© 2026
पन्ध्र वर्ष अघि राजापुर जाँदा पल्टुन ब्रिज नभएको बेलामा विशाल नदीमाथिको ठूलो डुंगा चढेर कोठियाघाट गेरुवा नदी (कर्णालीको पूर्वी भंगालो) पार गरेको थिएँ ।
कोठियाघाटबाट राजापुरतर्फ हेर्दा विशाल शान्त नदी बगिरहेको देखिन्थ्यो । सोहि ठाउँमा पुल बनेपछि १० वर्ष अघि जाँदा नदीमा परसम्म फैलिएको बगर देखिन्थ्यो र थोरै भागमा मात्र पानी थियो । यही असोजको अन्तिम साता राजापुरबाट गुलरियातर्फ आउँदा गेरुवा नदीमा बनेको पुल मुनि जंगल देखियो । थोरै भागमा मात्र नदी बगेको थियो ।
यात्रा गर्दा त्यो पुल वन्यजन्तुको आवतजावतलाई अवरोध नगर्नको लागि अन्डरपास बनाईदिए जस्तै लाग्थ्यो । गेरुवा नदीको जस्तै अवस्था रूपन्देहीका दानो, कजरार, रोहिणी नदीको पनि छ ।
दुई दशक अघिसम्म तर्न मुस्किल हुने गहिरा र फराकिला नदीहरू अचेल कुलोजस्तो बनेका छन् । नदीको अधिकांश भूभाग पुरिएका छन् र पुरिएको भूभाग बुट्यानले भरिएका छन् या खेतबारीमा परिणत भएका छन् ।
पौराणिक गङ्गा, जमुना र सरस्वति नदीमध्ये सरस्वति नदी धर्तीबाट विलुप्त भएको सुनेको मेरो पुस्ताले आफ्नै छेउछाउका धेरै नदीहरू हराउदै जान लागेको दृश्यहरू देखिरहेको छ । खोला/नदीहरू मर्दै जाँदा विगतमा बनेका पुलहरू खेत र बस्तिमाथी झुण्डिएका देखिन थालेका छन् ।
हिजोका नदीका घाटहरू चौरको विचमा पुरिदै गएका स्मारक जस्ता देखिन थालेका छन् । यी दृश्यहरूले नेपालका नदीहरू कतिन्जेल बाँच्छन होला भन्ने सोच्न बाध्य बनाउँछ ।
कस्ता नदीहरू मर्दै छन् ?
यदि तपाई दुई दशकअघि मेचीदेखि महाकालीसम्म यात्रा गर्नु भएको थियो र अहिलेपनि यात्रा गर्नु भएको छ भने नदीहरू सुक्दै गएको मात्र हैन नदी नै हराउदै गएको प्रत्यक्ष महसुस गर्नुभएकै छ ।
सबैभन्दा बढी तराई र भावर क्षेत्रबाट उत्पन्न भएका खोलाहरू सुक्दै गएको, खुम्चिएको र कतिपय ठाउँमा विगतमा नदी बगेको चिन्ह बाहेक अरू केही नभेटिने अवस्थामा पुगेको देखिन्छ । रूपन्देहीको पूर्वी सिमानामा कुनै समयमा ठुलो खोलाको रूपमा बग्ने कजरार खोलालाई हेर्ने हो भने चुरेका नदीहरूको वास्तविक अवस्था थाहा पाउन सजिलो हुन्छ ।
कुनै समयमा केरवानी र देवदह पञ्चायतको सिँचाईको प्रमुख श्रोत थियो यो खोला । तीनवटा बाँध बाँधेर एक दर्जन गाउँले कुलो बनाएर खेतमा पानी पु¥याएका थिए । खोला तर्न नसक्दा कजरार खोला पूर्वका चारपाला, अस्नैया, ढेकावर गाउँका वासिन्दाहरू लामो दुरी पार गरेर खैरेनी बजार आउने गर्दथे तर अहिले बर्खायाममा समेत जुनसुकै ठाउँबाट सजिलैसंग खोला वारपार गर्न सकिने भएको छ ।
शताब्दी पुरानो सिक्टहन कुलो चल्न छोडेको छ र लौकेस्वर मन्दिर नजिकै बनाईएको बाँधमा पानी संकलन हुन छोडेकोले देवदहको मुख्य भू–भागमा भविष्यमा सिंचाई कसरी होला भन्ने चिन्ता थपिएको छ । यस्तै अवस्था रूपन्देहीका अन्य नदीहरूको पनि देखिन्छ ।
