© 2026
सिमराकी ३ बर्षीया बालिका पुजाको बलात्कारमा संलग्न दोषीहरू धरौटीमा रिहा भएपछि नेपालको कानुनको कमजोरीका विषयमा पुनः बहस सुरु भएको छ । जति नै ठूलो अपराध गरेपनि धरौटीमा छुटने अदालतको दोषभन्दा पनि कानुनको कमजोरी हो भन्ने कुरामा कसैको विमति छैन । अव कानुन बलियो नबनाउने हो भने धेरै बालिकाहरू यसैगरी बलात्कारको शिकार भैरहनुपर्ने अवस्था आउन सक्छ ।
तसर्थ सरकारका साथै कानुन बनाउने जिम्मेवारी पाएका संघीय सांसदहरूले बलात्कार तथा जघन्य अपराधको मुद्दामा सजायको कडा प्रवन्ध गर्नेतर्फ ध्यान दिनु जरुरी छ । नेपालीको स्मरणमा अझै ७ बर्षअघि निर्मला पन्तको बलात्कारपछि हत्याको घटना ताजै छ । निर्मलाको हत्यामा संलग्न अपराधी ७ बर्ष बितिसक्दा पनि अझै पक्राउ परेका छैनन् ।
यो घटना अव बिस्मृत हुन थालेको छ । निर्मला पन्तको हत्याको घटनालाई बिर्साउने अर्को दुःखद र ह्दयविदारक घटना मोरङको लेटाङमा भएको थियो । ‘पिङ खेल्न जान्छु’ भन्दै गत चार बर्षअघि घरबाट निस्किएकी १३ वर्षीया अंशु गौतमको बिभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो । शव फेला परेसँगै प्रहरीले थालेको अनुसन्धानबाट बलात्कारपछि उनको हत्या भएको र प्रमाण नष्ट गर्न शवलाई टुक्राटुक्रा पारिएको थियो ।
त्यसपछि अहिले ३ बर्षीया बालिकालाई बलात्कारपछि विभत्स हत्या गरिएको पनि दुई महिना पूरा भएको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालिएको अवस्थामा फेला परेको थियो । लेटाङकी अंशुको भने लेटाङ–२ र बेलबारीको सिमानामा रहेको साझेदारी वन क्षेत्रमा १८ दिनपछि शव क्षतविक्षत र टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला प¥यो । अंशुको शवको पहिचान गर्नसमेत मुस्किल हुनु भनेको निर्मला पन्तको हत्याको घटना समेत बिर्साउने आततायी घटना थियो । निर्मला, अंशु र पुजाको नियती अव कोही बालिकाहरूले भोग्नु नपरोस् ।
पछिल्लो केही बर्षयता देखिएका घटनाक्रमले नेपालीहरूमा मानवीयता हराउँदै गएको अनुभूति भएको छ । नेपालीहरू नरभक्षी बन्दै गरेको पछिल्ला केही उदाहरण पर्याप्त छन् । अपराध मनोबृत्ति बढ्दै गएको पछिल्लो पुजाको घटनाले पुष्टी गरेको छ । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्तको हत्यामा संलग्नलाई कानुनको कठघरामा उभ्याउने जनाएका थिए तर उनीपनि सत्तामा आएको सात महिना हुँदासम्म यसको विषयमा कुनै अनुसन्धान अघि बढ्न सकेको छैन् ।
एकातर्फ सरकारका संयन्त्र यस प्रकारका विभत्स, जघन्य अपराधका घटनाको अनुसन्धानमा कमजोरी गर्ने र कानुन समेत कमजोर रहेको अवस्थामा त्यस्ता कुकर्म गर्नेहरूलाई बल पुगेको छ । अव बालेन सरकारले तत्काल अनुसन्धान अघि बढाएर यो कुकर्म अपराधमा संलग्नमाथि छानविन गरोस र कानुनको कठघरामा उभ्याउन ढिलाई नगरोस् । यो गंभीर प्रकृतिको अपराधको घटनाको अनुसन्धान छिटो गरोस् ।
एउटी निर्दोष बालिकामाथि भएको यो स्तरको क्रुरताले समाज त्रसित र मर्माहत बनेको अवस्था छ । निर्मला पन्त र अंशु गौतमको हत्या प्रकरणले समाजलाई विक्षिप्त बनाएको अवस्थामा त्यस्तै प्रकृतिका अरू घटनाको फेहरिस्त नेपालीले सुन्नुपर्ने अवस्था कहिलेसम्म ? निर्मला पन्त बलात्कारको घटनाको अनुसन्धान गर्ने भन्दै यसअघिका गृहमन्त्रीहरूले प्रतिवद्धतामात्रै गरे तर काम गरेनन् । अहिलेका गृहमन्त्री सुधन गुरुङले समेत त्यही प्रतिवद्धता गरे तर अहिलेसम्म अनुसन्धानमा कुनै प्रगति भएको छैन् ।
अझैपनि निर्मला पन्त, अंशु गौतम र ३ बर्षीया पुजा सहितका बालिकाहरूको नियति कहिलेसम्म भोग्नुपर्ने हो ? यस प्रकारका अपराधको घटनामा संलग्न दोषीमाथि कडा कारवाहीका लागि कडा कानुन बनाउनेतर्फ ध्यान जाओस् ।