© २०२३
तिहार हिन्दू धर्मावलम्बीहरूको दशैंपछिको सबैभन्दा ठूलो पर्व हो । पाँच दिन सम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ ।
झिलिमिली बत्ती, फूल माला, टीका, देउसी भैलो, उपहार र सहभोजनको पर्वका रूपमा मनाईने तिहारको आज तेस्रो दिन हो । सबैको घरघरमा आज बडो हर्षोल्लासका साथ गाई तथा लक्ष्मीको पूजा गरिदैछ । तिहार पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनबाट शुरु हुन्छ ।
यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने जनविश्वास रहेको छ । तिहारको पहिलो दिन भगवान धन्वन्तरीको जन्म भएको हुनाले यस दिनलाई धन्वन्तरी जयन्ती पनि भनिन्छ ।
तिहार वा यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन पर्वत र भाई पूजा गरिन्छ । विशेषगरी तिहारमा देवीदेउता, दाजुभाई तथा दिदी बहिनी र प्रतिक स्वरूप केही पशुको पूजा अर्चना गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरि तिहारको पहिलो दिन मनाउने गरिन्छ ।
काग अत्यन्त चलाख पंक्षी हो । यसको पूजा गर्नुको विभिन्न कारण छन् । कागले अन्नबालीमा लाग्ने कीरा फट्याङग्राहरू खाइदिने र सबैलाई समान व्यवहार गर्नुका साथै यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि मान्ने धार्मिक विश्वास रहेको छ ।
कुकुर तिहार यम पञ्चकको दोस्रो दिन हो । जसका सम्बन्धमा विभिन्न धार्मिक तथा सामाजिक विश्वास रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुर यमराजको अर्को प्रिय भक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक जनावरको रूपमा लिइन्छ ।
विभिन्न अपराध गरेका अपराधीहरू पत्ता लगाउने तथा अध्यान अनुसन्धान गर्ने कार्यमा समेत कुकुरको प्रयोग गरिन्छ । घरको रेखदेख तथा कुनै प्राकृतिक प्रकोप,दैवी विपत्ती हुने बेलामा पूर्व सूचना दिने समेत गर्ने भएकाले कुकुर तिहारको दिन कुकुरलाई पूजा गरि मनाईन्छ ।
तेस्रो दिन गाई पूजा र लक्ष्मी पूजा एकै दिन मनाइन्छ । गाईलाई लक्ष्मीको प्रतिक मानिन्छ । कुनैपनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर घर, कोठा पवित्र तुल्याउने हिन्दुहरूको संस्कार रहेको छ ।
हिन्दुहरूले गाईलाई लक्ष्मी र गौमाताका रूपमा पनि मान्ने गर्दछन् । कार्तिक कृष्ण औंशीको रातलाई अत्यन्त अँध्यारो रातको रूपमा लिइन्छ । यो अन्धकार रातलाई उज्यालोको प्रकाशले छोपी दिने विश्वासका साथ घरघरमा बत्तीबाली लक्ष्मीको आहन गर्ने परम्परा रहिआएको छ ।
तिहारको चौथो दिन गोवर्धन पूजा गरिन्छ । पौराणिक कथन अनुसार गोवर्धन गोकुल शहर नजिक रहेको एक शहर हो । कृष्ण भगवान गोकुलमा गोपालहरूसंग बस्दथे । गोपालहरू देवताका राजा ईन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रबाट उनीहरूले केहि पनि पाउँदैनथे ।
कृष्णले एक दिन गोकुलबासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी र दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भनि सुझाएछन् । यसमा सबैजना राजी भई उनीहरूले गोवर्धन पूजा गर्न थाले । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले इन्द्र रिसाएर गोकुलमा असिना र पानीको बृष्टी गराउँछन् ।
