© २०२३
काठमान्डौ, १७ कार्तिक ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल ‘शीतलकुमार’ ले माओवादी आन्दोलनभित्र भएका विभाजनहरू वैचारिक कारणले नभई व्यक्तिगत स्वार्थ, असन्तुष्टि र नेतृत्वसँगको असमझदारीका कारण भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पटक–पटक माओवादी पार्टी विभाजन गर्नेहरू अन्ततः पुनः उही राजनीतिक घेरामा फर्किँदै गएको टिप्पणी गरेका छन् ।
गजुरेलले लेखेका छन्, “माओवादीका विभाजनहरू कहिल्यै पनि वैचारिक औचित्य प्रमाणित गर्न सकेनन् । प्रचण्डलाई दोषारोपण गर्दै ‘नयाँ बाटो’ खोज्नेहरू अन्ततः पुनः त्यही घेरामा फर्किएका छन् । विडम्बना के छ भने, आज फेरि त्यही विभाजनको नाटक दोहोरिँदैछ — यो केवल विडम्बना होइन, राजनीतिक अपरिपक्वताको चरम प्रदर्शन हो ।”
उनले २०४६ सालको जनआन्दोलनपछि भएको वाम ध्रुवीकरण र मशाल, चौम, सर्वहारा श्रमिक सङ्गठन र विद्रोही मसालबीचको ऐतिहासिक एकताले जनयुद्धको वैचारिक तथा सङ्गठनात्मक आधार तयार पारेको र त्यसले नेपाललाई गणतन्त्रको युगमा प्रवेश गराएको स्मरण गराए ।
गजुरेलले हालको परिस्थितिलाई पनि त्यसकै निरन्तरता रहेको भन्दै भनेका छन्, “२०८२ सालको जेन–जी आन्दोलनपछिको नयाँ वाम ध्रुवीकरण र आठ वामपन्थी शक्तिबीचको एकताले समाजवादी क्रान्तिका नयाँ आधारहरू निर्माण गर्दैछ । इतिहास फेरि दोहोरिँदै छ, तर यसपटकको दिशा गणतन्त्रबाट समाजवादतर्फको युगीन यात्राको हो ।”
उनका अनुसार हालको एकता प्रयास नै पार्टी रूपान्तरण र समाजवादी भविष्यतर्फको एक मात्र सम्भावित बाटो हो ।