काठमाडौं ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिमा प्रारम्भिक बाल विकास तथा शिक्षालाई आधारभूत शिक्षामा समावेश गर्ने विषयमा सहमति जुटेको छ। समितिको बैठकमा सभापति अम्मरबहादुर थापाले प्रस्ताव राखेपछि सदस्यहरूले उक्त प्रस्तावलाई समर्थन जनाएका हुन्। सहमतिपछि अब प्रारम्भिक बाल विकासदेखि कक्षा ८ सम्मको शिक्षालाई एउटै संरचनामा समेट्ने तयारी भएको छ।

यस सहमतिसँगै सार्वजनिक विद्यालयमा प्रारम्भिक बाल विकास शिक्षा दुई वर्षभन्दा बढी सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ। स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रही विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्नेछन्। साथै, पहिले नै सञ्चालनमा रहेका बाल विकास केन्द्रहरूलाई प्रत्येक विद्यालयमा कम्तीमा एउटा रहने गरी समायोजन र पुनःवितरण गरिनेछ।
शिक्षा मन्त्रालयले स्रोत सुनिश्चित गरेपछि सरकारले तोकेको मितिदेखि सार्वजनिक विद्यालयमा यो कार्यक्रम औपचारिक रूपमा लागू हुनेछ। विद्यालयहरूले अब दुई वर्षे अवधि नाघ्ने गरी पूर्वप्राथमिक शिक्षा सञ्चालन गर्न नपाउनेछन्।
साथै, हाल कार्यरत बाल विकास सहजकर्तालाई खुला प्रतिस्पर्धाबाट हुने परीक्षामा पहिलो पटक सहभागी हुँदा उमेर हद लागू नहुने व्यवस्था गरिएको छ। शिक्षा समितिको यो निर्णयले प्रारम्भिक बाल शिक्षा क्षेत्रलाई स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ।