यो समयमा भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सबै गोकुलवासीहरूलाई आश्रय दिन्छन् । अन्त्यमा हार मानी इन्द्रले आफूले गल्ती गरेकोमा कृष्ण समक्ष क्षमा माग्दछन् । त्यसै दिनदेखि गोवर्धन पूजाको आरभ्भ गरिएको पाईन्छ ।
यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । नेपालीहरूले त यस दिन सालभरी अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनहारी गोरुको पनि पूजा गर्ने गर्दछन् । यो दिन बेलुका घरघरमा देउशी खेल्ने परम्परा पनि रहिआएको छ ।
तिहारको पाँचौ तथा अन्तिम दिन दिदी बहिनीले दाजुभाईलाई पूजा गरि टीका माला लगाएर मनाईन्छ । कार्तिक शुल्क द्वितिया तिथिका दिनपर्ने यो पर्व विशेष उत्साहका साथ मनाउँदै दिदीबहिनी र दाजुभाईबीचको आत्मियता साटासाट गरिन्छ ।
यस दिन दिदी बहिनीले दाजुभाईलाई र दाजुभाईले दिदी बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने गरिन्छ । दिदी बहिनीले दाजुभाईलाई टीका लगाई विभिन्न पकवान मिष्ठान्न, बस्त्र दिने र दाजुभाईले दिदी बहिनीलाई दानदक्षिणा दिने परम्परा छ ।
परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष सम्मान गर्दै भाईपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन भन्ने धार्मिक विश्वास रहेको छ ।
भाई तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिपमरो, ओखर,तेल, मखमली फूलको माला, दुवोसंगै सप्तरंगी टिका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाईको सुख, समृद्धि, आरोग्य एवं दीर्घायुको कामना गरिन्छ ।
लामो समयसम्म भेटघाट नभएका दाजुभाई र दिदीबहिनी भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई थप दिगो बनाउने माध्यमका रूपमा भाईटिका अर्थात तिहार पर्वलाई लिइन्छ । नेपाली परम्परा अनुसार दाजुभाई वा दिदीबहिनी नहुनेहरूले काठमाण्डौको रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिरमा पूजाआजा गरि टिका लगाउने चलन पनि रहेको पाईन्छ ।
समय परिवर्तनसंगै मानिसमा सोच पनि परिवर्तन भएको छ । अहिले त दिदी बहिनीबीच र दाजुभाई बिच पनि एक आपसमा टीका लगाउने र खुशी हुने गरेको देखिन्छ । यसरी तिहारका पाँच दिन रमाईलो गरि मनाउने हुनाले यसको नेपाली साँस्कृतिक महत्व छ ।
तर, अहिलेको परिवेशमा आधुनिकताका नाममा तिहार संस्कृतिको मौलिकता हराउँदै गएको संस्कृदविदहरू बताउँछन् । नेपाली समाजमा भड्किलो विकृति र विसंगति भित्रिएका छन् । जसले गर्दा तिहार पर्वको महत्व प्रत्येक वर्ष घट्दै गएको देखिन्छ ।
तिहारको लागि प्रयोग गरिने टीका, माला र खानेकुराहरू घरमै बनाएर प्रयोग गर्ने चलन नेपाली समाजको हो । आफ्नै घरआगन, बारी, बन जंगलमा उत्पादित हुने कटुस, ओखर, बदाम, दुवो, फूल जस्ता सामाग्रीको सट्टामा मिठाई, विस्कुट लगायतलाई भाई मसला भन्दै प्रयोग गरिन्छ ।
यो समयमा सबैका घरघरमा तिहारे फूल फूलेर घरै उज्यालो, सौन्दर्यताले ढपक्क ढाकेका हुन्थिए तर आजभोली तिहारका लागि भन्दै वाहिरी देशबाट लाखौको फूलका मालाहरू नेपालमा भित्रिने गरेको छ । अझ धेरै त प्लाष्टिकको फूलका माला प्रयोग गर्ने गरिएको पनि पाईन्छ । घर आँगनमा फूलेका फूलहरूको आत्मियता थियो भने यी सबै अहिले छुटेका छन् ।
