© २०२३
वर्तमान नेपालको संविधान अनुसार नेपाल बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भन्ने गरिएको छ ।
हुन त नेपालमा २०४६ सालमा जनताको अथक प्रयासद्वारा बहुदलीय प्रजातन्त्र भन्ने व्यवस्था ल्याइएको थियो । तर त्यो व्यवस्थापनि जनताका लागि राम्रो भएन भन्ने भाष्यसहित दस वर्षको माओवादी द्वन्द्व र २०६२–०६३ को जनआन्दोलन मार्फत् यहाँ लोकतन्त्र ल्याइयो ।
शब्दमा त लोकतन्त्र र प्रजातन्त्र एउटै कुरा थिए । तर पनि किन फेरि लोकतन्त्र भन्ने शब्द राखियो । त्यो शब्द राख्नेलाई नै थाहा होला । तर प्रजातन्त्र भन्ने बेला राजा थिए भने लोकतन्त्र आएपछि भने राजाको स्थानमा राष्ट्रपति ल्याइएको छ ।
देशलाई पुरानो विकास क्षेत्र र अञ्चलको अवधारणाले नभएर प्रदेश र पालिकाको अवधारणाले विभाजन गरिएको छ । विभाजनको कारण भनेको विकासका लागि विकेन्द्रीकरण भनेर व्याख्या गरिएको छ । हाम्रो देशमा व्यवस्था परिवर्तनका लागि ठूला ठूला आन्दोलन भएको इतिहास हामीले केही पढेका छौँ भने केहीलाई प्रत्यक्ष रूपमा देखेका पनि छौँ ।
तर केही अति सामान्य परिवर्तन बाहेक जनताले सोँचे अनुसार देश विकासमय र समृद्ध हुन सकेको छैन । अझ २०६२–०६३ को आन्दोलन पछिको परिवर्तनले त जनतालाई रोजी रोटीका लागि नै विदेशिन परिरहेको देखिन्छ ।
यसभित्रको अझै रहस्यमय रूप त के छ भने जनताले देश नै परिवर्तन गरेर समुद्र पारीका देशमा नै आफ्ना सन्ततिको भविष्य देख्न थालिसकेका छन् । विषय प्रसङ्ग अनुसार देशमा परिवर्तनका लागि जनताहरू जुटे, पार्टीहरू जुटे, शासकीय नयाँ रूप पनि ल्याए ।
देशलाई चीनजस्तो समृद्ध बनाउने सपना देखाउने पनि सत्तामा गए । देशलाई सिंगापुर बनाउने सपना देखाउने पनि सरकारमा गए । यो देश राणाले विगारेको हो भन्नेले पनि शासन सत्ता सम्हाले । यो देश राजाले विगारेको भन्ने पनि शासनको प्रमुख केन्द्र बने ।
त्यस्तै यो देश विगार्ने त प्रमुख रूपमा काङ्ग्रेस हो भन्ने पनि सत्तारोहण गरे भने हैन देशको यो हविगत गराउने त यहाँका राणा, राजा, काङ्ग्रेस, एमाले हुन् भन्नेले पनि सत्ताको स्वाद राम्ररी नै चाखे । तर देशमा उल्लेख्यरूपमा परिवर्तन भएको देखिएन ।
परिवर्तन नै भएको भएपनि त्यो स्थानमा कामभन्दा बढी भ्रष्टाचार देखियो । नयाँ नेपालका नाममा जनताका सनातन परम्पराका पुजास्थल भन्दापनि चर्च र मस्जिदहरू व्यापक रूपमा बन्न थाले । दोस्रो तेस्रो आदि मुलुकबाट आउनेहरूले देश भर्न थाले ।
देशका पुराना हाम्रा मिया दाजुभाइलाई दिएको सुविधा त बाहिरबाट आएर यहाँ तुरुन्त नागरिकता प्राप्त गरेकाले पो खान थाले । समावेशीका नाममा जातजातीमा वैमनश्यता फैलाउने खालको पो देखियो । मिलेर बसेका नेपालीलाई चुच्चे, थेप्चे, काला, गोरा, हिमाली, माली, काली आदि रूपमा विभाजन गरी लडाउन पो थालियो ।
विज्ञहरूले बनाएका विकास क्षेत्रका अवधारणालाई नष्ट गरेर बनाइएका प्रदेश त यहाँ परदेशका लागि ल्याइएको पो आभास हुन थाल्यो । देशका कुनाकुनामा विकासका लागि ल्याइएका भनिएका पालिकाहरूको आर्थिक व्यय त देशले धान्नै नसक्ने खालको पो देखियो ।
देशको राष्ट्रिय जनावर जसलाई यहाँका पुरै जनताले माताका रूपमा मान्छन्, तिनैका आधारमा आफ्ना धार्मिक क्रियाकलाप गर्दछन् ती अबोध जनावर दिन प्रतिदिन काटिन थाले । देशमा आर्थिक एवम् सामाजिक रूपले नै कायापलट गराउनका लागि भएको परिवर्तनको असर त यहाँ अधिकांश स्वदेशी जनता आफ्ना माई छोडेर विदेश पलायन भएको त अधिकांश विदेशी जनता फेरि विदेशबाट यहाँ आएर गाई काट्ने र काट्न लगाउने खालको पो देखियो ।
