© 2026
तम्घास ।
गत साउन अन्तिम साता भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले गुल्मी अस्पतालको निरीक्षण गरे पस्चात कामले गति लिएको छ । दुई वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भएको गुल्मी अस्पताल भवनको काम पाँच वर्ष पुग्दा पनि सम्पन्न नभएपछि मन्त्री लम्सालले असन्तुष्टि जनाएका थिए ।
जतिसक्दो छिटो काम सक्न र नभए सम्झौता रद्ध गर्नका लागि उनले निरीक्षणका क्रममा निर्देशनसमेत दिएका थिए । त्यस पस्चात निर्माणको कामले दु्रत गति लिएको हो ।
अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र पाण्डेका अनुसार मन्त्रीको निरीक्षण पश्चात कामले दु्रत गति लिएको छ । पहिले करिव ९० प्रतिशत जति भएको प्रगति अहिले बढेर झण्डै ९५ प्रतिशत पुगेको उनको भनाइ छ ।
यसबिचमा निर्माण ब्यवसायी र कार्यालयबिच भएका केही असमझदारीहरूलाई पटक पटक बैठकबसी समाधान गरिएको र अन्तिम पल्टका लागि मङ्सिर १५ गतेसम्मका लागि म्याद थप भएको उनले बताए । कात्तिक मसान्तसम्म निर्माणको कार्यसम्पन्न गरी नयाँ भवनबाट सेवा दिने गरी आफूहरूले योजना बनाएको पाण्डेको भनाइ छ ।
२०७८ असार १८ गते सम्झौता भएको भवन २०८० असार १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य थियो । सुविधासम्पन्न पाँच तले भवन निर्माणको लागत २५ करोड ९५ लाख ६४ हजार २०३ रुपियाँ रहेको छ । निर्माण ब्यवसायी स्वच्छन्द—बानिँया जेभी मकवानपुरका सव इन्जिनियर अरबिन्द्र चौधरीले पछिल्लो तोकिएको समय अवधि भित्रै काम सम्पन्न्न गरेर हस्तान्तरण गर्ने बताएका छन् ।
नयाँ भवन निर्माणमा ढिलाइ हुँदा गुल्मी अस्पताल अझै पुरानै साँघुरो भवनबाट सेवा सञ्चालन गर्न बाध्य छ । सीमित शैया र पूर्वाधारका कारण बिरामी तथा स्वास्थ्यकर्मी समस्यामा छन् भने नयाँ भवनबाट विस्तार गर्ने भनिएका ओपिडी, आपत्कालीन, प्रसूति, शल्यक्रिया, आईसीयू तथा विशेषज्ञ सेवासमेत प्रभावित भएका छन् ।
नयाँ भवन निर्माण सम्पन्न नहुँदा गुल्मी अस्पताल अझै पुरानै भवनबाट सेवा सञ्चालन गर्न बाध्य छ ।