यसैगरी देउसी भैलोमा गाईने गीतमा पनि मौलिकता हराउँदै गएको छ । मुखले गाउने बजाउने प्रचलन त पुरै हटिसकेको छ, बजारमा आएका गीतहरूको डेकको माध्यमबाट नाचिन्छ । अझै नेपाली गीत कहाँ हो र ठूला ठूला आवाज लगाएर शहरदेखि गाँउघरका चोकचोकमा जम्मा भएर नाच्ने गरेको पाईन्छ ।
घरमा माटोको पालामा दियो बाली पूजापाठ गरिन्थो भने अहिले आयतित झिलिमिली वत्ति बालिन्छ । तिहार पर्वकै नाममा लाखौ रूपैयाँ जुवा तास, र धुम्रपान तथा मध्यपानमा खर्चिने जमात बढ्दो छ । यसले हाम्रो मौलिकतालाई विर्साएको मात्रै छैन, स्वास्थ्यका लागि पनि हानी पु¥याएको छ ।
हो पहिलेको तुलनामा पुरुषले आर्थिक जोहो गर्ने महिलाले घर गृहस्थी धान्ने परिपाटी थियो । अहिले घरसंगै महिला पुरुष पेशा व्यवसायमा जोडिएका छन् । गाउँदेखि शहरसम्म आउँदा थोरै जग्गमा घरमात्र टुपुक्क बनाएर बस्नेको संख्या बढ्दो छ ।
अझै भाडाको घरमा बस्नेहरूका लागि त फूल लगाउने, खानेकुराहरू उब्जाउने सम्भव नै देखिदैन । पेशा व्यवसायमा परिवारका सदस्य व्यस्त हुँदा पकवान गर्ने समय हुँदैन । यसकारण सबै सामग्री बजारबाट खरिद गर्नुपर्ने हुन्छ । तर जे भएपनि आयातित संस्कृतिलाई भित्र्याउन भन्दा जति हुन्छ स्वदेशी सामाग्री प्रयोग गरेर आफ्नो संस्कृति बचाउन चाहीँ सकिन्छ ।
तिहारमा सबैभन्दा बढी खपत हुने फूलहरू मखमली, सयपत्री, गोदावरी हुन । वर्तमान अवस्थामा केही कृषकहरूले व्यवसायिकरूपमा मखमली तथा सयपत्री फूल खेती गर्न लागेका छन् । नेपाल सरकारले पनि मखमली फूललाई व्यावसायिक रूपमा खेती गर्ने किसानलाई अनुदान प्रदान गर्दै सहयोग गरेको पाईन्छ ।
देशभरका झण्डै २७० हेक्टर क्षेत्रफलमा पुष्प खेती गरिएको छ भने रूपन्देहीका केही स्थानीय तहहरूले पनि यो अभ्यास गरेको देखिन्छ । तिलोत्तमा नगरपालिकाले विगत केही वर्षबाट नै मखमली फूल उत्पादनमा आत्मनिर्भर भएको दावी गर्दै आयातित फूललाई निषेध गरेको छ ।
बुटवल उपमहानगरपालिकाले पनि यसै वर्षबाट प्लाष्टिक तथा वाहिरबाट आएका फूलको प्रयोगलाई रोक लगाउँदै स्थानीय स्तरमै उत्पादन गरिएको फूल प्रयोग गर्न पहल कदमी सुरु गरेको देखिन्छ । तिहारमा प्रयोग गरिने फूलमा जस्तै अन्य सामग्री उत्पादनमा सरकार र नागरिक दुबैले जिम्मेवारी लिने हो भने आत्मनिर्भर संगै नेपाली संस्कृतिको संरक्षण हुनेछ ।
२०८२ को तिहार पर्व तथा यमपञ्चक कार्तिक १ गते धनतेरस, धनत्रयोदशीबाट सुरु भई कार्तिक ६ गते भाई टीका लगाएर समापन गरिनेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको भाई टीकाको उत्तम साइत कार्तिक ६ गते बिहिवार बिहान ११ः३९ बजे रहेको छ ।
समय परिवर्तन संगै जेजति भएपनि तिहार पर्वको संस्कृति र महत्वलाई बुझेर पर्व मनाउने गरौ । यस अवसरमा विकृतिका रूपमा फैलिएको पटका पटकाउने गर्दा आगलागी, अरूलाई लागेर घाइते हुने, आँखा लगायत अङ्गभङ्ग हुने जस्ता दुर्घटना पनि हुने गरेको छ । विकृतिलाई निरुत्साहित गर्दै आत्मियताको पर्वकोरूपमा तिहारलाई परिस्कृत गरौ भन्दै सबैमा शुभकामना छ ।