© २०२३
पाल्पा, ९ भदौ
विगतमा नेपाली हिन्दु महिलाहरुले हरितालिका तीजलाई मौलिक संस्कृति र धार्मिक आस्थासहित मनाउने गर्थे। तर पछिल्ला वर्षमा यसको मौलिकता हराउँदै गएको भन्दै पुराना पुस्ताका महिलाले चिन्ता व्यक्त गरेका छन्।
वगनासकाली गाउँपालिका–चितुधाराकी ७० वर्षीया बालकुमारी खनाल भन्छिन्, “अघिल्ला पुस्ताले तीजलाई नारीका पीडा, वेदना र समाजका विकृति शब्द–शब्दमा बुनेर गाउने पर्वका रुपमा मनाउँथे। तर अहिले स्वतन्त्रता र आधुनिकताको नाममा मौलिकता नै हराएको छ।”
तानसेन नगर दमकडाकी हरीकला लुइटेलका अनुसार पहिले महिलाहरु साउने सक्रान्तीदेखि नै रातमा टोल–टोलमा भेला भएर ताली बजाउँदै तीजका भाका गाउँथे। नयाँ पुस्तालाई यस्तो प्रचलनको अनुभव नै नभएको उनी बताउँछिन्। माइती जाने, आमाले पकाएको दर खाने, शिवको व्रत बस्ने परम्परा पनि हराउँदै गएको पुराना पुस्ताले स्मरण गरेका छन्।
तिनाउ गाउँपालिका–मस्यामकी दमयन्ती कार्की भन्छिन्, “पहिला तीज सामाजिक एकता र सांस्कृतिक पहिचानलाई बलियो बनाउने पर्व थियो। तर अहिले स्वतन्त्रता र आधुनिकताको नाममा विकृति फैलिँदा मौलिकता हराएको छ।”
पूर्वखोला गाउँपालिकाकी ६८ वर्षीया विष्णुकुमारी आचार्यले तीज पहिले सीमित जात–जातिको पर्व रहे पनि अहिले सबै समुदायले मनाउने गरेको बताइन्। तर उनी पनि पूँजीवादी संस्कृतिको प्रभावमा मौलिकता हराउँदै गएको बताउँछिन्। उनका अनुसार, “पहिले दर खाने दिन दुध, दही, घिउ, खिर, सलाद जस्ता शाकाहारी परिकार बनाइन्थ्यो। तर अहिले मासु र मदिरा अनिवार्य भएको छ, जुन मौलिक परम्पराको विपरीत हो।”
गायिका विष्णु पन्थका अनुसार तीजका मौलिक गीत हराउँदै गएको अर्को कारण नयाँ पुस्ताको रुचि हो। उनी भन्छिन्, “अघिल्ला पुस्ताले भगवान आराधना गर्ने भाका गाउने गर्थे। तर अहिले व्यवसायिक सोचका कारण मौलिक गीत–संगीत हराउँदै, आधुनिक शैलीका सर्जक र गीतको भीड मात्र बढेको छ।”
समाजका अग्रज महिलाहरुले व्यक्त गरेझैँ, मौलिकता, धार्मिकता र सांस्कृतिक पहिचानमा आधारित तीज पर्व आजभोलि आधुनिकतासँगै विकृति र प्रदर्शनको जालोमा हराउँदै गएको देखिन्छ।