© २०२३
समाचार सारांश
करिब ५४ वर्ष पहिले (वि.सं. २०२८ सालदेखि) थारु समुदायका किसानहरूले काँडा झार उखेलेर जंगलको जमिनलाई खेतीयोग्य बनाएका थिए ।
पुराना जमिनदार जयराम सिंहका छोरा पुरन सिंह ठकुरीले सो जमिन आफ्नो “छुट जग्गा” भएको भन्दै मालपोत कार्यालयमा उजुरी दिएका छन् ।
साबिक विनौना गाविसले वि.सं. २०५६ सालमै जोतभोगको आधारमा स्थानीय किसानको नाममा सिफारिस गरेको प्रमाण छ ।
नेपालगञ्ज, ३० साउन ।
जिल्लाको राप्ती सोनारी–५ जबरपुरको माटो आज कानुनी कागजको युद्ध भूमि बनेको छ । करिब ६ दशक अघि नाङ्गो खुट्टाले काँडा र झार उखेलेर रोपिएको खेत जमिनदारको दाबीपछि कानुनी झमेलामा परेको छ ।
वि.सं. २०२८ सालदेखि खेत जोतेर, पसिना पोखेर र पाखो जमिनलाई हरियो बनाउँदै आएको जबरपुर गाउँको जमिन अनिश्चितताको घेरामा परेको हो । पुराना जमिनदार जयराम सिंहका छोरा पुरन सिंह ठकुरीले “यो मेरो छुट जग्गा हो’’ भनेर मालपोतमा उजुरी दिएपछि, ५४ वर्षदेखि त्यही जमिन जीवन गुथेका किसान मर्कामा परेका हुन् ।
यो ठाउँमा राप्ती सोनारी गाउँपालिका, भूमि आयोगले हालै नाप जाँच र कित्ता काट गरेर निस्सा वितरण गरिसकेको थियो । अझ, २०५६ सालमै साबिक विनौना गाविसले पनि जोतभोगको आधारमा किसानको नाममा जग्गा प्रमाणित गरेको कागजात दिएको थियो । तर, अहिले गाउँपालिका र भूमि आयोगबाट लालपुर्जा वितरणको तयारी भइरहेको बेलामा पुरन सिंहको दाबीले गाउँको वातावरण एकाएक तनावपूर्ण बनाइदियो ।
स्थानीय रामकुमार थारु भन्छन्, “ठकुरी जमिनदारले ३२ वर्षअघि आफ्नो ३२ बिघा नम्बरी जग्गा बेचेर जानुभयो । अहिले आएर हामीले दुःख गरेर उब्जाएको ऐलानी जमिन आफ्नो हो भनेर दाबी गर्नु अन्याय हो ।” उनका अनुसार ठकुरीले दाबी गरेको क्षेत्र पहिलेको जग्गाभन्दा निकै बाहिर पर्छ, जहाँ अहिले एक सय दुई घरधुरी बसोबास गर्छन् ।
अर्का स्थानीय ऋषिराम थारुको स्मरण अझै टड्कारो छ । यो जमिन पुरन सिंहका बुवा जयरामसिंहको मौजा भए पनि, अहिले दाबी गरिएको यो क्षेत्र जंगलाथको थियो । २०२८ सालदेखि थारु समुदायका किसानहरूले मेहनतले खेतीयोग्य बनाएका थिए ।
उनी भन्छन्, “पञ्चायतकालमा म वडा अध्यक्ष हुँदा पनि ठकुरी जमिनदारले आफ्नो छुट जग्गा भनेर सिफारिस लिएर दर्ता गराए, तर मैले मालपोतमै गएर त्यो बदर गराएँ ।” २०४४/०४५ मा पनि सरकारले जग्गा नाप जाँच गर्ने क्रममा जयराम सिंहले आफूले मुद्दा जितेको प्रमाण देखाउँदा नापीले होइन भनेर प्रमाण फालिदिएको घटना सम्झिए ।
स्थानीय किसानले आबादी गरेको जग्गा पटक पटक आफ्नो हो भनेर जयरामसिंहले दाबी गर्दै आएको उनले स्मरण गरे । उनले भने, ‘‘जसले वर्षौँदेखि जोत भोग गर्दै आएको छ उसैको नाममा दर्ता हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’’
राप्ती सोनारी –५ का वडा अध्यक्ष झगरु थारुका अनुसार, नेपाल सरकारले १० वर्ष जोतेको जमिन जोत्नेकै नाममा दर्ता गर्ने निर्णय गरेपछि गाउँमा लालपुर्जा वितरणको अन्तिम चरण चलिरहेको थियो । यही समयमा पुरनसिंहले दाबी गर्न आएपछि लालपुर्जा वितरणको कार्य अन्योलमा परेको उनले बताए ।
साबिक विनौना गाविसको वडा नम्बर १ जबरपुरबाट नै अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच सुरु गरेर अहिले सबै गाउँ टोलमा कित्ता काटपछि निस्सा वितरण गरी लालपुर्जा मात्र दिन बाँकी रहेको बताए । “अब कसले पाउँछ, कसले पाउँदैन भन्ने कुरा न्यायालयको निर्णयमा छ,” उनले स्पष्ट पारे ।
तर पुरन सिंह ठकुरीको कथन फरक छ । उनका अनुसार उनका बुवा जयराम सिंहले २०१९/०२० सालमा जग्गा खरिद गर्दा वन क्षेत्र भएको भन्दै मुद्दा चलेको थियो, जुन २०३४ सालमा सुदूरपश्चिम क्षेत्रीय अदालतले उनीहरूको पक्षमा फैसला गरेको हो ।
सोही आधारमा ऐलानी तथा जंगलाथ क्षेत्रमा अझै आफ्नो करिब ८ बिघा ४ कट्ठा, साढे ९ धुर छुट जग्गा रहिरहेको दाबी गर्दै उजुरी दिएको प्रतिक्रिया दिएका छन् । बुवा जयराम सिंहले जग्गा खरिद गर्दाको राजीनामा पत्र र सुदूरपश्चिम क्षेत्रीय अदालतको फैसलाको कागजात आफूसँग सुरक्षित रहेको उनी बताउँछन् ।
यस्तै विक्रम संवत् २०४३ सालमा तत्कालीन प्रधान पञ्च गोर्खु थारुले निज जयराम सिंहको नाममा जग्गा दर्ता गर्दिनु भनेर मालपोतमा सिफारिस गरेको नक्कल समेत सुरक्षित राखेको उनको भनाई छ । आवश्यक परे अझ धेरै प्रमाणहरू जुटाउन सकिने उनी दाबी गर्छन् । “कानुनले जसको पक्षमा फैसला गर्छ, म स्विकार्छु । गाउँका मानिससँग व्यक्तिगत रिस–राग छैन,” ठकुरी भन्छन् ।
हाल, ठकुरीले दाबी गरेको क्षेत्रमा ७१ जना परिवारले वर्षौँदेखि जोत भोग गर्दै आएका छन् । ठकुरीले उजुरी दिएपछि मालपोत कार्यालय बाँकेले ३५ दिने सूचना जारी गर्नासाथ जबरपुरका ती स्थानीय बासिन्दाले आफूले जोत भोग गर्दै आएको जग्गामा ठकुरीको कुनै छुट जग्गा नरहेको भन्दै उजुरीउपर आफ्नो हकदावी गरिसकेको बताउँछन् ।
