© २०२३
देवदह, २८ साउन ।
रूपन्देही देवदहको शित्तलनगरमा रहेको दूर्गा मन्दिर संरक्षण समितिले निर्माण गरेको बालगोपाल सिस महलको निर्माण सम्पन्न भएको छ । सिस महलको शिलन्यास गरिएको एक वर्षमा निर्माण सम्पन्न गरिएको हो ।
सिस महलको निर्माण सम्पन्नसँगै यहि साउनको ३१ गते श्रीकृष्ण जन्माष्टमीका दिनमा उद्घाटन गरिने कार्यक्रम समेत रहेको मन्दिर संरक्षण समितिले जनाएको छ । दूर्गा मन्दिर संरक्षण समितिले थालेको मणिदीप धाम निर्माणको परिकल्पना अन्तर्गतनै मन्दिर परिषरमा बालगोपाल सिस महल निर्माण गरेको हो ।
झण्डै ७५ लाख लागतमा निर्माण सम्पन्न भएको बालगोपाल सिस महलभित्र कृष्णको बाललिला, बालगोपीनि लिला, कालिनाग मर्दन, कृष्ण विराट स्वरूपलगायतका कलाकृतिहरू कोरिएको दुर्गा मन्दिर संरक्षण समितिका अध्यक्ष सिपी बस्यालले जानकारी दिए ।
सिस महलको बारेमा जानकारी दिने उद्देश्यले मंगलबार मन्दिर परिषरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बस्यालले साउन ३१ श्रीकृष्ण जन्माष्ठमीका दिनमा १००८ स्वामी विवेकानन्द सरस्वतीजी महाराजले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।
उनले दुर्गा मन्दिर संरक्षण समितिले थालेको देवदह मणिदीप गुरुयोजना अन्तर्गत मन्दिर हाताभित्र अर्जुनरथ, बुद्धबिहार, वाटर फाउण्टेन, रमणीय धार्मिक पार्क, विश्राम स्थल, आकर्षक प्रवेशद्वारलगायतका पूर्वाधारहरू निर्माण गरिएको जानकारी दिए ।
सोही दिन संघीय सांसद छवीलाल विश्वकर्माले मन्दिर परिषरभित्रै रहेको बुद्ध बिहारको उद्घाटन गर्ने समेतको कार्यक्रम रहेको बताए । देवदह क्षेत्रको धार्मिक पर्यटन विकास महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास दिइएको छ ।
खर्च व्यवस्थापन मन्दिरको आफ्नै आम्दानी, दान दक्षिणा, स्थानीय चन्दादाता, सहयोगी महानुभावहरू, देवदह नगरपालिका लगायतबाट सङ्कलन गरिएको र आगामी दिनमा सोही अनुसारनै मन्दिरका अन्य पूर्वाधारहरू बढाउँदै जाने उनले बताए ।
उद्घाटनका दिनमा सिस महल प्रवेशका लागि निःशुल्क गरिएता पनि उद्घाटनसँगै अन्यदिनमा सिस महल अवलोकनका लागि शुल्क लाग्ने कोषाध्यक्ष दिनानाथ सापकोटाले जानकारी दिए । सर्वसाधारणका लागि ५० रुपैयाँ प्रवेश शुल्क राखिएको सिस महलका लागि विद्यार्थी, असहाय र वृद्धवृद्धाका लागि ३० रुपैयाँ तोकिने कोषाध्यक्ष सापकोटाले जानकारी दिए ।