© २०२३
नवलपरासी, १२ भदौ ।
जिल्लाको सुनवल–१२ बडेरास्थित हरि भण्डारी जैविक मल ( गँड्यौला मल) बनाउने कार्यमा जमेका छन् । मलमै भविष्य देख्दै उनी अहिले गँड्यौला मल बनाउने कार्यमा जुटेका हुन् ।
सुरुमा थलिएको कृषि फर्म अहिले गँड्यौला मलको फर्ममा परिणत गर्दै भण्डारी अहिले गँड्यौला मलको क्षेत्र बिस्तार गर्ने सोच बनाएको सुनाए । ‘थोरै मल बनाउँदा बाहिरसम्म निर्यात गर्न सकिएन,’ उनले भने–‘मलको अर्डर गर्दा एक गाडी चाहियो भन्छन्, जुन तत्कालै बनाएर आपूर्ति गर्ने अवस्था हुँदैन ।
यदि तुरुन्तै आपूर्ति गरियो भन्ने पक्कै त्यो गँड्यौला मल हुँदैन । गँड्यौला मल बन्नका लागि कम्तीमा तीन देखि चार महिना लाग्छ नै ।’ उनले आफ्नो अनुभव सुनाउँदै भने–‘थोरै मात्रामा उत्पादन गर्दा बिक्री गर्ने समस्या देखियो । त्यही भएर अहिले यसको क्षेत्रफल बढाउने तर्फ लागेको हुँ ।’
गाउँबाट गोबर सङ्कलन गरिन्छ, त्यसमा गँड्यौलालाई तहगत राखिन्छ । माथिबाट केही पातपतिङ्गरको सोतर राख्ने गरिन्छ । उन्नत खालका गँड्यौलाहरू बिस्तारै गोबर खाँदै हुर्किन थाल्छन् । गोबरलाई मलमा परिणत गर्दै पनि जान्छन् ।
माथिल्लो सतहबाट गोबर खाँदै मल बनाउँदै तल्लो सतहसम्म जाने क्रममा माथिबाट मल सङ्कलन गर्दै थुपार्दै लगिन्छ । यसका लागि गँड्यौला मलको फर्ममा दैनिक चार जना कामदार मल सङ्कलनमै लागेका हुन्छन् ।
गँड्यौलालाई अक्सिजनका लागि पनि बिस्तारै गोबरलाई चलाउने काम पनि गरिन्छ । आर्द्रता मिलाउन बेला बेला पानी छर्कने काम पनि हुन्छ । उनले पहिला गँड्यौला मल सुन्ने गरिन्थ्यो, अहिले आफै लागेर काम गर्दा आफूलाई फरक अनुभव भइरहेको सुनाए ।
वास्तवमा सजीव हलो भनेर पुराना बुढापाकाहरू भन्ने गर्थे, जमिनलाई गँड्यौलाले नै चालेर जोताई गरिदिए जस्तो बनाई दिन्थे । ती काम यो फर्ममा आफ्नै आँखाले देखिन थालिएको उनले अनुभव सुनाए ।
तर अहिले किसानले प्रयोग गर्दै आएका रासायनिक मल, किरा तथा झारपात मार्न प्रयोग गरिने विषादी, बालीनाली काटिसके पछि खेतबारीमा लगाउने आगलागी गँड्यौलाका शत्रु भए । जुन कुरा अहिले धेरै किसानले बुझ्दै गएका छन् । किसानको आकर्षण पनि जैविक मल प्रति बढेको देखिन्छ ।
तर त्यो जैविक मल कसरी बनाउने, कसरी प्रयोग गर्ने विधि बिस्तारै हराउँदै गएको छ । विधि प्रक्रिया बिर्सिसकेका किसान त्यसको खोजीमा छन् । जैविक मलको प्रयोग गर्न चाहन्छन् । बजारमा अहिले जैविक मलको माग बढ्दो छ ।
जैविक मलको नाउँमा किसान भ्रमित नहोउन् भनी आफू गँड्यौलाको फार्मिगँसँगै गँड्यौला मलको उत्पादनमा जुटेको बताए ।
जैविक मलको नाउँमा केही कम्पनीहरू पनि खुलेका छन् । जुन किसानलाई जैविक मल भनेर कमसल सामग्रीलाई पिसेर पछि दाना दाना तयार गरी जैविक मलको ब्राण्डिड्ड र विक्री वितरण गर्दै आएका छन् ।
कमजोर सरकार र असङ्गठित किसानको फाइदा अहिले जैविक मल कम्पनीले उठाउने गरेको उनले अनुभव पनि सुनाए । कम्पनीले कसरी दानादार जैविक मल तयार गर्न सक्छ ? उनले प्रश्न गरेका थिए ।
जैविकको अर्थ जुन मलमा प्रत्यक्ष जिउँ रहन्छन् । खेतबारीमा पुग्दा आफ्ना वंश विकास गर्दै माटो र झारपात खाँदै खेतबारीमै मल बनाउने प्रक्रियामा लाग्छन् । जसको प्रत्यक्ष उदाहरण उनले देखाए ।
