Butwal Today

अविरल वर्षाले कञ्चनपुरमा ४५ घर डुबानमा

१६ भाद्र २०८२, सोमबार
अ+
अ-

कञ्चनपुर, १६ भदौ

आइतबार रातिदेखिको लगातार वर्षाका कारण कञ्चनपुर जिल्लाका विभिन्न स्थानहरू डुबानमा परेका छन् ।

बाढीले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदी नजिकका बस्तीहरूमा पसेपछि कम्तीमा ४५ घर प्रभावित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार दोधारा चाँदनी नगरपालिका- ८ अन्तर्गत रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पसेपछि २५ घर डुबानमा परेका छन् ।

तीमध्ये ७० जना विस्थापित भएका छन् र उनीहरूलाई नजिकको विद्यालयमा सुरक्षित राखिएको छ । प्रभावित परिवारका सदस्यहरूसँगै चौपाया र आवश्यक सामग्री पनि सुरक्षित स्थानमा सारिएको छ ।

यस्तै, दोधारा चाँदनी नगरपालिका -३ स्थित पटराखल्लाका १५ घर डुबानमा परेका छन् । त्यहाँका ५५ जनालाई जमुना आधारभूत विद्यालयमा राखिएको छ । भीमदत्त नगरपालिका- ११ स्थित भुजेलामा पनि पाँच घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

अर्कोतर्फ, लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह उच्च भएको छ । नदीको जलप्रवाह एक लाख ४० हजार २५० क्युसेक पुगेको छ ।

डीएसपी बोहराका अनुसार भारतीय पक्षले पानीको सतह एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमार्फत चल्ने चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनको आवागमन रोकेको छ ।

डुबान प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत कार्य जारी रहेको प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले थप वर्षा हुन सक्ने अनुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।