दोश्रो संकटमा परेका खोलाहरू चुरेको माथिल्लो भाग र महाभारतको तल्लो भागबाट उत्पन्न भएका नदीहरू हुन । यी नदीहरू उत्पत्ति थलोमै खुम्चिएकोले तराईमा आउँदा कमजोर हुने र भावर क्षेत्रबाट उत्पन्न भएका नदीहरू सरह हराउदै जान थालेका छन् ।
कपिलवस्तुको बाणगंगा नदी, रूपन्देहीको तिनाउ नदी, दाङ– बर्दियामा बग्ने बबई नदी यसका उदाहरण हुन । मर्दै गएका नदीको तेश्रो समुहमा हिमाली क्षेत्र र माथिल्लो महाभारत क्षेत्रबाट उत्पन्न भएका नदीहरू पर्छन् ।
यी नदीहरूमा बर्खायाममा प्रस्ट पानी देखिने भएपनि हिउँदमा पानीको मात्रा निकै कम हुने भएकोले निकै कम चौडाई र गहिराईमा फैलिएर बग्ने गरेको देखिन्छ । यस्ता नदीहरूले विगत २ दशकमा आफ्नो आधा बहाव क्षेत्र गुमाएका वा धार परिवर्तन गरेका छन् ।
यी नदीहरू तत्कालै मर्ने सम्भावना नभएपनि नदीको पुरानो स्वरूप भने गुमाएर बगिरहेका छन्, आफैले बनाएको नदि सभ्यतालाई भने गुमाईरहेका छन् । राप्ती, कर्णाली नदीहरू यस्ता नदीहरूमा पर्छन् ।
नदीहरू सर्छन ?
हिस्ट्री अफ ब्रिटिश कोलोनीका लेखक मोन्टगमेरी मार्टिनले लेखेको र सन् १८३८ मा प्रकाशित द हिस्ट्री, एन्टीक्युटी, टोपोग्राफी एण्ड स्टाटिस्टिक्स अफ इस्टर्न इन्डिया नामक पुस्तकमा अहिलेको लुम्बिनी प्रदेशको तराईमा रहेका धेरै नदीहरूको विवरण उल्लेख छ ।
यसमा उल्लेख गरिएका राप्ती, वाणगंगा, तिनाउ, रोहिणी, तेलार, डण्डा जस्ता नदीहरू अहिले पनि छन् । तर यी नदीहरूको अवस्थिति र वहावको स्थिति अहिले मिल्दैन । २०० वर्ष पहिले उल्लेखित धेरै खोलाहरू या त आफ्नो अवस्थिति बदलेका छन् या त लोप भएका छन् ।
१२ वर्षमा खोला फर्कन्छ भन्ने नेपाली लोकोक्ति छ । तर एकपटक खोला अर्को ठाउँमा बगेपछि पुरानो ठाउँमा नफर्केको धेरै देखिन्छ । रूपन्देहीको पूर्वी क्षेत्रमा बग्ने रोहिणी नदीको शिर पछ्याउँदै जाने हो भने बुटवल बहुमुखी क्याम्पसको उत्तरमा पुग्न सकिन्छ ।
धेरै विद्वानहरूले अहिलेको चिडियाखोला नजिकैबाट अहिलेको तिनाउ नदी रोहिणी नदीकै रूपमा पूर्वतर्फ बग्ने गरेको र चुरेको भुक्षयले गर्दा पूर्वतर्फको भङ्गालो पुरिएर पश्चिमतर्फ नदि बनेको अनुमान गर्छ्न् ।
नदीको अवस्थिति हेर्ने हो भने कुनै समयमा अहिलेको नहरपुर्, पत्थरगञ्ज, भाटा, भुजौली हुँदै मान पकडीको बाटो हुदै तिनाउ बगेको हुनसक्ने पदचिन्ह भेटिन्छ । प्राकृतिक रूपमा हुने बाढी, भूक्षय, निक्षेपणले विगतमा खोला नदीहरूले विगतमा आफ्नो स्थान वा धार परिवर्तन गर्ने गरेको पाईन्छ । मानव सभ्यता विकसित हुँदै जाँदा सिचाईको लागि बनाईएका बाँध, खेतबारी जोगाउन बनाईएका तटबन्ध र अन्य भौतिक संरचनाहरूले गर्दा नदीहरू सरिरहेको देखिन्छ ।
नदीहरू किन मर्दै छन् ?
