© 2026
भैरहवा ।
लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति गैरकानुनी र सुशासनको अवधारणाविपरीत रहेको आरोप लगाउँदै लुम्बिनी बचाउ महाअभियानले कानुनी उपचार खोज्ने तयारी गरेको छ । अभियानका सल्लाहकार तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सम्पूर्ण अवैधानिक नियुक्तिको विरोधमा कानुनी उपचार र रिट निवेदन दर्ता गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी विकास कोष, नेपाल वायुसेवा लगायतमा भएका नियुक्तीहरूको विषयमा अध्ययन र प्रमाण जुटाउने काम गरिरहेको त्रिपाठीले बताए । उनले यसको लागि अझै २–४ दिन लाग्ने र त्यस लगत्तै रिट निवेदन दर्ता गर्ने जानकारी दिए ।
त्रिपाठीले नियुक्ति प्रथम दृष्टिमै नियुक्ति गैरकानुनी देखिएको दाबी गर्दै यसमा पारदर्शिता र योग्यता प्रणालीको बेवास्ता गरिएको आरोप लगाए । सयौँ व्यक्तिले दरखास्त दिएको अवस्थामा स्थानीयवासी, सरोकारवाला तथा सम्बन्धित पक्षसँग परामर्श नगरी नियुक्ति गरिएको भन्दै उनले निर्णय प्रक्रियामाथि प्रश्न उठाएका हुन् ।
‘यो नियुक्ति प्रथम दृष्टिमै गैरकानुनी छ, सुशासनको प्रतिकूल छ र स्पष्ट रूपमा लेनदेनको आधारमा भएको छ,’ त्रिपाठीले भने ।
लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खानसहित अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति पनि त्रिपाठीले आपत्ति जनाएका छन् । उनले खान र वाजिउद्दिन मुसलमानसहितका अभियन्तालाई मध्यरातमा नियन्त्रणमा लिनु नागरिकको मौलिक हक र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको टिप्पणी गरे ।
नियुक्तिको विरोधमा आवाज उठाउने नागरिकलाई पक्राउ गरेर सरकारले असहमतिलाई दबाउन खोजेको आरोप लगाउँदै त्रिपाठीले लोकतन्त्रमा शान्तिपूर्ण विरोध र सुशासनको माग गर्ने अधिकार कुण्ठित गर्न नहुने बताए । योग्यता र मेरिटोक्रेसीको कुरा गर्ने सरकारले नियुक्तिमा पारदर्शिता कायम गर्न नसकेको उनको भनाइ छ ।
आनी छोइङ डोल्माले लुम्बिनी, त्यहाँका बासिन्दा, बौद्ध धर्मावलम्बी तथा अभियन्ताहरूप्रति प्रयोग गरेको भनिएको अभिव्यक्ति प्रति पनि त्रिपाठीले आपत्ति जनाएका छन् । शान्ति र आस्थाको केन्द्र लुम्बिनीप्रति सम्मानजनक व्यवहार हुनुपर्ने उनको धारणा छ ।
लुम्बिनी विकास कोषको नियुक्ति प्रक्रिया, त्यसको पारदर्शिता र विरोधमा उत्रिएका अभियन्तामाथि गरिएको प्रहरी कारबाहीले अहिले विवाद चर्किएको छ । त्रिपाठीले यी विषयमा सरकार जवाफदेही हुनुपर्ने माग गर्दै कानुनी तथा लोकतान्त्रिक माध्यमबाट संघर्ष जारी राख्ने बताएका छन् ।
पक्राउ परेका रिहा
पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई लिएर प्रहरीले लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खानलाई नियन्त्रणमा लिएर केही समयपछि रिहा गरेको छ । खानले आफूलाई राति नियन्त्रणमा लिइएको र बिहान प्रहरी अधिकारीहरूसँगको छलफलपछि छाडिएको बताएका छन् ।
खानका अनुसार उनी होटेलतर्फ जाँदै गर्दा राति साढे १० बजे प्रसाद चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । आफूसँग पाहुना रहेकाले पछि कुरा गर्ने आग्रह गर्दागर्दै प्रहरीले जबर्जस्ती गाडीमा राखेर लुम्बिनी पु¥याएको उनको आरोप छ । त्यसपछि भीम अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गराएर आफूलाई थुनामा राखिएको उनले बताएका छन् ।
दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कन्हैया बनिया र तौफिक अहमद खानको रोहवरमा भाई फकरुद्दिन खाँनको जिम्ममा लगाई प्रहरीले छोडेको उनले बताए । छलफलका क्रममा प्रहरीले लुम्बिनी क्षेत्रमा सडक अवरोध गर्ने तथा पुत्ला दहन गर्ने गतिविधि नगरी शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न सुझाव दिएको उनको भनाइ छ ।
पत्रकारहरूसंग आफ्नो धारणा सार्वजनिक गर्दै खानले लुम्बिनीको हकहित र विकासका लागि आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आएको बताएका छन् ।
स्ताविरुद्ध विभिन्न चरणमा विरोध प्रदर्शन, पत्रकार सम्मेलन र सभा आयोजना गर्नुका साथै मन्त्रीहरूलाई भेटेर ज्ञापनपत्रसमेत बुझाइएको उनले बताए ।
मन्त्रीको पुत्ला दहनलाई उनले सरकारको कार्यशैलीप्रतिको असन्तुष्टि र आक्रोशको अभिव्यक्ति भएको बताएका छन् । लुम्बिनीको विकास, संरक्षण र स्थानीयको हितका सवालमा सरकार गम्भीर हुनुपर्ने उनको माग छ ।
संयोजक खानले आफूहरू कानुनी राज्यको सम्मान गर्ने बताउँदै लुम्बिनीवासीको हकहितका लागि अभियान जारी रहने स्पष्ट पारेका छन् ।
“हामी भाग्ने मान्छे होइनौँ । मन्त्रीको पुत्ला जलाइएको हो र यसमा हामी पछि हट्दैनौँ । तर कानुनको सम्मान गर्दै शान्तिपूर्ण रूपमा आफ्ना माग राख्छौँ,” उनले भने ।
उनले आफूलाई फोन गरेर बोलाइएको भए स्वेच्छाले उपस्थित हुनेसमेत बताएका छन् । लुम्बिनीको नाममा राजनीति बन्द गर्न र यस क्षेत्रलाई बुद्धमय बनाउन सरकार तथा सम्बन्धित निकायले रचनात्मक ढंगले काम गर्नुपर्ने उनको आग्रह छ ।
खाँनसंगै प्रहरीले सार्वजनिक स्थलमा उत्श्रृंखल गतिविधि गरि सार्वजनिक शान्ती सुव्यवस्थामा खलल पु¥याएको आरोपमा पक्राउ गरेको अर्का आरोपी वाजिउद्दिन मुसलमानलाई पनि रिहा गरेको छ ।