काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकको मोडालिटीप्रति गम्भीर आपत्ति जनाएकी छन्। आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै श्रेष्ठले शिक्षा र शिक्षकका लागि अलग–अलग विधेयक आवश्यक रहेको धारणा राखिन्।

“शिक्षाको लागि एउटा र शिक्षकको लागि अर्को विधेयक ल्यायौं,” भन्दै उनले अभिभावक र विद्यार्थीको मत बिना विधेयक बनाइएको आरोप लगाइन्। “विधेयकको स्टेक होल्डर त अभिभावक र विद्यार्थी हुन् नि,” श्रेष्ठले भनिन्, “बच्चाको भोटिङ कार्ड नभएर होला, उहाँहरूलाई इग्नोर गरिएको छ।”
उनी शिक्षाको गुणस्तर सुधारका लागि पाठ्यक्रमको पुनरावलोकन, अतिरिक्त कक्षा, पोशाक र खेलकुदको सुनिश्चितता जस्ता विषयमा जोड दिँदै भन्छिन्, “विद्यार्थीले जतिसक्छ प्रतिस्पर्धा खोजेका छन्, त्यसैले उनीहरूका लागि पाठ्यक्रम समसामयिक र व्यावहारिक बनाउन आवश्यक छ।”
शिक्षक बढुवा प्रक्रिया र कार्यसम्पादन मूल्याङ्कनको मापदण्डप्रति पनि उनले असहमति जनाइन्। “कार्य सम्पादन ९० अंक भनिएको छ, शिक्षक महासंघले यसको विरोध गरिरहेको छ,” उनले भनिन्, “बढुवा कक्षामा उपस्थित, योजना निर्माण र सिकाइको आधारमा हुनुपर्छ, केवल अंकले होइन।”

श्रेष्ठले यस्ता विषयमा स्पष्ट धारणा नलिइ विधेयक अघि बढाउने प्रयास गरिए शिक्षा क्षेत्रमा दीर्घकालीन असर पर्ने चेतावनी दिइन्। विद्यालय शिक्षा विधेयक समितिबाट अझै पारित नहुँदा संसदमा पेस हुन सकेको छैन।






