© २०२३
समाचार सारांश
एकीकृत कृषि अभियानले धान खेती, करेसाबारी खेती, र हाँस पालनलाई एउटै मोडलमा समेटेको छ ।
वडा नं. १० र १७ मा हाल २०५ भन्दा बढी घरधुरीले हाँस पालन र तरकारी खेती गरिरहेका छन् ।
अध्यक्ष विष्णु कँडेल अनुसार यो प्रणाली माटो सुधार, कम लागतमा उत्पादन, र नियमित आम्दानीको स्रोत बन्न सक्छ ।
बुटवल, १९ साउन ।
तिलोत्तमा वडा नं. १० का घनसिंह पुन विगत ४ वर्षदेखि आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्छन् । उनलाई बजारबाट तरकारी किन्नु परेका छैन । घरकै उत्पादन उनलाई पर्याप्त छ ।
उद्यमशील टोलका संस्थापक अध्यक्ष समेत रहेको उनी बोईलर कुखुरा खान छोडेको ६–७ वर्ष भइसकेको छ । ‘हामी आफ्नो स्वास्थ्यप्रति आफै सचेत हुनुपर्छ,’ उनले भने । उनले घरमा ह्वाईट पेकिङ जातको हाँस पनि पालेका छन् ।
बिरामी भएर धेरै खर्च गर्नभन्दा अर्ग्यानिक खानपिन गर्दा राम्रो हुने उनको तर्क छ । ‘स्वास्थ्य खाने कुरामा हामी चासो दिँदैनौ तर बिरामी हुँदा लाखौँ खर्च गर्न तयार छौँ,’– उनले भने । बजारमा विषादी भएको तरकारी बढी हुने भएकोले आफै उत्पादन गर्न थालेको उनी बताउँछन् ।
अर्ग्यानिक तरकारीसँगै हाँस पनि पालेका उनी अर्ग्यानिक खानेकुरामा जोड दिन्छन् । घरकै गहुँ र मकै हाँसलाई खुवाउँछन् । टोलको नारा ‘अगाडि फूलबारी, प्रत्येक घरको पछाडि करेसाबारी र हरेक घरमा मौरी घार’ लाई आत्मसात् गर्दै अभियानका रूपमा लागेको उनको दाबी छ ।
यसमा स्थानीय पालिकाको सहयोग छ । यो ठाउँलाई अर्ग्यानिक क्षेत्रका रूपमा घोषणा गर्ने लक्ष्य रहेको उनले बताए । उनी मात्र होइन तिलोत्तमा वडा नं. १० का राम बहादुर पुनको पनि आफ्नै करेसाबारी छ । करेसाबारीमा लहरे बालीहरू लगाउँछन् ।
उत्पादन भएका तरकारी उपभोग गर्छन् । बचेको उत्पादन बजारमा बिक्री गर्छन् । खोरमा ६० वटा हाँस पालेका छन् । उनको धान गोड्ने काम यिनै हाँसले गर्छ । ‘धान रोप्नु अघि नै चल्ला राख्छौँ र धान बढ्दै जाँदा एक महिनाभित्र चल्ला खेतमा छोड्छौ,’– उनले भने । पछिल्लो ४ वर्षदेखि उनी नियमित हाँस पाल्दै आएका छन् ।
हाँसले उनको खेतमा गोडमेल गर्ने हुँदा उत्पादन लागत कम गराएको छ भने अर्कोतर्फ हाँसलाई दाना कम दिए पुग्ने हुँदा उनलाई दोहोरो फाइदा मिलेको छ । खेतमा पानी राम्ररी लागेको बेला हाँसले नै सबै झार हटाउने र किराफट्यांग्रा खाने हुँदा धानको गाज राम्रो हुन्छ ।
हाँसलाई बिहान/साँझ १ घण्टा समय दिन्छन् । वर्षाको बेलामा केही समय बाहेक उनी बजारबाट तरकारी किन्दैनन् । तिलोत्तमा नगरपालिकामा इनोभेसन कृषि फर्म, तिलोत्तमा–१० ले उद्यमशील टोलबाट सुरु गरेको यो अभियान बिस्तारै अन्य वडामा विस्तार भइरहेको छ ।
धान खेत र करेसाबारीलाई एकीकृत कृषि मोडलमा परिणत गर्दै हाँस पालन, तरकारी खेती र खाद्य सुरक्षालाई जोड्ने उद्देश्यका साथ कार्यक्रम सुरु गरिएको फर्मका अध्यक्ष विष्णु कँडेलले बताइन ।
कम लागतमा गुणस्तर सहितको उच्च उत्पादन हुने हुँदा यो धेरै उपयोगी भएको उनी बताउँछिन् । माटो सुधार गर्न सकिने उपयुक्त विधि र नियमित रेगुलर आयको पाटोका रूपमा लिन सकिने उनको तर्क छ । वडा नं. १० र १७ मा हाल न्यूनतम २५ देखि १५० वटा हाँससम्म पालिएका करिब २०५ घरधुरी छन् । उत्पादन सुरु भइसकेको र थप बिस्तार हुने सम्भावना प्रबल देखिएको छ ।
अभियानका अगुवा डा. दामोदर भुसाल बङ्गलादेशमा हाँस पालनबाट भएको आर्थिक क्रान्तिको उदाहरण दिँदै यो नेपालमा पनि सम्भव रहेको बताउँछन् । ‘एकीकृत कृषि प्रणाली जुन अर्ग्यानिक खेती हो यसको सुरुवात रुपन्देहीमा भएको छ,’–उनले भने । धानसँगै हाँस पालन गर्दा धानको उत्पादन लागत र हाँस पालनको उत्पादन लागत कम हुने उनको तर्क छ । ‘यसबाट बहु उपयोगी र बहुपक्षीय फाइदा लिन सकिन्छ,’– उनले भने ।
सामान्यतः एक किसानले २५ वटा हाँस पाल्दा ३ महिनामा करिब ८ हजार रुपैयाँ खर्च हुन्छ । जसबाट न्यूनतम २५ हजार आम्दानी गर्न सक्छन् । ‘दुई धुर जमिनलाई बारेर न्यून लगानीमा उच्च उत्पादन सम्भव छ,’– उनले भने ।
बजारमा अर्ग्यानिक खाद्यान्नको माग बढी छ । यस्तोमा सस्तो अर्ग्यानिक उत्पादन गर्ने यो प्रणाली जोड्न सके फाइदा मिल्ने देखिन्छ । बि.सं. २०५७ सालमा युएसआईडिको अभियान स्वरूप चितवनमा यो प्रणाली सुरु गरिएको उनी स्मरण गर्छन् । हाँसलाई बहु बालीसँग जोडेर पाल्ने विषयमा अनुसन्धान नै नेपाल सरकारको प्राथमिकतामा नपरेको उनको दुखेसो छ ।
सरकारबाट ह्याचरी केन्द्र स्थापना र पेलेट फिड मेशिन जडानमा सहयोग गरे यसबाट किसानलाई लागत घटाउन मद्दत मिल्ने उनको तर्क छ ।
देशभित्रै युवाहरूलाई “पढ्दै कमाउँदै” र “कमाउँदै पढ्दै” मोडेल र ज्येष्ठ नागरिकहरूले पाउने भत्ताको रकमलाई उपयोग गर्दै हाँस पालनमा आकर्षित गरेर आयआर्जनमा जोड्ने योजना बनाउन उनको सुझाव छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका दुई वडामा २०५ भन्दा बढी घरधुरीले हाँस पालनसँगै करेसाबारीबाट तरकारी उत्पादन गर्दै आएका छन् ।