© २०२३
नेपालगञ्ज, १२ असोज
बाँकेको राप्ती सोनारी गाउँपालिकामा १८४ वटा घरपालुवा कुकुरलाई रेविजविरुद्धको भ्याक्सिन लगाइएको छ ।
१९औँ विश्व रेविज दिवसको अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी अभियानअन्तर्गत पालिकाका ९ वटै वडामा घरपालुवा कुकुरलाई निशुल्क भ्याक्सिन लगाइएको हो ।
गाउँपालिकाले असोज ६ गतेदेखि सुरु गरेको कार्यक्रमलाई पालिका अध्यक्ष तप्तबहादुर पौडेल र उपाध्यक्ष मनिषा सिंह थारुले संयुक्त रूपमा उद्घाटन गरेका थिए । एक साता सम्म गाउँपालिकाको प्रत्येक वटा वडामा गएर १७३ वटा कुकुरलाई भ्याक्सिन लगाइएको थियो ।
कार्यक्रमको अन्तिम दिन आइतबार गाउँपालिका कार्यालयमा छुटेका थप ११ वटा कुकुरलाई भ्याक्सिन लगाइएको पशुशाखा प्रमुख डा. जयबहादुर कार्कीले जानकारी दिए ।
डा. कार्कीका अनुसार पछिल्लो समय गाउँघरमा घरपालुवा कुकुर पाल्ने स्थानीयको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । यस सन्दर्भमा उनले नियमित खोप कार्यक्रमलाई निरन्तरता दिँदा मात्र रेविज नियन्त्रणमा प्रभावकारी परिणाम देखिने विश्वास व्यक्त गरे ।