यस्तै आदि इत्यादि खालका कुराले जनताहरूलाई पिरोलिरहेका बेला देशमा अहिलेसम्म नभएको घटनाले अर्को कायापलट गरायो । पुराना शासकहरू भाग्न पर्ने भयो भने देशलाई राष्ट्रपति र सेनामार्फत् केही लयमा चाहिँ ल्याउने काम भयो ।
तर यो सरकारले पहिले भन्दा केही विकास र जनताले प्रत्यक्ष देख्ने खालका विकास निर्माण र विधिमा लागे पनि जे का लागि साँच्चै जनता उठेका थिए त्यो हुन सकेन । त्यत्रो परिवर्तन भएपनि खास हुनपर्ने परिवर्तनलाई संविधानको परिधिमा लगेर बाँध्ने काम गरियो ।
अब साँच्चै परिवर्तन गर्ने हो भने चुनावमा म्यान्डेट लिएर आउने भन्न थालिएको छ । विधिको शासनका लागि र पछि पनि यस खालका परिवर्तनले देशलाई असर नपारूस् भन्नका लागि यी कुरा गरिएपनि विशेषगरेर देशको अहिलेको प्रमुख समस्या अन्तर्गतको प्रदेश र पालिका एवम् भ्रष्टाचारलाई संबोधन हुने गरी काम गरिनुपर्दछ भन्ने कुरा चलिरहेको पनि छ ।
विषय प्रसङ्ग अनुसार नै देशमा परिवर्तन भएर अमनचैन र सुख शान्तिका लागि जनता जुटे, पार्टीहरू जुटे, निरङ्कुश भनिएको राणा शासन फाले, निर्दलीय भनिएको तन्त्र फाले, बहुदल ल्याए । पुनः बहुदलमा पनि राजालाई बाधक देखेर विवेक विचार नगरिकनै फाले । पार्टीहरूले नेतृत्व दिए, जनता पछि लागे, अनि सबै काम भयो ।
परिवर्तनरूपी काम हुनुको प्रमुख कारण नै जनतालाई अनेकानेक समृद्धिका सपना देखाइएको हो । तर यसरी पटक–पटक आन्दोलन मार्फत् काम गर्दा पनि जनतालाई सोँचे अनुसारको फल प्राप्ति हुनै सकेन । बरु परिवर्तन त नेताहरूको हुनपुग्यो ।
आर्थिक रूपमा समृद्ध त नेता र राष्ट्रसेवक भन्ने कर्मचारीहरू पो हुन पुगे । नाइक र एडिडासका महङ्गा कपडा लगाएर श्रमजीवि र मजदुरका नारा लगाउन उनीहरूले छोडेनन् । पटक–पटक फुटे, पुनः जुटे । पुनः पुनः फुटे, पुनः पुनः जुटे । पुनरपिजननं पुनरपि मरणं भनेजस्तै तरिकाले यो क्रम निरन्तर रूपमा चलिरहेको छ । यो चलाइ देखेर जनतालाई लाजलाग्न थाल्यो । तर उनीहरूलाई लाज भन्ने पटक्कै छैन ।
संस्कृतको एउटा उक्तिले भन्छ – एउटा लाज भन्ने कुरा त्याग गर्न सक्यौ भने तिमी जतापनि विजयी हुन सक्दछौ । उनीहरूले पनि राम्रोको लागि नभएर नराम्रोको लागि यस्तै गरिरहेका छन् । कहिले साम्यवाद भन्छन् त कहिले समाजवाद भन्छन् त्यस्तै कहिले फेरि वैज्ञानिक समाजवाद भन्छन् । अनि फेरि कहिले समृद्ध लोकतान्त्रिक वैज्ञानिक समाजवादको नारा दिएर जुट्छन् ।
फुट्नेले पनि पुरानोलाई साम्राज्यवादी विस्तारवादी के के भन्न सक्दछ पुरै भनेरै छुट्टिन्छ । त्यसैले अहिलेसम्मको यिनीहरूको क्रियाकलापले यिनीहरूको जुटाई जनताको सेवाका लागि होइन कि आफ्नै परिवार पाल्ने मोजमस्तीमा जीवन विताउने खालको नै देखिएको छ ।
यिनीहरूको जुटाइले बनाउने कुनै पनि पार्टीहरूले संविधानका यी कुरा गलत छन् । यी कुरालाई यसरी परिवर्तन गरौँ । प्रदेशका रूपमा देश टुक्राउनु गलत थियो । नागरिकता विधेयक गलत िथयो भन्दै भन्दैनन् ।
अझै पनि उही बोकाको टाउको देखाएर कुकुरको मासुको व्यापारतिर लागेका छन् । त्यसैले बजारमा भइरहने यिनीहरूको जुटाइ भनेको उही देशलाई नै पुनः भिन्ननामले लुट्नेभन्दा फरक केही छैन । अतः अब हामी जनताले पनि यिनीहरूको एकतालाई ए ! कता ?उही लुटाइको जुटाइ त हो तिमीहरूको भन्ने दिन आएका छन् ।