© २०२३
काठमाडौँ ।
धरानका प्रमुख राजनीतिक दलहरूले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पृथक चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न पहल गर्न माग गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा अध्यक्ष प्रचण्डसमक्ष उक्त मागसहितको ज्ञापनपत्र प्रस्तुत गरेका हुन्।
ज्ञापनपत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले आफूले सरकारमा रहँदा देशका विभिन्न क्षेत्रमा विश्वविद्यालय स्थापनाका पहलहरू गरेको स्मरण गरे। उनले सुदूरपश्चिमको गेटा मेडिकल कलेजदेखि अन्य शैक्षिक संस्थासम्मको उदाहरण दिँदै धरानस्थित बी.पी. प्रतिष्ठानलाई प्रभावकारी बनाउनु अहिलेको आवश्यकता भएको बताए।
प्रचण्डले संस्थाको वर्तमान अवस्था दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै, पदाधिकारी नियुक्तिमा देखिएको अन्योल र कार्यसम्पादन क्षमताको अभाव गम्भीर विषय भएको टिप्पणी गरे। उनले संरचनागत तथा नीतिगत सुधारमार्फत प्रतिष्ठानलाई पुनः सबल बनाउने दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिए।
ज्ञापनपत्रमा समावेश प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै उनले “तपाईंहरू समाधानसहितको सुझाव लिएर आउनुभएको छ, म पूर्ण रूपमा समर्थन गर्छु,” भन्दै आफू यथासक्य पहल गर्न तयार रहेको आश्वासन दिए।