Butwal Today

पण्डितपुरमा सुरु भयो पुनः उत्खनन

२९ कार्तिक २०८२, शनिबार
अ+
अ-

नवलपरासी, २९ कार्तिक ।

विगत तीन दशकदेखि निरन्तर पुरातात्त्विक खोज अन्वेषण हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः भई रहेको उत्खनन सुरु भएको छ ।

भूभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पूर्वाधार (स्ट्रक्चर) लाई भौतिक रूपमा नै उत्खनन गरी अन्वेषण गर्ने उद्देश्यले पुरातत्त्व विभागले उत्खनन सुरु गरेको हो ।

पुरातत्त्वविद् भास्कर ज्ञवालीको नेतृत्वमा कार्तिक २४ गते आइपुगेको उत्खनन टोलीले उत्खनन कार्य सुरु गरिएको जानकारी गराएको हो । पहिला भेटिएको प्राचीन इनार र सँगै जोडिएको स्थानमा रहेका पुरातात्त्विक बस्तु पत्ता लगाउन उत्खननका लागि टे«न्च लगाइएको पुरातत्त्व अधिकृत ज्ञवालीले देखाए ।

अहिले पण्डितपुरसँगै सहायक साइटको रूपमा बन्जारिन माई स्थानको पुरातात्त्विक क्षेत्रमा पनि यस पटक उत्खनन गरिने उनले बताए । मङ्सिर १ गतेदेखि त्रिभुवन विश्वविद्यालयका पुरातत्त्व विषयमा अध्ययन गर्ने विद्यार्थीहरू पनि तालिम लिन आउने र उनीहरू पनि उत्खनन कार्यमा लाग्ने उनले जानकारी गराएका थिए ।

अहिलेको उत्खनन कार्य पनि एक महिनासम्म चल्नेछ, उनले भने–‘यदि रामग्राम नगरपालिकाले चाह्यो र लगानी गर्न तयार रह्यो भन्ने यो इनार सहितको पुरातात्त्विक पहिचानका क्षेत्रका स्थान सुरक्षा व्यवस्थापन गरी खुल्ला राख्न सकिन्छ । जुन आउने पर्यटकलाई अवलोकन गर्न सहज हुने उनको भनाइ थियो ।

पुरातत्त्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले विगत वर्षमा नै भूभौतिक सर्वेक्षण गरी प्रतिवेदन बुझाएको थियो, पुरातत्वविद ज्ञवालीले भने, सो प्रतिवेदनको आधारमा निरन्तर उत्खनन भइरहेका छन् ।

गत वर्ष पनि उत्खनन गर्न थालिएपछि पूर्वाधार भेटिएको थियो । अहिले पनि भेटिन थालेको छ, यद्यपि यसको विस्तृत अध्ययन अझै पनि गर्नुपर्नेछ ।

बुद्धको मावली र उनकी पत्नी यशोधराको जन्मस्थल भएको उक्त स्थानको खोज अनुसन्धानका लागि स्थानीयको मागसँगै अन्य देशी विदेशीहरूले समेत चासो ब्यक्त गर्दै आएका छन् ।

कोलिय राजाहरूको राजधानी तथा बुद्धको जन्म दिने महामायाको जन्मस्थल हो । यस स्थानमा संसारभरिबाट बौद्ध मार्गी एक पटक आउन चाहन्छ । यसको देश विदेशमा अझै पनि राम्ररी प्रचार प्रसार हुन सकेको छैन ।

यसले यहाँको धार्मिक पर्यटनलाई बढवा दिइने छ । भगवान् गौतम बुद्धको जन्म दिइने आमा महामाया, पालन गर्ने प्रजावती गौतमी, सिद्धार्थको बुद्धत्व (ज्ञान) प्राप्तिमा सहज सहयोग गर्ने उनकी पत्नी यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुँदा संसारका बौद्ध मार्गीका लागि एक महत्त्वपूर्ण स्थान हो ।

तर आउने बौद्ध मार्गी तथा पर्यटकलाई देखाउनका लागि यहाँका पूर्वाधार खुल्ला राखिने गरिएको (स्ट्रक्चर ओपन) छैन ।
उत्खनन गर्ने र पुर्ने कार्य बर्षाैंदेखि भइरहेको छ ।