नदीहरू सुक्नु, खुम्चनु, बहाव क्षेत्र खुम्चनु र प्राकृतिक अवस्थामा नरहनु नै नदीको मृत्यू हुनु हो । नेपालका सानाठूला सबै खोला नदीहरू मृत्युको संघारमा पुगेका छन् ।
जलवायु परिवर्तनको कारण हिमालमा पर्याप्त हिउँ नपर्दा ठूला नदीहरूमा जल प्रवाहको निरन्तरतामा अनिश्चितता देखिएको छ । ठूला नदीहरूको जलाधार क्षेत्र हिमाल र पहाडी क्षेत्रमा बढ्दो भूक्षयले गर्दा यस्ता नदीहरूले अत्यधिक बालुवा बोकेर तराईमा झर्ने गर्छन् ।
यही बालुवाले गर्दा तराईमा ठूला नदीहरू खुम्चने र धार परिवर्तन गर्ने गरिरहेका छन् । जलविद्युत आयोजनाका बाँधहरूको कारण नदीको प्राकृतिक मार्ग परिवर्तन भएर पुरानो नदी क्षेत्र मृत बन्दै गएका छन् । यसको ज्वलन्त उदाहरण प्रसिद्ध धार्मिक क्षेत्र रिडीलाई लिन सकिन्छ ।
मध्यम किसिमका नदीहरू पनि भूक्षयकै कारण मासिदै गएका छन् । पछिल्लो दशकमा चुरे क्षेत्रको दोहन तीव्र छ । चुरे कटान गरेर खोलामै क्रेसर राखेर नदिजन्य पदार्थको उत्खनन भैरहेको छ । चुरेमा अनेकौ सडकहरू खोलिएका छन् ।
यसले खोला नदीको वहाव परिवर्तन हुने, थुनिने, पुरिने जस्ता समस्या बढेका छन् । नदीको धार परिवर्तन गर्न र खुम्चाउनुमा फोहरमैला र मिचाहा प्रजातिका वनस्पतिले पनि भूमिका खेलेका छन् । गाउँ शहरबाट निस्कने फोहरमैला नदीमा नै फाल्ने प्रवृति बढ्दो छ ।
यस्तो फोहर नदीको पिँधका ढुंगा र किनाराका बुट्यानहरूमा जम्मा हुने र त्यसमाथि बग्दै आएको बालुवा, माटो जम्मा हुदै जाने भएकोले साना खोलाहरू पुरिदै, साघुरिदै गएका छन् ।
खासगरी चुरे र तराईको मैदानी भूभागबाट उत्पन्न भएका खोलाहरूमा यस्ता समस्या देखिएको छ । पछिल्लो समयमा मानिसहरूले खोला, नदी अतिक्रमण गरेर भौतिक संरचना र खेतबारी बनाईरहेका छन् । यस्ता कार्यले नदीको वहाव क्षेत्र खुम्चिएका, धार परिवर्तन भएका मात्र छैनन्, कतिपय स्थानमा खोला नै हराएका छन् ।
नदीको मृत्यु: विपदलाई आह्वान
नदीहरू प्राकृतिक रूपमा बग्न नपाउनु भनेको मानिसको लागि विपदको शुरुवात हो । पुरिएका, थुनिएका र साघुरो बनाईएका खोला, नदीहरू जुनसुकै बेलामा पनि उग्र रूपमा बग्ने सम्भावना रहन्छ ।
जमिन कटान, डुवान जस्ता विपदहरू यस्तै जोखिममा परेका खोला नदि भएको क्षेत्रमा बढी हुन्छ । नदीहरू पुरिदै, सुक्दै जाँदा जलविद्युत उत्पादन, सिंचाई जस्ता कामहरू प्रत्यक्ष प्रभावित हुन्छन र अहिले नदीको अवस्थालाई हेरेर बनाईएका पूर्वाधारहरू बेकामे हुन पुग्छन् ।
खानेपानीको आपूर्ति, वन संरक्षण, खेतीपाती जस्ता कामहरू खोला सुक्ने बित्तिकै प्रभावित हुन्छन् । हाम्रो पूर्वीय संस्कार र परम्परा खोला नदीमा आधारित छन् । खोला, नदी हराउँदा, खुम्चदा र सुक्दा त्यस्ता संस्कार र परम्पराहरू समेत लामो समय जीवित रहन सक्ने छैनन् ।
समग्रमा हेर्दा नदीमा सामान्य गडबडी हुँदा पनि जीवन र जगतमा नकारात्मक असर पुग्ने भएकोले नदीको मृत्यु भएमा प्रकृतिको एउटा मुख्य चक्र नै मर्नेछ । नदी पानी मात्र नभएर एउटा पूर्ण पारिस्थितिक र सामाजिक प्रणाली हो । यसलाई जोगाउनको लागि नदीहरूलाई मर्नबाट जोगाउनुपर्छ ।