यदि यो गँड्यौला मल खेतबारीमा हालियो भने यसमा अहिले पनि गँड्यौलाका स–साना लार्भा, प्युपा, फूल र केही गँड्यौला नै मिसिएर खेतमा पुग्छन् । खेतमा पुगेर ती गँड्यौलाहरू आफ्नो बंस विकासमा लाग्दा माटो र झारपात खाँदै मलको स्वरूप प्रदान गर्छन् ।
यी कुरा किसानलाई बुझ्न र बुझाउन अति आवश्यक रहेको उनले बताए । धेरै किसानलाई आफ्नो कृषि कर्म, खेतीपाती, बालीनालीको बारे आधारभूत ज्ञान नहुँदा मल हालेर बाली बढाउने धुनमा बजारमा जे पायो, त्यही हल्लाको भरमा प्रयोग गर्यो,उनले भने, दुःखद पक्ष तँ यो छ, कि सरकारी निकायले नत यसबारे कृषि सचेतना सञ्चालन गरेको छ, नत कृषि र कृषकसँग खेलेर आफ्नो कमाई बाटो मात्र बनाउनेलाई सरकारले नियन्त्रण गर्न सकेको छ ।
सरकारी निकायका नियमन अधिकारीहरूकै संलग्नता ती उद्योगसँग रहेको देखिन्छ । जनप्रतिनिधि पनि तिनैलाई प्रोत्साहन गर्दै व्यापारमा लागेका हुन्छन् । सस्तो लोकप्रियताका लागि विना परीक्षण भिआइपीहरू ती उद्योगको अनुगमन नियमन भन्दा उद्घाटन गर्दै प्रोत्साहित पनि गरिदिन्छन् ।
बिचरा किसान कसको भरोसा गरुन्, उनले दुःख ब्यक्त गरेका थिए । यस्तै रवैयाले आज जमिनको अवस्था बिग्रिँदै गएको देखिएको छ । जैविक मलको नाममा विभिन्न बस्तुमा माटो सिँचाइ जैविकको व्यापार हुँदै छ ।
अहिलेका किसानहरू अर्ग्यानिक मल प्रति आकर्षित भइरहेको बेला जैविक बलको नाउँमा ठगी गरिरहेको केही उद्योगलाई नियमन र नियन्त्रण गर्न आवश्यक रहेको उनले सुनाएका थिए ।
सरकारले चाह्यो भन्ने सबै किसानलाई यस्ता गँड्यौला फर्म प्रोत्साहित गरेर जैविक मल अभियान सञ्चालन गर्न सक्छ, त्यसका लागि आफू सहजीकरण गर्न तयार रहेको बताए ।
आफू केही स्थानीय तहमा प्रस्ताव लिएर गए पनि खासै वास्ता गरिएको पाइएन । जनताका लागि जनप्रतिनिधि नै यी कुरा सुन्न चाहँदैनन् । कर्मचारीलाई तँ यो झन्झटिलो प्रस्ताव त भई नै हाल्छ । किसानले पहिला जस्तो पशुपालन पनि गर्न छाड्दै गए । घरमै तयार हुने गोबर मल पनि हराउन थाल्यो ।
पहिला गोरु पाल्ने किसानले अहिले ट्क्याटरले जोताई तँ गर्ने भए,तर गोरुले दिइने गरेको गोबर ट्याक्टरले तँ दिदैन्,उनले तर्क दिँदै भने, ट्याक्टरले यदि खेत जोतेर सहज बनाउने कार्यसँगै बिदेसिने युवाहरूलाई यस्तो गँड्यौला मल बनाउने कार्य प्रति सरकारले प्रोत्साहित गरिदिन्थ्यो भने बिदेसिने युवा स्वदेशमा काम पाउँथे र माटोको गुणस्तर सुधार्नमा योगदान पु¥याउने थिए ।
नवलपरासीकै जङ्गलमा अहिले साढे ६ लाख क्विन्टल झारपात छन्,जुन सुकेर पछि बनमा डढेलो लगाउँछन् । ती झारपात सङ्कलन र कम्पोस्ट मललाई प्रोत्साहन गरिदिँदा पनि बन जोगाउने माध्यम, माटो सुधार्ने उपकरण बन्नेमा उनले विश्वास ब्यक्त गरेका थिए ।
नेचुरल गँड्यौला मल नामको उक्त गँड्यौला मल अहिले स्थानीय किसान खरिद गरी लग्ने गरेको उनले बताएका थिए । तर टाढा टाढाबाट पनि खरिदका लागि अर्डर आइरहेको छ, तर धेरै मात्रामा तयार गरियो भन्ने मात्र ती मल विक्री वितरणको सहज वातावरण बन्ने विश्वासले क्षेत्रफल विस्तारमा आफू लागेको सुनाएका थिए ।