Butwal Today

सङ्गीतको तालमा नाच्दै कुञ्जपार्कको पानी

११ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

बुटवल ।
कुनै बेला झाडीले ढाकिएको जमिन । स्थानीय बासिन्दाको पहलमा झाडी फाँडेर सुरु भएको संरक्षण र विकासको प्रयास । वर्षौंको मेहनतपछि त्यही ठाउँ अहिले हरियाली, पोखरी, नौकाविहार र मनोरञ्जनको गन्तव्य बनेको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित कुञ्जपार्कको यही यात्रामा अहिले अर्को आकर्षण थपिएको छ–सङ्गीतको तालमा नाच्ने पानीको फोहोरा ।

पोखरीको पश्चिमी किनारमा निर्माण गरिएको म्युजिकल वाटर फाउन्टेन सञ्चालनमा आएसँगै कुञ्जपार्कको आकर्षण थपिएको छ । पानीका फोहोरा र सङ्गीतको संयोजनले पार्कलाई मनोरञ्जनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । स्थानीय बासिन्दाको करिब १६ वर्षदेखिको प्रयासमा नगरपालिकाको लगानी थपिएपछि पार्कले पर्यटकीय सम्भावनाको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ ।

तिलोत्तमा नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण गरेको फाउन्टेनको सोमबार साँझ नगर प्रमुख रामकृष्ण खाणले उद्घाटन गरे । यसका लागि नगरपालिकाले एक करोड ६१ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाका अनुसार निर्माणका क्रममा हालसम्म एक करोड २४ लाख रुपियाँ भुक्तानी भइसकेको छ । फाउन्टेन प्रत्येक शनिबार प्रदर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

फाउन्टेनको निर्माणले कुञ्जपार्कमा मनोरञ्जनको एउटा नयाँ माध्यम थपेको छ । तर, यसको महत्त्व पानीको फोहोरा र सङ्गीतको प्रदर्शनमा मात्रै सीमित छैन । पर्यटकलाई आकर्षित गर्ने, उनीहरूको बसाइ लम्ब्याउने र त्यसबाट स्थानीय व्यवसायलाई लाभ पु¥याउने नगरपालिकाको अपेक्षासँग पनि यो आयोजना जोडिएको छ ।
बुटवल–भैरहवा व्यापारिक मार्गको मङ्गलापुरबाट पश्चिमतर्फ कुञ्जलापुर गाउँको बिचमा रहेको कुञ्जपार्कको विकास स्थानीय बासिन्दाको सक्रियताबाट सुरु भएको हो । करिब १६ वर्षअघि छत्रबहादुर दर्लामीको पहलमा झाडी फाँडेर पार्क निर्माणको काम थालिएको तिलोत्तमा–६ का वडाध्यक्ष गणेश पाठक बताउँछन् ।

स्थानीयको प्रयासबाट सुरु भएको अभियानले क्रमशः आकार लिँदै गयो । सार्वजनिक जमिनलाई उपयोगी बनाउने र समुदायका लागि खुला मनोरञ्जनस्थल तयार गर्ने उद्देश्यले सुरु गरिएको कामले अहिले पर्यटकीय गन्तव्यको रूप लिएको छ । स्थानीयको निरन्तरको सक्रियतापछि नगरपालिकाले पनि पार्कको विकास र व्यवस्थापनमा लगानी बढाउँदै आएको छ ।

सात बिघा क्षेत्रफलमा फैलिएको पार्कमा एक बिघाको पोखरी छ । पोखरीमा नौकाविहार गर्न सकिन्छ । हरियालीयुक्त चौर, वनभोज स्थल, बस्ने ठाउँ र खानपिनको व्यवस्थाले पनि पार्कलाई परिवार तथा साथीभाइसँग समय बिताउने उपयुक्त स्थान बनाएको छ । अब पोखरीको किनारमा थपिएको म्युजिकल वाटर फाउन्टेनले यसको मनोरञ्जनात्मक पक्षलाई अझ विस्तार गर्ने अपेक्षा गरिएको छ ।

कुञ्जपार्क विकास समितिका अध्यक्ष लोक पुन स्थानीयको लामो प्रयासमा नगरपालिकाको लगानी थपिएपछि पार्कको आकर्षण बढेको बताउँछन् । समुदायको पहलबाट सुरु भएको पार्क अहिले पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै जानु स्थानीयको सामूहिक प्रयासको परिणाम भएको उनको भनाइ छ ।

तिलोत्तमा नगरपालिकाले कुञ्जपार्कलाई मनोरञ्जनस्थलमा मात्रै सीमित नराखी पर्यटकको बसाइ लम्ब्याउने माध्यमका रूपमा विकास गर्न खोजेको छ । नगर प्रमुख खाणका अनुसार ‘भिजिट लुम्बिनी, स्टे तिलोत्तमा’ भन्ने नारालाई सार्थक बनाउन फाउन्टेन निर्माण गरिएको हो ।
लुम्बिनी आउने पर्यटकलाई तिलोत्तमासम्म आकर्षित गर्ने र यहाँ केही समय बिताउन प्रेरित गर्ने उद्देश्य नगरपालिकाको छ । पर्यटकको आवागमन बढेमा स्थानीय होटेल, रेस्टुरेन्ट तथा अन्य व्यवसायको कारोबारमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरी स्थानीय बासिन्दाको लगन र मेहनतबाट स्थापित पार्कमा म्युजिकल वाटर फाउन्टेन थपिएपछि पर्यटकको आकर्षण बढ्ने अपेक्षा गरिएको बताउँछिन् । उनका अनुसार नगरपालिकाले पर्यटकीय गतिविधि विस्तारसँगै नगरभित्रका अन्य पार्कको विकास र व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ ।

वडाध्यक्ष पाठकका अनुसार स्थानीयको निरन्तरको सक्रियताले कुञ्जपार्कलाई अहिलेको अवस्थामा पु¥याएको हो । फाउन्टेन थपिएपछि पार्कको पहिचान अझ फराकिलो हुने उनको विश्वास छ ।
ी
तलोत्तमा नगरपालिकाभित्र कुञ्जपार्कसँगै शङ्करनगरमा वनवाटिका पनि सञ्चालनमा छ । त्यसैगरी, दातृ निकायको सहयोगमा तिलोत्तमा–१७ मा पाँच बिघा क्षेत्रफलमा नयाँ पार्क निर्माणको काम सुरु गरिएको नगरपालिकाले जनाएको छ । यी संरचनाले नगरभित्र घुमफिर र मनोरञ्जनका थप विकल्प तयार गर्ने सम्भावना बढाएका छन् ।

रूपन्देहीमा बुटवलको फूलबारी र हिलपार्क तथा तिलोत्तमाको वनवाटिका र कुञ्जपार्कजस्ता उद्यान स्थानीय बासिन्दा र घुम्न आउनेहरूका लागि आकर्षणका केन्द्र हुन् । यस्ता स्थानको विकासले जिल्लाभित्रै घुमफिर गर्ने संस्कृति विस्तार गर्न र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न सहयोग पु¥याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?