त्यसलाई खुल्ला नै राख्न र संरक्षणका लागि नगरप्रमुखले माग राखेको भए पनि निजी स्वामित्वको जग्गामा कसरी खुल्ला राख्ने र संरक्षण गर्ने ? चुनौती देखिएको समेत पुरातत्वविद ज्ञवालीले बताएका थिए ।

यसका लागि पनि ती जग्गाको व्यवस्थापन यदि नगरपालिकाले गरिदियो भन्ने खुल्ला राख्न र संरक्षण योजना बनाउन सकिन्छ । कोलिय गणराज्यको महत्त्व बौद्ध मार्गीका लागि ठुलो छ ।

कोलिय राजाहरूकै स्थापना गरिएको रामग्राम स्तूप अहिले संसारकै लागि एक मात्र मौलिक स्तूप रहेको छ । सो स्तूप अहिलेसम्म मौलिक रूपमा बचाई राख्नका लागि कोलियहरूको ठुलो योगदान हुनु पर्छ ।

तत्कालीन मगध सम्राट् अशोकले अन्य ७ वटा स्तूपको उत्खनन गर्न सक्नु र कोलियले स्थापना गरेको रामग्राम स्तूप उत्खनन नगरी मौलिक रूपमा छाडि दिइनुको पनि कुनै आध्यात्मिक रहस्य नै भएको हुनु पर्छ ।

विभिन्न कालखण्डमा यो क्षेत्रलाई नै देव दह, ब्याग्रपथ, ब्याग्रपुर, बघौरतप्पा, राजधानी रामग्राम, कोलनगर हुँदै अहिले स्थानीयले पण्डितपुर भनेर संज्ञा दिइएका छन् ।

विगत वर्ष देखी नै यस क्षेत्रको खोज हुँदै अहिले चक्रीय प्रणालीमा प्राचीन सहर बसालिएको पुरातात्त्विक अनुसन्धान तथा भूभौतिक सर्वेक्षणले देखाएको छ ।

बुद्ध जन्मनु पूर्व कालका यहाँ भेटिएका समाग्रिको समय परीक्षण (कार्बन डेटिड्ड) ले देखाएको समेत पुरातत्त्व टोलीले जानकारी गराएको थियो । इसा पूर्व ६ सय पुराना प्राचीन बस्तुहरूले पनि यो कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको छ, ।

३६ सय बर्गमिटरमा यो राजधानी क्षेत्र फैलिएको पुरतत्वविदहरूको अनुमान छ । यस गणराज्यको सीमा उत्तरमा चुरे पहाड, पूर्वमा अनोमा (हालको गण्डकी) नदी, पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सीमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर (निगम) हरू रहेको थियो ।

त्यस मध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान् बुद्ध पुगेको बौद्ध साहित्यहरूमा उल्लेखित छ । रोहिणी नदी पश्चिममा रहेको शाक्यहरूको कपिलवस्तु राज्यका राजकुमारी सप्रियालाई पनि कुष्ठरोग लागेको थियो ।

उनी पनि कुष्ठरोग निको पार्न यसै कोल वृक्षको बन क्षेत्रमा आएकी थिइन् । उनको पनि कुष्ठरोग निको भएको थियो । कोल वृक्षको जङ्गलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो ।

सप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुवैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरू बिच बिहेवारिको सम्बन्ध निरन्तरता पायो ।

शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोदनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोदनको दोस्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिइन् ।

महामायाकै कोखबाट शुद्धोदनका पुत्र सिद्धार्थको लुम्बिनी वनमा जन्म भयो । जन्मपश्चात् एक साता मै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् ।

कोलिय राजा दण्डपाणिको विवाह पनि शाक्य राजा शुद्धोदनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो ।

सिद्धार्थको छोरा राहुलको जन्म पश्चात् ज्ञानको खोजीमा सिद्धार्थले गृह त्याग गरेर बोध गयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक् सम्बुद्ध भएका थिए ।