© २०२३
काठमाडौँ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट संघीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका अरुण चौधरी आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाउन लागेका छन्।
पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली हुम्ला भ्रमणबाट फर्केपछि चौधरीले भेटेर राजीनामा बुझाउने छन्। “सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भइसकेको छ, त्यसअनुरूप राज्यमन्त्री पनि सरकारबाट बाहिरिँदै हुनुहुन्छ,” अध्यक्ष श्रेष्ठले स्पष्ट पारिन्।
यसअघि सुदूरपश्चिम प्रदेश सरकारबाट नाउपाले समर्थन फिर्ता गरिसकेको छ। प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले असार १९ गते बिना सल्लाह पदबाट हटाएपछि पार्टी असन्तुष्ट बनेको थियो।
मुख्यमन्त्री शाहले खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी निर्देशक नियुक्तिमा सल्लाह नलिएपछि विवाद चर्किएको हो। सोही घटनाक्रमले नाउपालाई केन्द्र सरकारबाट पनि समर्थन फिर्ता लिन प्रेरित गरेको देखिन्छ। यससँगै नागरिक उन्मुक्ति पार्टी अब सरकारको हिस्सा नरहने पक्का भएको छ।