अन्यमा सार्ने गरेको घटना पनि सार्वजनिक भएको थियो ।
यस्तो अवस्थाले झन् समाजमा चुनौती थपिएको देखिन्छ । नेपालमा २९ हजार रहेको अनुमान गरिएको छ । नेपालमा एचआभि सङ्क्रमणलाई महामारीकै रूपमा राखिएको अवस्था छ । जसको प्रभाव नवलपरासी जिल्लाको तथ्याङ्कले देखाएको छ ।
नेपालमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूहहरू सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरू, यौनकर्मीहरू, कारकारमा रहेका कैदी बन्दीहरू, पुरुष समलिगिँहरू तथा तेश्रोलिगिँहरू र रोजगारीका लागि बिदेसिनेहरू रहेका छन् ।
यी मध्ये सुइँद्वारा लागु पदार्थकोप्रयोग गर्नेहरू र पुरुष समलिड्डि यौनकर्मीहरूमा सङ्क्रमण दर अरू जोखिम समूह भन्दा उच्च रहेको देखिन्छ । नेपालमा महामारीको रूपमा रहेको एचआइभी सङ्क्रमण न्यूनीकरणका लागि पर्याप्त बजेट विनियोजन हुन सकेको छैन ।
तीन तहको सरकार भए पनि जनस्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्नु भन्दा भौतिक पूर्वाधारलाई महत्त्व दिएर बजेट खर्चने कार्य भई रहेका छन् ।