Butwal Today

बाढीको जोखिम बढ्दो: नागरिकलाई सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

२० असार २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज (असार २०, शुक्रबार) को लागि पनि बाढीसम्बन्धी सतर्कता सूचना जारी गरेको छ। महाशाखाले बिहानै जारी गरेको बुलेटिनअनुसार कोसी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तलै रहे पनि नारायणी र कर्णाली जलाधार क्षेत्रका केही जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको छ।

बाढी पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार संखुवासभा, दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्लाबाट वहने ससाना नदीहरूमा उल्लेख्य बहाव हुने र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना देखिएको छ। त्यसैगरी काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, पाल्पा, जाजरकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा लगायतका जिल्लामा पनि ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने देखिएको छ।

त्यस्तै, इलाम, झापा, मोरङ, ताप्लेजुङ, बागलुङ, रोल्पा, दैलेख, रुकुम पूर्व र पश्चिम, सल्यान, अछाम, कालिकोट, कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरूमा बहने ससाना नदीहरूको बहावमा समेत उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत बाढीको जोखिम देखिएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन्। बाढी महाशाखाले जारी गरेको बुलेटिन सेयर गर्दै प्रधानमन्त्री ओलीले जलसतह बढ्ने अनुमान गरिएको स्थानमा बसोबास गर्ने सबै नागरिकलाई सचेत रहन अपिल गरेका छन्।

“जलसतह बढ्ने अनुमान भएका क्षेत्रमा बसोबास गर्ने सबैले सतर्कता अपनाउनुहोला,” प्रधानमन्त्रीको भनाइ छ।

सरकार र सम्बन्धित निकायहरूबाट जारी गरिएका सूचनालाई गम्भीरतापूर्वक लिन र सम्भावित जोखिमबाट बच्न सावधानी अपनाउन विज्ञहरूले समेत सुझाव दिएका छन्।