Butwal Today

अर्थ मन्त्रालयद्वारा चार सरकारी उद्योगको निजीकरण अघि डीडीए प्रक्रिया सुरु

१३ असार २०८२, शुक्रबार
अ+
अ-

१३ असार, काठमाडौं । अर्थ मन्त्रालयले पूर्णसरकारी स्वामित्वका चार उद्योग निजीकरण गर्न ती उद्योगहरूको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रक्रिया सुरु गरेको छ। यसका लागि मन्त्रालयले परामर्शदाता कम्पनीहरूबाट आशयपत्र माग गर्दै सार्वजनिक सूचना जारी गरेको छ।

डीडीएको लागि नेपाल मेटल कम्पनी लिमिटेड, नेपाल ओरिन्ड म्याग्नेसाइट प्रालि, बुटवल धागो कारखाना लिमिटेड र जनकपुर चुरोट कारखाना लिमिटेडलाई लक्षित गरिएको छ। परामर्शदाता कम्पनीले ती चार उद्योगको वित्तीय, प्राविधिक, भौतिक र कानुनी पक्षहरूको व्यापक अध्ययन गरी डीडीए तयार पार्नेछन्।

आशयपत्र पेश गर्ने योग्य परामर्शदाताहरूमध्ये प्रतिस्पर्धाका आधारमा छनोट गरिनेछ। डीडीएमा उद्योगका चल-अचल सम्पत्ति, ब्रान्ड मूल्य, बैंक ऋण, ब्याज, कर्मचारी दायित्व, कर, रोयल्टी लगायत सम्पूर्ण दायित्वहरूको मूल्यांकन गरिने मन्त्रालयले जनाएको छ।

परामर्शदाताले काम सुरु गरेपछि ८ हप्ताभित्र अन्तिम प्रतिवेदन बुझाउनु पर्नेछ। प्रारम्भिक प्रतिवेदन पेश गरेपछि कुल रकमको २० प्रतिशत र अन्तिम प्रतिवेदन पछि बाँकी ८० प्रतिशत भुक्तानी गरिने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?