© २०२३
काठमाडौं ।
सरकारले आगामी २० वर्षसम्म देशव्यापी ‘सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। वन तथा वातावरण मन्त्रालयले असार १३ गते पत्रकार सम्मेलनमार्फत घोषणा गरेको छ कि यो अभियान सन् २०२५ देखि सन् २०४५ सम्म प्रत्येक वर्ष असार १४ देखि साउन १५ गतेसम्म उपयुक्त स्थानमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ।
मन्त्रालयका मन्त्री ऐनबहादुर शाही ठकुरीले बताएअनुसार, नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप यस महाअभियानलाई अघि बढाउन लागिएको हो। अभियान अन्तर्गत स्थानीय परम्परागत र फलफूलजन्य बिरुवा देशभर रोपण गरिनेछ।
मन्त्री शाहीका अनुसार, यस अभियानमा संघीय मन्त्रालय, प्रदेश तथा स्थानीय सरकारहरू, वन क्षेत्रमा काम गर्ने सामुदायिक, साझेदारी र निजी वन महासंघहरू, निजी क्षेत्र, नागरिक समाज र सञ्चार क्षेत्रलगायत सबै सरोकारवालाहरू सहभागी हुनेछन्।
महाअभियानले कार्बन उत्सर्जन न्यूनीकरण र जलवायु अनुकूलनमा योगदान पुर्याउने, हिमालय र त्यसका जलाधार क्षेत्रको संरक्षण गर्ने, वातावरणीय पुनःस्थापना र जैविक विविधता प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखेको छ। वन तथा वातावरण मन्त्रालयले यस अभियानले वातावरणीय समृद्धि र जलवायु संकट समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।