© २०२३
काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पछिल्ला निर्वाचनहरूमा गरिएको गठबन्धन रणनीतिलाई व्यङ्ग्य गर्दै सभापति शेरबहादुर देउवाप्रति आलोचना गरेका छन्। आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै भण्डारीले देउवाले “धेरै हँसिया बनाएको” तर ती हँसियाले “घाँस काट्न नसकेको” भन्दै गठबन्धनको असरप्रति कटाक्ष गरे।
उनले भने, “शेरबहादुर देउवा सभापतिजीले यति धेरै हँसिया बनाउनुभयो, तर हँसियाले घाँस काट्न सकेनन्। त्यसकारण गाई, भैँसीहरू भोका भए, यही हो अहिलेको समस्या।”
भण्डारीले गठबन्धनका कारण पार्टीभित्र धेरै नेताहरू टिकटबाट वञ्चित भएको उल्लेख गर्दै आफूलाई टिकट दिएकोमा सभापतिलाई धन्यवाद भने पनि गठबन्धनको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गरे।
उनले कांग्रेसले जनताको काम गर्न नसकेको र त्यसैले गाउँ–गाउँमा कांग्रेसप्रति जनविश्वास घटेको बताए। “काम गर्दिएको भए पो अगाडि बढ्न सक्थ्यो, पद लिने तर काम नगर्ने परिपाटी छ। यसको जिम्मेवारी सभापतिले लिनुपर्छ,” भन्दै उनले पार्टी नेतृत्वको भूमिकामाथि प्रश्न उठाए।
भण्डारीले कात्तिक १७ मा तोकिएको उपनिर्वाचन (रुपन्देही–३) मा कांग्रेसले गठबन्धन नगर्न सुझाव दिए। साथै, भ्रातृ संस्थाहरूका हालका समिति विघटन गरी पार्टीले जिम्मेवारीपूर्वक नयाँ अधिवेशन गराउनु पर्ने उनको माग छ।
“केन्द्रमा केन्द्रिय सभापतिले, प्रदेशमा प्रदेश सभापतिले र जिल्लामा जिल्ला सभापतिले भ्रातृ संस्थाको अधिवेशन गराउनुहोस्,” भन्दै भण्डारीले नेताहरूबीचको झगडा अन्त्य गर्न संस्थागत प्रक्रिया अघि बढाउनुपर्ने तर्क गरे।