© २०२३
काठमाडौँ । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री रहेको दाबी गर्दै डा. मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइ सकिएको छ। उक्त रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासमा आज (बुधबार) पेसी तोकिएको थियो।
ढकालले रास्वपाको महामन्त्री पदमा पुनः आफ्नो हैसियत स्थापित गराउन माग गर्दै सर्वोच्च अदालतमा परमादेश, उत्प्रेषणसहितको आदेशको माग गरेका छन्। उनले आफूलाई नै पार्टीको वैध महामन्त्री ठहर गर्दै सोही आधारमा काम गर्न दिन माग गरेका हुन्।
रास्वपाले भने ढकाललाई २०८१ भदौ ११ गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो। त्यसअघि असार २० गते अनुशासन विपरीत अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार गरेको आरोपमा उनलाई महामन्त्री पदबाट निलम्बन गरिएको थियो।
यता, ढकालले असार ४ गते निर्वाचन आयोगमा रास्वपाको केन्द्रीय समिति र सदस्यहरूको अद्यावधिक विवरण माग गरेपछि आयोगले ढकाल नै महामन्त्री रहेको र विवरण अद्यावधिक नभएको जानकारी दिएको थियो। यसले पार्टीभित्रको अधिकार र मान्यता सम्बन्धी विवादलाई थप बल दिएको छ।